१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

गाँजा तस्करीको हब बन्दै सर्लाही र रौतहट

नेपालबाट भारततिर गाँजा तस्करी ठूलो परिमाणमा हुने गरेको छ। गत दुई महिनामा चार क्वीन्टलभन्दा बढी गाँजा सर्लाही र रौतहटबाट बरामद हुनुले यस कुराको पुष्टि गर्दछ।

सर्लाहीमा सशस्त्र प्रहरी बलले शनिबार राति एकैचोटि १६८ किलो गाँजा बरामद गरेको छ। बेवारिसे अवस्थामा फेला परेको भनिएको ६ पोका गाँजा सर्लाही प्रहरीले मुचुल्का उठाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ।

गत कात्तिक २६ मा रौतहट प्रहरीले पनि १८६ किलो गाँजा एउटा ट्रकबाट बरामद गरेको थियो। ट्रक चालक र ट्रकमा रहेका अर्का एक व्यक्ति गरी रौतहट प्रहरीले मकवानपुरको थाहा नगरपालिकाका दुई जनालाई नियन्त्रणमा लिएको थियो।

सानोतिनो परिमाणमा सर्लाही र रौतहटमा गाँजा प्रहरीले बरामद गर्दै आएको छ। सर्लाहीमा झन्डै ६ बिगाहा गाँजा खेतीलाई प्रहरीले नष्ट पनि गरिसकेको छ।

गाँजा खेती हुनु तथा गाँजाको तस्करी हुने गरेको प्रमाणहरु फेला पर्नुले सर्लाही र रौतहट गाँजाको अवैध कारोबारको हब बन्दै गएको देखिएको छ।

गाँजाको अवैध उत्पादन तथा ओसारपोसार रोक्न सर्लाही तथा रौतहट प्रहरी निरन्तर सक्रिय देखिएको छ। बढी मात्रामा मकवानपुरबाट गाँजा सर्लाही र रौतहटको बाटो भएर भारततिर जाने गरेको पाइन्छ। गाँजाको कारोबारलाई रोक्न रौतहट प्रहरी पूर्ण सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

एक महिना पहिले ठूलो परिणाममा सदरमुकाम गौरमा गाँजा बरामद भएपछि यताको समयमा रौतहटमा लागू औषध गाँजाको ओसारपसार भएको नपाएको जिल्ला प्रहरी कार्यालय रौतहटको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने लागू औषध गाँजाको ओसारपसार र उत्पादन रोक्न सर्लाही प्रहरीले दिनरात काम गरिरहेको जनाएको छ। सर्लाही भएर भारततिर गाँजाको तस्करी हुन सक्ने सबै ठाउँमा निगरानी बढाएको र सवारी साधनलाई पनि अपर्झट चेकजाँच गरिनुका साथै सूचना संकलनमा पनि विशेष ध्यान दिइएको प्रहरीको दाबी रहेको छ।

सर्लाही र रौतहटलाई लागू औषध गाँजा तस्करीको हब बन्न नदिन नागरिक र बुद्धिजीवीको पनि ठूलो भूमिका हुनुपर्ने स्थानीयको भनाइ छ। समाजले समयमा सही सूचना प्रहरीलाई उपलब्ध गराउँदा प्रहरीलाई पनि नियन्त्रण गर्न सजिलो हुने बुद्धिजीवीहरुको राय रहेको छ।

प्रकाशित: २६ मंसिर २०७८ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App