coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वन तस्कर धपाउन हवाई फायर

खोलामा बगाएर सखुवाको काठ तस्करी गर्दैगरेको अवस्थामा गएराति सशस्त्र वनरक्षक टोली र तस्करबीच भिडन्त भएको छ। इलाम र झापाको सीमावर्ती गैंडे सामुदायिक वनमा खोलाबाट काठ (फेन्टा) बगाइरहेका तस्करमाथि चुलाचुली वन सब–डिभिजनबाट गएको वनरक्षक टोलीले हवाई फायरसमेत गरेको छ।  

कन्काई पुलबाट २ सय मिटर उत्तरमा पर्ने झापाको शिवसताक्षी–१० मा गएराति तस्करले ढुवानीका लागि काठ बगाइरहेका थिए। इलामका सिडिओ ध्रुवबहादुर खड्काले तस्करले खोलापारिबाट वनको टोलीमाथि ढुंगामुढा गरेपछि २ राउन्ड हवाई फायरसमेत गरिएको बताए। 

‘काठ बगाइरहेकाहरूलाई नियन्त्रणमा लिने प्रयास गरेपनि खोलापारि रहेका उनीहरू भागेका छन्,’ सिडिओ खड्काले भने, ‘तर, सखुवाको २ हजार ६ सय ५ क्युबिक फिट काठ बरामद गरिएको छ।’ राति ८ बजेदेखि नियमित गस्तीमा रहेको सशस्त्र वनरक्षक टोलीले ९ बजे खोलामा काठ बगाइरहेका तस्कर फेला पारेका थिए।  त्यसपछि राति साढे २ बजे पुनः माइखोलामा काठ बगाइरहेका तस्करलाई वनरक्षक टोलीले फेला पारेको थियो। 

वनको टोली देखेपछि तस्करहरू भागेको र २९ क्युबिक फिट काठ त्यहाँबाट पनि बरामद गरिएको सिडिओ खड्काले जानकारी दिएका छन्। गैंडे सामुदायिक वन इलाम क्षेत्रमा पर्ने भएपनि यसका उपभोक्ता सीमावर्ती झापाका बासिन्दासमेत छन्। वन कार्यालयले झापासमेतको सहकार्यमा यहाँ वनको गस्ती गर्दैआएको छ।

प्रकाशित: १५ आश्विन २०७८ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App