मोहनापुल–अत्तरिया ६ लेन सडकमा बनाइएको जेब्रा क्रस पारिको फलामे बार अझै हटाइएको छैन। नागरिक दैनिकमा ‘६ लेन सडकमा अव्यवहारिक जेब्रा क्रसिङ’ शीर्षकमा समाचार प्रकाशित भएपछि निर्माण पक्षले रेलिङको तल्लो फलामे बार निकाले पनि माथिको रेलिङको बार निकालेको छैन। जसले गर्दा पैदल यात्रुले जेब्रा क्रसिङमा सडक पार गर्न सकस भइरहेको छ।
वारिबाट पारिको सडक किनार पुग्न जेब्रा क्रस त बनाइयो, तर त्यहाँ पुगेपछि निहुरिएर फलामे बार पार गर्नु पर्ने बाध्यता रहेको स्थानीय खगेन्द्र ओझाले बताए। उनले भने,‘राजपुर चौकमा कैलाली गाउँ जाने बाटोमा बनाइएको जेब्रा क्रसले सहज त भएको छ, तर पारि पुगेपछि रेलिङ मुनि छिरेर पारि जानु परिरहेको छ।’ निहुरिएर रेलिङ पार गर्दा अफ्ठ्यारो हुने गरेको उनले बताए। धनगढी राजपुर चौकमा कैलाली गाउँबाट आउने पैदल यात्रुले सडक पार गर्न जेब्रा क्रसिङ भएर पश्चिमपट्टिको सडक किनारमा पुग्दा फलामका रेलिङ (बार) निहुरिएर पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।
ठाउँ–ठाउँमा बनाइएका जेब्रा क्रसिङको एक साइडबाट अर्को साइडमा पैदल यात्रुले साइड काट्दा सडक पार गर्न फलामे रेलिङ नाघ्नु पर्ने बाध्यता रहेको छ। यस्तै करिब एक किलोमिटरको दूरीमा क्रसिङ पास (डिभाइडर) राख्दा एक लेनबाट अर्को लेनमा जाने यात्रुलाई निकै लामो दूरी पार गर्नुपर्ने बाध्यताले सास्ती दिइरहेको छ।
‘सडक वारिबाट पार गर्नु पर्दा जेब्रा क्रसिङ त बनाएको छ,’ अर्का स्थानीय कमल भट्टले भने,‘तर, पारि पुग्दा तलको फलामे बार निकाले पनि माथिल्लो बार ननिकाल्दा अपाङ्गता भएका मानिस, गर्भवती महिला र ज्येष्ठ नागरिकलाई निहुरिनु पर्दा गाह्रो हुने गरेको छ।’
यस्तै सडकमा बनाइएको अव्यवहारिक डिभाइडरले पनि यात्रुलाई सास्ती दिइरहेको छ। ‘धनगढी चौराहबाट पारिपट्टि जाँदा मिलनचोक पुगेर पुनः फर्कनु पर्ने बाध्यता छ,’ स्थानीय बब्लु कुरैसीले भने,‘६ लेन सडकमा अव्यवहारिक क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेन जान निकै टाढा जानुपर्ने बनाइएको छ।’ धनगढी सुदूरपश्चिम प्रदेशकै राजधानी रहेको ठाउँमा जनघनत्वको चाप अत्याधिक रहेकाले त्यस्तो ठाउँमा क्रसिङ राख्दा व्यवहारिकता निभाउनु पर्ने उनी सुझाउँछन्।
‘धनगढीको मोहनापुलदेखि चटकपुरको मुख्य बजार क्षेत्रमा जम्मा ३ ठाउँमा मात्रै क्रसिङ राखिनाले साइकल, मोटरसाइकल तथा चार पाङ्ग्रे सवारी साधनलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता छ,’ उनले भने,‘यो अव्यवहारिक भएका कारण यात्रुले सास्ती खेप्नु परेको छ।’ ६ लेन सडकमा बनाइएका जेब्रा क्रस पारि स्टील बारले पैदल यात्रुलाई सास्ती हुने गरेको सुदूरपश्चिम ट्राफिकका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताए।
उनले भने,‘ठाउँ ठाउँमा जेब्रा क्रसिङ त बनाइएका छन्, तर ति अव्यवहारिक हुँदा यात्रुले सास्ती खेप्नु परेको छ।’ जेब्रा क्रस पारि लगाइएका स्टील बारका बारेमा निर्माण कम्पनीसँग कुरा गरेको बताउँदै उनले भने,‘यसलाई हेरिदिन भन्दै हामीले सडक विभागसँग पनि कुरा पुर्याएका छौँ।’
प्रकाशित: ८ भाद्र २०७८ १२:३२ मंगलबार