६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मोरङमा दुई समूहबीच झडप: एकको मृत्यु, दुई जना घाइते

मोरङको बुढीगंगामा युवाहरुको दुई समूहबीच भएको झगडामा एक जना युवकको मृत्यु भएको छ। आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झागडा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुरका नानु लिम्बूको घरमा आयोजित जन्मदिनको भोज (बर्थे पाटी)मा युवाहरुको दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ। लिम्बूको घरमा उनकी भतिजीको जन्मदिनको भोजमा मदिरा सेवन गरेका दुई युवा समूहबीच भएको विवादले उग्र रुप लिँदा ज्यानसम्म गएको प्रहरीले जनाएको छ।

दुई पक्षबीच झगडामा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार घटनामा धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र नानु लिम्बू घाइते भए। डिएसपी श्रेष्ठका अनुसार बुढीगंगा–६ का २३ वर्षीय धने भन्ने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भन्ने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङलगायत ६/७ जनाको समूहसँग दाहाल र थापाको विवाद भएको पाइएको छ।

विवादपछि दाहाललाई नानुको घरदेखि पर लगेर एउटा समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ। टाउकोमा खुकुरी प्रहार गरिएपछि घाइते भएका उनको उपचारका लागि राति ९ बजेतिर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ। घटना छुट्याउन गएका थापा र नानुमाथि पनि खुकुरी प्रहार गरिएको र दुवै जनाको हातमा चोट लागेको छ।

हत्या गरिएका दाहाल र घाइते थापा सुनसरीको इटहरी–१३ खनारमा डेरा गरी बस्दै, त्यहीको रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भोज खाँदा के कुरामा दुवै पक्षबीच विवाद भइ ज्यान मार्नेसम्म घटना भएको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले दुई युवालाई नियन्त्रणमा लिए पनि घटनामा संलग्नता यकिन हुन नसकेको भन्दै उनीहरुको विवरण प्रहरीले खुलाएको छैन। घटनापछि फरार रहेकाहरुको खोजी तीव्र पार्दै घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए। 

प्रकाशित: २९ कार्तिक २०७८ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App