१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोहना नदीले कटान गर्दा स्थानीयवासी चिन्तित

भजनी नगरपालिका–५, पगिया प्रसारका ५८ वर्षिय महेन्द्रसिंह बुढा दिनभर घर छेउ भएर बग्ने मोहना नदी किनारमा बसेर सोचिरहन्छन्, ‘मोहना खोला अझै पश्चिम पट्टि फर्किदिए गाउँको मुहार फेरिन्थ्यो।’ तर, ठीक उल्टो भई दिएको छ। गाउँको पश्चिम पट्टि भएर बग्ने मोहना झनझन पूर्व पट्टि कटान गर्दै आउन थालेको छ। ‘यो मोहना नदीले हामीलाई कहिल्यै सुख दिएन,’ उनले भने, ‘बर्खा आउनै हुन्न चिन्ता लागिरहन्छ।’ बर्खामा पानी पर्दा किसान खुसी हुने गरे पनि आफूहरू भने दुःखी हुनु परेको बताउँदै उनले भने, ‘राति पानी पर्‍यो भने हामी रातभर जाग्राम बस्छौँ, कतिखेर खोला बढेर गाउँमा बाढी पस्ने हो भन्ने चिन्ता लागिरहन्छ।’

गाउँलाई सुरक्षित राख्न संसद् विकास कोषबाट निर्मित अग्लो ड्याम मोहना नदीले कटान गर्न थालेपछि स्थानीय झनै चिन्तित बनेका छन्। मोहना किनारमा अग्लो ड्याम नबनाउन्जेल बाढी गाउँमा पसेर महिनौसम्म विस्थापित हुनु पर्ने बाध्यता रहेको बताउँदै अर्का स्थानीय मन्दिरे बुढाले भने,‘ड्याम बनायौं गाउँमा बाढी पस्नबाट त बच्यो, अब ड्यामै काट्न थाल्यो।’ अहिले गाउँलेहरूलाई ड्याम बचाउनै सकस भएको छ। ‘गाउँको सिरानबाटै ड्याम कटानी हुन थाल्यो,’ उनले भने,‘ड्याम बचाउनका लागि हामी अहिले जैविक तटबन्धन गर्न थालेका छौँ।’  

गाउँले मिलेर जंगलमा अग्ला बल्ली (खम्बा) काटेर नदी किनारमा गाडेर त्यहाँ हरिया स्याउला लगाई नदी फर्काउने काममा रातदिन लागिरहेका छन्। सरकारले गतिलो तटबन्ध नबनाइदिएका कारण स्थानीय जैविक तटबन्धको जुगाडमा छन्। ‘सरकारले ढुंगा हालेर तारजालीले तटबन्ध नगराइदिँदा हामी जैविक तटबन्धमा लागेका छौँ,’ मन्दिरेले भने, ‘सधैँ मोहनाको दुःख पाइरहने हामीलाई सरकारले पनि गतिलो तटबन्धको योजना ल्याइदिएको छैन।’ गतिलो तटबन्ध नभएका कारण पानी पर्ने वित्तिकै गाउँले उठेर नदी किनारमा बाढी हेर्दै रात काट्ने गरेको बताउँदै उनले भने,‘बाढी आउने वित्तिकै टर्च लिएर मोहना किनारमा बस्छौं, बाढी बढ्न थालेपछि घरपरिवार सुरक्षित गर्न अग्लो स्थानतर्फ जान्छौँ।’

पगीया प्रसार गाउँलाई मोहना नदीको कटानबाट जोगाउन जनताको तटबन्धन कार्यक्रम लागु गर्न वडाले निवेदन दिएको बताउँदै वडा नम्बर ५ का वडाध्यक्ष केशवबहादुर बुढाले भने, ‘वडाको बजेटले मोहनामा केही हुँदैन, त्यसका लागि गतिलो योजना नै चाहिन्छ।’ केही दिन अघि नगरपालिकाले पनि पगीया प्रसार गाउँको कटानबारे अनुगमन गरेको उनले बताए। उनले भने, ‘नगरपालिकाले पनि अनुगमन गरेको छ, हेरौँ के हुन्छ, नभए जनतासँगै मिलेर वडा कार्यालयले पनि गाउँ बचाउन प्रयास गर्नेछ।’  

आफूले पनि शनिबारका दिन दिनभर गाउँलेसँगै जैविक तटबन्धनमा जुटेको बताउँदै उनले भने, ‘मेरो गाउँ पनि त्यहीँ हो, गाउँ जोगाउन गाउँले दाजुभाइ मिलेर जंगल गई स्याउला काटेर हालेका छौँ।’ जैविक तटबन्धनमा पहिले स्याउला हालेर त्यसपछि ८ वटा ठूला त्रिपाललाई आठ वटा डोरीले बाँधेर कटान रोक्ने प्रयास गरेको उनले बताए। मोहना र काँढा नदीले पगिया प्रसार गाउँसँगै लौबस्ता, नयाँबस्ती, मिलनपुर, दुदुवाफाँटा, कौवाखेडा, कालापातल, कुटी, मानपुर, भगतपुर, कर्मदेव, लखराँया, तप्पत र चम्रौधा गाउँका ९ सय ४९ घरधुरी प्रभावित भएका छन्। मोहना र काँढा नदीमा बाढी आउँदा यी गाउँका ९ सय ४९ घरधुरी पूर्ण जोखिममा पर्ने गरेको वडाध्यक्ष बुढाले बताए।

प्रकाशित: १५ भाद्र २०७८ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App