७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

जाग्दै किशोरी, भाग्दै विकृति

जुम्ला सिँजाका किशोरीहरु बालविवाह लगायतका कुरीति जन्य क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन्। उनीहरु बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउँछन्। बालविवाह रोकथाममा लाग्न आग्रह गर्छन्। सिँजा गाउँपालिका ३ की हजारी सार्की बालविवाहले अनेक प्रकारका हिंसा फैलिइरहेको बताउँछिन्। 

उनले भनिन्,‘सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुँदैन। त्यसैमा बच्चा जन्मन्छ। आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ। शैक्षिक क्रियाकलापमा सहभागी हुन पाउँदैनन्। कार्यबोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसावले निकै कमजाेर अनुभूति हुने गर्छ। जसले जीवनभर दुःख पाइन्छ।’

उनी गाउँवस्तीमा बालविवाह बारे जागरण फैलाउँदैछिन्। गाउँमा बालविवाहले निम्त्याएको विकृतिका बारेमा अभिभावकलाई बुझाउँछिन्। सानै उमेरमा छोरीको विवाह नगर्न र बुहारी नभित्र्याउनको लागि अपिल गर्छिन्। उनले भनिन्,‘बालविवाह एकैचोटी अन्त्य गर्न सकिने विषय होइन। बालविवाहको असर बुझाउँदै जाँदा आफै हराउँदै जाने विषय हो।’

अहिले सिँजाका किशोरी सामूहिक रुपमा समाजमा थुप्रिएर बसेका कुरीतिका विषयमा आवाज उठाउन थालेका छन्। उनीहरु बालहिंसा, बालविवाह, छाउपडी प्रथा, बाल शोषणका बारेमा सचेतना फैलाउँछिन्। उनीहरु आफूलाई अब्बल सावित गर्न प्रयासरत छिन्।  

उनले देउडाको माध्यमबाट खबरदारी गरिरहेका छन्। अन्य क्रियाकलापबाट जुझारु भएको सन्देश दिन चाहन्छन्। अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतीजन्य क्रियाकलापमा कमी आएको स्थानीय बताउँछन्। स्थानीय साजना चौलागाइले पुस्ता बदलिँदै जाँदा सोच विचारमा परिवर्तन हुँदै आएको आभाष हुन थालेको बताउँछिन्। बाजे पुस्ता अहिले पनि छाउपडी प्रथालाई मान्ने बताउँछन्। बालविवाह गर्दा फरक पर्दैन भन्ने मान्यता राख्छन्। बुबा पुस्ताले अब समयसंगै परिवर्तन हुदै जानु पर्ने धारणा राख्न थालेका छन्। छोरा पुस्ता अहिलेको सबै विकृतिजन्य क्रियाकलापको अन्त्य चाहन्छन्।  

पुस्ता बदलिँदै जाँदा समाजमा जरा गाडेर बसेका कुरीतिजन्य क्रियाकलापमा पनि सुधार हुँदै जान थालेको छ। अहिले गाउँमा छाउगोठमुक्त अभियान चलेका छन्। पहिले गोठको एक कुनामा बसेर गाइवस्तुसंग रात बिताउन बाध्य महिला अहिले घरको एक कुनामा सुरक्षित बस्न थालेका छन्। पहिले पेटमै हुँदा छोरी दिने चलन हटेको छ। बाल शोषणका क्रियाकलापमा कमी आएको छ। साजनाले भनिन्,‘अब समाजमा सचेतना पुगिसकेको छ। कानुनका कुरामा कडाइ गर्न जरुरी छ। अहिले सम्म जनचेतना भयो। अब कानुनी प्रक्रिया पनि निकै कडाका साथ अघि बढाउनुपर्छ। यी सबै खाले विकृति पूर्ण रुपमा अन्त्य हुनेछन्।’

'पहिले देउता रिसाउँछन् भन्ने डरले छाउ भएको समयमा महिला घरमा बस्दैनथ्ये। अहिले धामी झाँक्री नै घरमा बस्न सुझाव दिन्छन्। पहिले सानै उमेरमा विवाह गर्नुपर्छ भन्ने थियो। अहिले उमेर नपुगी विवाह गर्न मिल्दैन भन्न थालिएको छ। पहिले बालबालिकालाई काममा जोताउने प्रचलन थियो। अहिले विद्यालयमा नपढाइकन सुख सुविधा पाउँदैनन् भन्ने सन्देश फैलिएको छ। यो निकै सुखद पक्ष हो', साजनाले भनिन्,‘समाजको सोच बदल्न हामी किशोरी लागि परेका छौँ। अब सबैले साथ सहयोग गर्नुपर्छ। सभ्य समाज निर्माण अवश्य हुनेछ।’

उनीहरुले बालविवाह रोक्न जनप्रतिनिधि गैरजिम्मेवार बनेको आरोप लगाउँछिन्। जनप्रतिनिधि नै बालविवाह गरेको भोजभतेरमा जाने गरेका छन्। बालविवाह रोक्न कुनै प्रक्रिया अपनाउँदैनन्। गाउँमा बालविवाह बढ्दा कुनै चासो राख्दैनन्। स्थानीय चन्द्रबहादुर रोकायाले भने,‘आफै कानुन बनाएर शासन गर्न सक्ने अधिकार पाएको गाउँका सिंहदरवारले पनि सामाजिक विकृति रोक्न कुनै चासो देखाएनन्। यो बिडम्वना हो।'

सिँजाका किशोरीहरु खेलकुदका क्रियालकपमा अग्रसर हुन थालेका छन्। उनीहरु कला र प्रतिभाका माध्यमबाट समाजलाई माथि उकास्न चाहन्छन्। प्लान नेपालको आर्थिक सहयोग तथा क्याड नेपालको साँझेदारीमा विकृतिजन्य क्रियाकलाप रोकथाम तथा नियन्त्रण सम्बन्धीका प्रशिक्षण तालिम सञ्चालन भएपछि यहाँका किशोरी समाजको नेतृत्व दावी गर्न थालिसकेका छन्। हजारीले भनिन्,‘अब यो समाज परम्परागत रुढीबादी मानसिकता भएकाले चलाउने होइन। अब नयाँ बिचार, नयाँ सोच र नयाँ नयाँ अनुभव बटुलेकाले मात्र चलाउन सक्छन्। यो उदाहरण हामी दिन चाहन्छौँ।’

अहिले बढ्दो प्रविधिको प्रयोगले समस्या ल्याएको उनीहरुको निष्कर्ष छ। पहिले मागेर बालविवाह हुन्थ्यो, अहिले प्रविधिको दुरुपयोग गरेर भागेर विवाह गरिन्छ। स्थानीय सरस्वती खत्रीले भनिन्,‘प्रविधिको बढ्दो दुरुपयोगलाई नियन्त्रण गर्ने नीति सरकारले ल्याउनुपर्छ। समाज आफै सभ्य बन्नेछ।’ जुम्लाका एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा सामाजिक विकृतिविरुद्धको अभियान सुरु भएको छ।  

अहिले गाउँबस्तीमा किशोरीको सक्रियता बढेपछि कुरीतिजन्य क्रियाकलाप न्यूनीकरण भएका छन्। उनीहरुल उमेर नपुग्दासम्म विवाह नगर्ने अडान अभिभावकबीचमा गर्न थालेका छन्। उमेर नपुग्दै विवाह गर्नु जीवनको बर्बादी मात्र हो। आर्थिक सामाजिक, शारीरिक हिसावले कमजोर हुनु हो। साजनाले भनिन्,‘परिपक्क उमेरमा विवाह गरौँ। परिपक्क सन्देश छरौँ भन्नेतिर लागेका छौँ।’

किशोरी सक्रिय हुन थालेपछि विकृति भाग्न थालेको आभाष भइरहेको छ।

प्रकाशित: १० आश्विन २०७८ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App