१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरमा विजुक्छेंको घरबाट राष्ट्रिय जनगणना २०७८ सुरु

भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको घरबाट बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ सुरु गरिएको छ। भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकस्थित विजुक्छेंको घरमा गणक टोली पुगेर गणनाको सुरुवात गरिएको हो। स्थानीय जनगणना अधिकारी तुल्सीदेवी कोजूले अध्यक्ष विजुक्छेंको घरपरिवारको विवरण संकलन गरी जनगणनाको आरम्भ गरेकी थिइन्।

कार्यक्रममा पत्रकारहरुसँग अध्यक्ष विजुक्छेंले राष्ट्रियस्तरका राजनीतिक नेताहरु, राष्ट्र प्रमुख, सरकार प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको व्यक्तिगत विवरण र भौतिक विवरण राष्ट्रिय सुरक्षासँग समेत गाँसिएको विषय हुने भएकोले निजहरुको विवरणको गोप्यताको महत्वबारे केन्द्रीय तथ्यांक विभाग संवेदनशील हुनुपर्ने बताए।

अध्यक्ष विजुक्छेंको घरपरिवारको जनगणना संकलनपछि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको घरपरिवारको पनि जनगणना संकलन गरिएको थियो। जनगणना गर्ने गणकहरुलाई विवरणहरु उपलब्ध गराउँदै नगर प्रमुख प्रजापतिले यस्तो आवधिक जनगणना देशको योजना तयार पार्न, प्रदेश र संघीय संसदमा समानुपातिक प्रतिनिधित्व गराउन, भौतिक पूर्वाधार निर्माण गर्न र अत्यावश्यक सेवा सुविधा विस्तार गर्न अत्यन्त महत्वपूर्ण हुने भएकोले सम्पूर्ण नगरवासीहरुलाई घरघरमा आउने गणकहरुलाई सही, सत्य र तथ्य विवरणहरु उपलब्ध गराउन आग्रह गरे।

जनगणना संकलन गर्ने कार्यक्रममा जिल्ला जनगणना अधिकारी पृथ्वी विजयराज सिजापतिलगायत जिल्ला जनगणना कार्यालयका कर्मचारी तथा गणकहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: २५ कार्तिक २०७८ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App