८ वैशाख २०८१ शनिबार
समाज

मान्छे खाने बाघको जोडी पुरानै ठाउँमा फर्कियो

फाइल तस्बिर

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभर गाउँमा आतंक मच्चाउँदै आएको बाघ पुरानै ठाउँमा फर्किएको छ। स्थानीयका अनुसार पाटेबाघको जोडी आइतबार बेलुकी आफ्नो पुरानै ठाउँतिर लागेको हो। पाटेबाघले दिशा बदलेपछि विगत एक हप्तादेखि त्रासमा रहेका गाभरबासी हर्षित भएका छन्। तर, अझैपनि ढुक्क भएर बस्न सक्ने अवस्थामा छैनन्।  

करिव एक हप्तासम्म गाभर गाउँ आसपासको जंगलमा बसेको बाघको जोडी आइतबार बेलुकी निकुञ्जतिर लागेको स्थानीय चन्दा लामाले जानकारी दिइन्। उनले नागरिकसँग टेलिफोनमा भनिन्, ‘बाघले आज(आइतबार) आफ्नो दिशा परिवर्तन गरेका छन्, निकुञ्जतिर पुरानै ठाउँतर्फ प्रवेश गरेका छन्।’

चन्दाका अनुसार बाघको जोडी राजमार्गदेखि उत्तरतिर सरेका हुन्। अहिले पाटेबाघको जोडी गाभर र सौरी गाउँको बीचमा पर्ने स्यानीखोलीको जंगल क्षेत्रमा रहेको स्थानीयले बताएका छन्। उक्त बाघको जोडीबाट दुबै गाउँ जोखिममा रहेको स्थानीय बताउँछन्।  

एक साताअघि स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने भारतीय नागरिकलाई राजमार्गबाटै झम्टेर उत्तरतर्फ करिव ५ सयमिटर निकुञ्ज भित्र लगेर खाएको थियो। बाघले आधा शरिर खाएको अवस्थामा उनको शव गत सोमबार बिहान भेटिएको थियो। बाघले सोही गाउँमा बाख्रा र गाईलाई पनि मारेको थियो।  

सोही बाघले मंगलबार दिउँसै पूर्वपश्चिम राजमार्गमा गुडिरहेको एउटा मोटरसाईकललाई पनि झम्टेको थियो। पूर्वबाट पश्चिमतिर गुडिरहेको मोटरसाइकललाई झम्टेपनि बाघको पन्जाले भेटाउन नसक्दा मोटरसाईकल चालक जोगिन सफल भएका थिए। त्यसयता मान्छे खाएको बाघको जोडी राजमार्ग नाघेर राजमार्ग भन्दा दक्षिणमा रहेको गाउँ नजिक जंगलमा बस्दै आएको थियो। बाघ राजमार्ग नाघेर उत्तरतिर जाँदै गरेको अवस्थामा मोटरसाईकलमा सवार व्यक्तिहरुले देखेका थिए। मोटरसाईकलमा सवार व्यक्तिले बाघको फोटो र भिडियो पनि खिचेका छन्। उक्त फोटो र भिडियो सामाजिक सञ्जालमा पनि राखेका छन्।  

गाभर क्षेत्रमा बस्दा बाघको जोडी गाउँ नजिकै आएर कराउने र बेला बेलामा गाउँमै झुल्किँदा स्थानीय बासिन्दा निकै त्रसित भएका थिए। स्थानीयहरु घरभन्दा बाहिर निस्कनै सकेका थिएनन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार बाघलाई नियन्त्रण गर्नका लागि निकुञ्जले दुईवटा हात्ती र नेपाली सेनालाई परिचालन गर्दै आएको थियो। यस्तै बाघलाई कैद गर्न विभिन्न ठाउँमा सिसि क्यामेरा पनि जडान गरिएको छ।  

बाघलाई खुवाएर नियन्त्रण गर्न निकुञ्जले गाउँ नजिकैको जंगलमा एउटा राँगालाई बाँधेर राखेको थियो। तर, बाघको जोडीले राँगालाई सिकार नै गरेनन्। निकुञ्जले करिव पाँच दिनजति राँगालाई जंगलमा बाँधेर राखेको थियो। ‘यिनीहरु भर्खरै माउबाट छुट्टिएर स्वतन्त्र रूपमा हिँडिरहेका हुन सक्छन्, वन्यजन्तुको शिकार गर्न बानी नपरेको हुँदा मान्छे र पशु चौपायालाई आक्रमण गरेको हाम्रो आशंका छ,’ शाहले भने।  

बाघले आक्रमण गर्न सक्ने खतरा रहेकाले निकुञ्ज प्रशासनले राजमार्गमा पैदल र स्कुटर चलाउन रोक लगाएको छ। यस्तै मोटरसाईकल, अटोरिक्सा लगायत साना सवारी साधनलाई समुहमा मात्र गुड्न दिइएको निकुञ्जले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७८ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App