१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सिडिओले गरे सीमाको अनुगमन, दशगजामा बनेका संरचना हटाउन प्रहरीलाई निर्देशन

मोरङ जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ। नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो। मोरङमा भारतसँग ६३ दशमलब ४ किलोमिटर खुला सीमा जोडिएको छ।  

मोरङमा केहीदिन अघिमात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ)काशीराज दाहालको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो। दाहालले सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखेर आकस्मिक निरीक्षण गरेको बताइएको छ। शान्ति, सुरक्षालगायतका विषयमा सीमा क्षेत्रले मुख्य भूमिका खेल्ने हुँदा यसको अवस्था बुझ्न जरुरी रहेको र त्यसका लागि सीमा क्षेत्रको अनुगमन गरिएको हो।  

रंगेली, धनपालथान, विराटनगरको दरैयाबस्तीलगायत भारतसँग सीमा जोडिएका ग्रामीण नाकाको अनुगमन गरिएको छ। दुवै देशको क्षेत्रबाट हुनसक्ने चोरी तथा तस्करी नियन्त्रण गर्न र सीमा क्षेत्रको वास्तविक थाहा पाउनका लागि अनुगमन सुरु गरिएको प्रजिअ दाहालले बताए। उनले अनुगमनका क्रममा गैह्रकानुनी गतिविधिलाई नियन्त्रण लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिए । ‘सीमा क्षेत्र र पिलर (सीमा स्तम्भ)को अवस्था ठीकै रहेको छ,’ दाहालले भने, ‘छोटी भन्सारहरु नचलेका कारण भारतबाट सामान खरिद गरेर आउँदा राजश्व तिर्न भने सर्वसाधारणले समस्या भोग्नुपर्ने अवस्था रहेको भेटिएको छ।’

उनले नेपाल–भारत सीमा छुट्याउने दशगजामा बनेका संरचना जतिसक्दो चाँडो हटाउन सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ। चाडपर्वका बेला सीमा क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका गैह्र कानुनी गतिविधिलाई विशेष ध्यानमा राख्दै सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिइएको दाहालले बताए। सुरक्षा निकायसमेतको समन्वयमा चाडपर्व लक्षित सुरक्षा कार्य योजना बनाएर लागू गर्ने तयारी भइरहेको जानकारी दिए। ‘सीमा नाकालाई व्यवस्थित बनाउन आग्रह गर्दै दलहरुबाट सहयोगको प्रतिवद्धता आएको छ,’ दाहालले भने, ‘चोरी–तस्करी नियन्त्रण, सीमा व्यवस्थापन, कोरोना सम्बन्धी सचेतना र बजार अनुगमन प्रशासनको प्राथमिकतामा छन्।’ उनका अनुसार चाडपर्वमा हुनसक्ने कालोबजारी, ठगी, मूल्यवृद्धि एवं म्याद सकिएका सामानको किनबेच नियन्त्रणमा कुनै कसर बाँकी राखिने छैन ।  

प्रकाशित: ९ आश्विन २०७८ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App