२४ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

केरुङमा अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार

<br>

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीनको केरुङमा अलपत्र परेका ६७० जना नेपाली नागरिकलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाका हुँदै सकुशल स्वदेश फर्काइएको छ।

व्यापार, व्यवसाय तथा भ्रमणका सिलसिलामा केरुङ पुगेका नेपालीहरू गत भदौ १० गतेको भीषण बाढीले सडक सञ्जाल विच्छेद भएपछि उतै रोकिएका थिए।

चीन सरकारको विशेष सहयोग र सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष समन्वयमा सीमापार रोकिएका नागरिकहरूलाई भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट नेपाल प्रवेश गराउन थालिएको हो।

सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते ११४ जना, १९ गते १५५ जना, २० गते ९६ जना, २१ गते १०५ जना, २२ गते १०६ जना र २३ गते ९४ जना गरी ६ दिनमा ६७० नेपाली स्वदेश फर्किएका छन्।

सीमावर्ती क्षेत्रमा नागरिकको सुरक्षित आवागमन र उद्धार सहजीकरणका लागि बोर्डर आउटपोष्ट (बीओपी) तातोपानीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भूपबहादुर बुढाथोकीको कमान्डमा १५ जनाको विशेष टोली निरन्तर खटिएको छ।

तातोपानी आइपुगेका नागरिकहरूलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र अरनिको यातायात प्रालिसँग समन्वय गरी गाडीको व्यवस्था गरेर काठमाडौँ पठाउने प्रबन्ध मिलाइएको छ।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकहरूलाई चिनियाँ अधिकारीहरूले राहदानी नम्बरसहितको अभिलेख तयार गरी तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली प्रशासनको जिम्मा लगाउने गरेका छन्।

हाल बाढीका कारण तातोपानी भन्सारबाट मालवाहक ढुवानी बन्द रहे पनि मानवीय आवागमन र पर्यटकका लागि भने यो नाका खुला राखिएको छ।

केरुङमा अझै ठूलो संख्यामा नेपालीहरू रोकिएको र उनीहरूको उद्धार कार्य निरन्तर जारी रहेको जिल्ला प्रशासनले जनाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले चिनियाँ समकक्षीबाट प्राप्त विवरणअनुसार केरुङमा करिब १७ सय नेपाली रहेको जानकारी आएको बताए।

सीमामा आउने सबै नागरिकलाई सुरक्षित रूपमा जिम्मा लिएर काठमाडौंसम्म पठाउने कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको उनको भनाइ छ।

प्रकाशित: २४ भाद्र २०८३ २०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App