१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेमा कोरोनाको डरलाग्दो संक्रमण

एकैदिनमा थप दुई संक्रमितको मृत्यु, आइतबार मात्रै ११ जना नयाँ संक्रमित फेला

नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्ड । तस्बिर : नागरिक

दोस्रो लहरको कोरोना संक्रमणका बेला ‘हटस्पट’ बनेको बाँकेमा अहिले पुनः संक्रमण दर फैलिँदै गएको छ। संक्रमण पूर्ण रुपले नियन्त्रणमा नआउँदै पुनः बढेको हो। 

जिल्लामा अचेल दिनहुँ मृतक र नयाँ संक्रमितहरु फेला परिरहेका छन्। कोरोना संक्रमितले अस्पतालका शैय्या (बेड)भरिँदै गएका छन्। नेपालन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रुपमा बढिरहेको छ। संक्रमित बिरामी थपिँदा अस्पतालमा भिडभाड बढेको छ।  

अस्पतालमा आउने संक्रमितहरु अधिकांस गम्भीर खालका रहेको स्वास्थ्यकर्मीले बताएका छन्। अधिकांश संक्रमितको उपचारकै क्रममा मृत्यु हुने गरेको छ। भेरी अस्पतालमा उपचार गराईरहेका थप दुई संक्रमितको आइतबार मृत्यु भयो। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दाङका ५५ वर्षीय र सुर्खेत सिम्ता गाउँपालिका ३ का ७१ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो। अस्पताल स्रोतका अनुसार तुलसीपुरका ५५ वर्षीय पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको थियो।  

गत साउन २७ गते दाङमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएपछि भोलिपल्ट भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। यस्तै सुर्खेतका ७१ वर्षीय पुरुषको आइतबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको थियो। यही भदौं १ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि दुबै संक्रमितको मृत्यु भएको हो। यसअघि शनिबार पनि भेरी अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको थियो। केन्द्रका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३ सय २६ र उपचारका लागि बाहिरबाट आएका ३ सय ९३ जनाको मृत्यु भएको छ।  

केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार आइतबार मात्रै ११ जना नयाँ संक्रमित फेला परेका छन्। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा ७२ जनाको पिसिआर परीक्षण गर्दा १५ प्रतिशतलाई कोरोना संक्रमण भएको हो। भेरी अस्पतालमा आइतबार बेलुकीसम्म ५१ जना संक्रमितले उपचार गराईरहेका छन्। यि मध्ये करिव ९० प्रतिशत संक्रमित गम्भीर प्रकृतीका रहेको अस्पतालले जनाएको छ।  

भेरी अस्पतालका फिजिसियन एवम् सूचना अधिकारी डा. संकेत रिसालले अस्पतालमा भर्ना भएका मध्ये ९० प्रतिशतको स्थिती राम्रो नभएको बताए। ‘कोभिडको संक्रमण एकदमै डरलाग्दो रुपले फैलिरहेको छ, भेरी अस्पतालमा दिनहुँ संक्रमित र मृतक बढिरहेका छन्,’ उनले भने, ‘फेरि पनि कडा खालको संक्रमण फैलियो कि भन्ने हामीलाई शंका लागेको छ, बिरामीलाई बचाउनै मुस्किल भईरहेको छ।’ अस्पतालमा पछिल्लो समयमा बच्चाहरु समेत संक्रमित भएर भर्ना हुन आएको फिजिसियन डा. रिसालले सुनाए।  

अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्याल पछिल्लो समयमा डिस्चार्ज हुने भन्दा भर्ना हुन आउने संक्रमितको चाप धेरै रहेको बताउँछिन्। ‘कोभिड वार्डमा भर्ना हुने दर एकदमै बढिराखेको छ, पहिलाको भन्दा धेरै बढेको छ,’ उनले भनिन्, ‘अस्तिसम्म त बेड नै खाली थिएनन्, केही बिरामी डिस्चार्ज भएपछि मात्र बेडहरु खाली भयो।’ अचेल अस्पताल आउने बिरामीलाई कडा खालको संक्रमण रहेको नर्सिङ अधिकृत अर्यालले सुनाईन्। उनले थपिन्, ‘एक जना बिरामीको त वार्डमा भर्ना हुन नपाउँदै मृत्यु भयो।’

निषेधाज्ञा कायमै, भिडभाड यथावत

कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले लागु गरेको निषेधाज्ञा कागजी रुपमा अहिले पनि कायमै छ। प्रशासनले गत वैशाख दोस्रो साताबाट जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा कागजी रुपमा कायम रहेपनि भिडभाड भने यथावत रहेको छ। प्रशासनले लगाएको निषेधाज्ञालाई कार्यान्वयन गरिएको देखिँदैन।  

कोरोना संक्रमणबाट बच्न सर्वसाधारणले कुनै सावधानी अपनाएको पाइँदैन। बजार, पसल ब्यवसाय, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सार्वजनिक सवारी साधन, रेष्टुरेन्ट, क्याफे लगायत स्थानमा सर्वसाधारणको भिड अत्यधिक देखिन्छ। ती स्थानमा सरकारको स्वास्थ्य मापदण्डको कुनै पालना गरिएको छैन। चाडपर्वका नाममा भिडभाड गर्ने समुदायहरु बीच होडबाजी नै चलेको छ।  

बजारमा बढ्दो भिडभाड र कोरोना संक्रमण नियन्त्रण नआउँदा नेपालगन्जवासी थप त्रसित बनेका छन्। ‘भुसको आगो’ जस्तै फैलिरहेको कोरोना संक्रमण नियन्त्रण र ब्यवस्थापनमा प्रशासनले कत्तिपनि चासो नदिएको जिल्लावासीको गुनासो छ। संक्रमितहरु दिनहुँ थपिरहँदा र अस्पतालमा दैनिक जसो मृत्यु भईरहँदा पनि प्रशासन सुतेर बसेको आरोप छ। ‘संक्रमितको संख्या थपिने क्रम चलिरहेको छ, दिनहुँ मृतकको संख्या थपिरहेको छ, तरपनि प्रशासनले भिडभाड नियन्त्रण गर्न र निषेधाज्ञालाई कडाई गर्नतर्फ चासो दिएको छैन, प्रशासन सुतेर बसेको छ,’ सर्वसाधारण भन्छन्।  

प्रशासनले लागु गरेको निषेधाज्ञा जस्तो बजारमा कतै नदेखिएको फिजिसियन डा. रिसालले बताए। ‘म एउटा अर्जेन्ट कामले त्रिभुवन चोकतिर गएको थिए, त्यहाँ मान्छेको भिडले खुट्टा टेक्ने ठाउँ थिएन, त्यहाँ ९० प्रशितले मास्क नै लगाएका थिएनन्,’ डा. रिसालले भने, ‘मान्छेमा चेतना नै भएन, प्रशासन पनि मौन बसेको अवस्था छ।’ यस्तै लापरबाहीले कोरोना महामारीको फेरि भयावह स्थिती आउने निश्चित रहेको उनले बताए। ‘निषेधाज्ञालाई त कार्यान्वयन गर्ने निकायले नै कडाई गर्नुपर्ने हो, तर कत्तिपनि कडाई गरिएको देखिएन, यसतर्फ सरकारको बेलैमा ध्यान जानुपर्छ,’ रिसालले भने।  

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा लगाइएको निषेधाज्ञा अहिले पनि कायमै रहेको र अलिकति खुकुलो मात्र बनाएर लगिएको बताए। ‘पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएको छ, यसप्रति नागरिक आफै सचेत हुनुपर्ने हो, प्रशासनले डण्डा नै लगाउनुपर्ने भन्ने सोच आएर यस्तो भएको हो की ?’, उनले भने । प्रहरी, प्रशासनले कोभिड १९ विरुद्ध सचेतनामुलक कार्यक्रम पनि गरिरहेको र कोरोना नियन्त्रण तथा ब्यवस्थापन गर्ने सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवाला पक्षसँग छलफल गरेर छिट्टै उचित कदम चालिने प्रजिअ गेलालले बताए।

प्रकाशित: ६ भाद्र २०७८ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App