७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

निर्मला कुर्मी बेपत्ता प्रकरणः ६ जना पक्राउ

अपहरण, शरीर बन्धक गराइ हत्या गरिएकी भनिएकी निर्मला कुर्मी। तस्बिर सौजन्यः महिला अधिकार मञ्च बाँके

नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मी अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दासँग जोडिएका ६ जनालाई सोमबार प्रहरीको सम्पर्कमा आएका छन्। आइतबार प्रहरीले उनीहरुलाई सम्पर्कमा आउन सूचना दिएको थियो।

रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जना प्रहरी सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा प्रवक्ता मधुसुदन न्यौपानेले जनाए। निर्मलाको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा प्रक्राउ पूर्जी नै पाएको थियो। यसभन्दा अघि उक्त मुद्दासँग जोडिएको नेपाली कांग्रेसका नेता बादशाह कुर्मी पनि प्रहरी सम्पर्कमा आएका थिए। उनले प्रहरीलाई बयान दिएर हाजिर जमानीमा छुटेका थिए। त्यस्तै आरोपित कुवर बब्बन सिंहलाई ८० वर्ष भएकाले अदालतले उमेर हद म्यादका कारण साधारण तारेखमा छोडेको छ।

अन्य ६ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। हाल निर्मला कुर्मीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। ‘निर्मलाको मृत्यु भएको तथ्य प्रहरीले फेला पारेको छ,’ डिएसपी न्यौपानेले भने, ‘भारतमा उनको मृत्युपछिको दाहसंस्कार भएको तस्बिरहरु प्रहरीले फेला पारेको छ।’ कतिपयले निर्मलाको भारतमा दोस्रो विवाह भएको र उतै कालगतिले मृत्यु भएको बताएका छन्। उक्त विषयमा केही प्रमाण प्रहरीले समेत फेला पारेको छ। ‘निर्मलाको दोस्रो विवाह गरेको प्रमाण पत्र अनुसन्धनका क्रममा प्रहरीले फेला पारेको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट पनि प्रहरीसँग छ।’ पोस्टमार्टम रिपोर्टमा भने निर्मलाको हत्या नभएको उल्लेख भएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यता पीडिक पक्ष र महिला अधिकारकर्मीहरुले निर्मलाको करोडौंको सम्पत्ति हडप्न अपहरण गरी हत्या गरेको बताउँदै आएका छन्। प्रहरीले पीडितलाई न्याय दिन नसकेको भन्दै उनीहरुले नेपालगन्ज–काठमाडौं २० दिने पैदलयात्रा गरेपछि सरकारले छानबिन समिति बनाएको थियो। पीडित परिवार र महिला अधिकारकर्मीहरुको पैदलयात्रापछि मात्र सरकारले छानबिन सुरु गरेको थियो।

पीडित परिवारले देखाउनलाई मात्र पक्राउ नगरि सत्यतथ्य अनुसन्धान गरी न्याय दिनुपर्ने बताएका छन्।

निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो। ‘दोषीलाई पक्राउ गरिएकोमा खुसी छौं,’ महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष रुबी खानले भनिन्, ‘देखाउनलाई मात्र पक्राउ नगरि न्याय संगतरुपले न्याय दिनुपर्छ।’ सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २२ कार्तिक २०७८ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App