१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बालगृहमा बालिकामाथि श्रम तथा यौन शोषण

केही वर्ष पहिला रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिका–१० की १२ वर्षीया बालिकाले बुवा गुमाइन्। आमाको सहारामा जीवन खोजेकी रहेकी उनै बालिकालाई छाडेर आमाले दोस्रो विवाह गर्दा बालिका अभिभावकविहीन भइन्। कलिलै उमेरमा बज्रपात खपेकी उनी सहारा खोज्दै आफ्नै नगरपालिकामा खोलिएको सिस्ने हिमाल बालगृहमा पुगिन्। उक्त बालगृह आठबीसकोट नगरपालिका–१० का वडाध्यक्ष गंगाराम चदाराकी श्रीमती सुनिताले सञ्चालन गरिरहेकी छिन्।

अभिभावकविहीन ती बालिकाले त्यही बालगृहमा आफ्ना सुन्दर सपना देख्दै थिइन्। काँडाका बीचमा सपना सजाइरहकी उनीमाथि कुदृष्टि पर्छन् र उनको अस्तित्व लुटिन्छ। संरक्षण हुनुपर्ने बालगृहमा श्रममात्र शोषण हुँदैन योन शोषणको समेत सिकार हुन्छिन्।

शोषणको शृंखला यतिमै रोकिन्न, बालगृह सञ्चालक सुनिताका छोरा कुश्माखरले उनीमाथि यौन शोषणसमेत गर्छन्। अभिभाकत्व खोज्न गएकी उनी श्रम तथा यौन शोषणमा परेको कुरा बाहिर आउँदैन। कुश्माखरले ज्यानै मार्ने धम्कि दिएपछि बाध्य भएर यौन शोषण सहेर बसेको उनले न्यायका लागि गुहारेको उजुरीमा उल्लेख छ। पेटमा बच्चा हुर्केपछि बालिकाले उक्त कुरा बाहिर ल्याएकी हुन्।

आफूमाथि पटकपटक बलात्कार भएको उनले दाबी गरेकी छिन्। ‘२०७७–२०७८ बन्दाबन्दी (लकडाउन) मा जबरजस्ती करणी गरिहेको थियो,’ पीडित बालिकाले दिएको उजुरीमा भनिएको छ, ‘२०७८ साउनयता महिनावारी भएको छैन। गर्भवती भएको आशंका गरेको छु।’ जबरजस्ती करणी तथा यौन दुव्र्यवहारको आरोप लागेको कुश्माखर फरार छन्। ‘उजुरी पर्दा कुश्माखर काठमाडौंमै थिए,’ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कपील शाहीले भने, ‘काठमाडौं प्रहरीसँगको सहयोगमा पक्राउ गर्ने योजना थियो। उजुरी परेपछि उनी सम्पर्कविहीन भएर फरार भए।’

बालिकालाई आठबीसकोट नगरपालिकाकी उपमेयर गीता नेपालीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। बालगृहमा बस्दै आएकी आफूलाई गर्भवती बनाएपछि न्यायका लागि गुहार गरेको पीडित बालिकाले जनाएकी छिन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी शाहीका अनुसार बालगृहमा बस्दै आएकी बालिकाले आइतबार प्रहरीमा उजुरी दिएकी हुन्।

उजुरीमा बालिकाले कुश्माखरका बुवा गंगाराम र आमा सुनिताविरुद्ध श्रमशोषण गरेको पनि उल्लेख गरेकी छन्। ६ कक्षामा पढ्ने ती बालिकाको पेटमा नौदेखि दश हप्तासम्मको बच्चा हुर्किरहेको प्रहरी निरीक्षक शाहीले बताए। गत चैत अन्तिममा लकडाउनको बहानामा बालगृह सञ्चालिका सुनिताले आठबीसकोट १० स्थित घरमा लगी काममा लगाउने गरेको उनले उजुरीमा उल्लेख गरेकी छिन्। वडाध्यक्षले गरेको ओखर खेतीमा पानी हाल्ने र ब्रोइलर कुखुरालाई चारो हाल्न नियमित काममा लगाइ रहेको उनले उजुरीमा जनाएकी छिन्।

यता वडाध्यक्षसमेत रहेका पीडक भनिएका गंगारामले आफूहरुलाई फसाउन विभिन्न बहाना बनाइएको बताए। आरोपमा विश्वास गर्ने कुनै आधार नभएको भन्दै उनले आरोप तथ्यका आधारमा हुनुपर्ने बताए। ‘बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टमा मिति गलत छ। त्यो रिपोर्ट हालसालैको नभई दुई वर्ष पहिलाको हो,’ उनले भने, ‘त्यहाँ सन २०१९÷०५÷०५ लेखिएको छ।’ त्यस्तै उनले नगरपालिकाको न्यायिक समितिले आफ्नो भूमिका र मर्यादाको ख्याल नगरी निर्णय गरेको बताए। ‘न्यायिक समितिमा एकल निर्णय गर्ने अधिकार हुँदैन,’ उनले भने, ‘आफन्त भए झन् उक्त मुद्दा हेर्न मिल्दैन।’ नगरको न्यायिक समितिमा गंगाराम सदस्य छन्। बालिका न्यायिक समितिकी संयोजक गीताकी आफन्त भएकाले पनि न्यायिक समितिले यस विषयमा निर्णय गर्न नहुने उनको भनाइ छ।  

केटीलाई अपहरण शैलीमा लिएर विभिन्न आरोप लगाएको उनको भनाइ छ। ‘हामीलाई थाहै नदिएर बालिकालाई अपहरण शैलीमा लिइयो,’ उनले भने, ‘हामीलाई थाहै नदिई एकतर्फीरुपमा फसाउन खोजियो।’  

दुई पक्ष सहभागी भई बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य विषयमा छलफल गर्न छाडेर एकतर्फी ढंगले आरोप लगाएकाले यो विषय स्वीकार्न नसकिने उनी बताउँछन्। राजनीतिकरुपमा आफूलाई माथि उठ्न नदिन विभिन्न बहानामा आफूलाई कमजोर सावित गर्न खोजिएको उनको भनाइ छ।  

हाल उक्त बालगृहमा ६ बालिकासहित १३ जना बालबालिका छन्। उक्त बालिकालाई अर्थमन्त्री जनार्दन शर्मालगायत यहाँका जनप्रतिनिधिले बालगृहमा लिएका थिए।

प्रकाशित: २३ भाद्र २०७८ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App