८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मनाङमा दसैअघि गाडी पुग्न मुस्किल

लमजुङको बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमिटर सडक हो। यो सडक पूर्णरुपमा अवरुद्ध भएको झन्डै अढाइ महिना भइसकेको छ। तत्कालै सडक पुनः सञ्चालन हुने अवस्था पनि छैन। असार पहिलो साताको भीषण बाढीपहिरोले यो सडकखण्ड ठाउँठाउँमा क्षतविक्षत पारेको थियो। त्यसैमा असार पहिलो साताको बाढीले झनै विनास निम्त्याएको थियो ।

सडक मात्र क्षतविक्षत नभई भएका पुलपुलेसा पनि बाढीसँगै बगेका छन्। मोटरेवल बेलिब्रिजसहित काठेपुल बगेको र मस्र्याङ्दी नदीको कटानले कतिपय खण्डमा त पैदल हिँडडुल पनि सहज छैन। सडक पूर्णरुपमा अवरुद्ध भएर सवारीसाधन चल्न नपाउँदा मनाङमा अहिले हेलिकोप्टरको भरमा मात्र खाद्यान्न र दैनिक उपभोग्य वस्तु आपूर्ति भइरहेको छ। हेलिकोप्टरको महँगो भाडा तिर्नुपर्दा उपभोग्य वस्तु ढुवानीमा स्थानीयलाई सास्ती छ।  

अवरुद्ध भएको सडक पुनः सञ्चालन गर्नका लागि सहज नभएको प्राविधिकहरूले बताएका छन्। सडक सञ्चालका लागि आवश्यक गह्राैँ उपकरण पनि लैजान नसक्दा सडक खुलाउन निकै नै अप्ठेरो भएको उनीहरूको भनाइ छ। पूर्वाधार विकास कार्यालय मनाङका इन्जिनियर प्रल्हाद दाहालका अनुसार कतिपय ठाउँमा सडक पूरै बगेको छ। बगेको सडक खण्डमा मस्र्याङदी नदी किनारबाटै पर्खाल उठाउनुपर्छ। खोत्रेपाखा, धारापानी खण्डमा सबैभन्दा बढी समस्या रहेको उनले बताए।  

‘मस्र्याङ्दीले यतिसम्म कटान गरेको छ, कतिपय ठाउँमा डाइभर्सन बनाउने ठाउँ पनि छैन,’ दाहालले भने, ‘तीव्र गतिमा काम गरेर भए पनि आउने दसैंसम्म सडक खुलाउने प्रयास भने भएको छ।’ दाहालका अनुसार चामेभन्दा तल मात्र नभई माथिल्लो खण्डमा पनि उस्तै सकस छ। चामे–भ्राताङमा करिब ३५ मिटर सडकको ट्र्याक खोल्नुपर्ने अवस्था छ। त्यहाँ ब्लास्टिङ नगरी सडक खुलाउन सकिन्न। सदरमुकाम चामेसम्म सडक खुलाउन सकियो भने केही राहत हुने ठानिएको दाहालले बताए।  

सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर अमित श्रेष्ठका अनुसार ६५ किलोमिटरमध्ये बेसीसहरदेखि सिरानतालसम्मको ३८ किलोमिटर सडकमा सवारीसाधन चलाउन सकिने भएको छ। त्यस्तै तिमाङदेखि चामेसम्मको १५ किलोमिटर सडक पनि खुलिसकेको छ। तर, बीचभाग (३८ देखि ५० किलोमिटर) मा पर्ने झन्डै १२ किलोमिटर सडक खुलाउन निकै नै सास्ती छ। सिरानतालदेखि तिमाङसम्मको १२ किलोमिटरमा बढी क्षति भएको र त्यो खण्ड खुलाउन निकै नै कठिन रहेको श्रेष्ठले बताए ।

‘१२ किलोमिटर सडकलाई आगामी असोज २० गतेसम्म ट्र्याक खुलाउने प्रयास हुनेछ। त्यसका लागि ठेकेदार कम्पनी छनोट भइसकेको छ,’ उनले भने, ‘दोहोरो गाडी चल्ने मात्र नभई ट्र्याक खुलाउने मात्र लक्ष्य हो। अहिलेभन्दा थप क्षति बीचमा बेहोर्नु नपरेमा असोज २० सम्म ट्र्याक खुलाउन भरमग्दुर प्रयास हुनेछ ।’ कतिपय ठाउँमा त पैदल हिँड्न पनि सकस हुने अवस्था रहेकोमा त्यो ठाउँमा गाडी गुड्ने ट्र्याक खुलाउन निकै नै चूनौतीपूर्ण रहेको उनले बताए ।

डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका इन्जिनियर सुरज महर्जनका अनुसार आगामी दिनमा थप भारी वर्षा भएर अप्ठेरो नपरेमा सबैभन्दा अप्ठेरो रहेको १२ किलोमिटर खण्डको ट्र्याक खोल्नमा ध्यान केन्द्रित हुनेछ। ‘त्यो ठाउँसम्म गह्रौ उपकरण लैजान पनि सकस छ, दुवैतिरबाट काम गर्न पाउने हो भने केही सहज हुन्थ्यो,’ महर्जनले भने, ‘तर, अवस्था निकै नै असहज छ। कतिपय ठाउँमा त पैदल हिँड्ने ट्र्याक नै छैन। त्यहाँसम्म उपकरण पुर्‍याउन सकिन्न। मानवीय बलको भरमा मात्र काम गर्ने हो ।’  

महर्जनका अनुसार खोत्रोपाखामा सबैभन्दा बढी कठिन छ। त्यहाँ १५० मिटर सडकको ट्र्याक नै बगेको छ। पहिले बाटो रहेको ठाउँमा अहिले चट्टान मात्र बाँकी रहेको र नजिकै वस्ती र पुल हुँदा ब्लाष्टिङ गर्न पनि मिल्दैन। सडक खुलेपछि त्यहाँ वस्ती बसेको थियो। ब्लास्टिङ गर्दा वस्ती र नजिकैको झोलुंगे पुल जोखिममा पर्छ। खोत्रोपाखामा खोलाको किनारदेखि १० देखि २० मिटर उचाइको १५० मिटर लामो पर्खाल बनाउनुपर्छ र बल्ल ट्र्याक खुल्छ।  

त्यस्तै धारापानीमा पनि उस्तै समस्या छ। धारापानीमा १ सय मिटर सडक पूरै कटान छ। त्यहाँ पनि खोलाको किनारदेखि १५ मिटर उचाइको पर्खाल बनाउनुपर्छ। ‘गाडी नै नभएपछि मान्छेले ढुंगा बोकेको भरमा पर्खाल लगाउने हो। त्यही भएर काम गर्न सहज छैन,’ मजर्हनले भने, ‘त्यसबाहेक ठाउँठाउँमा काठेपुल पनि हाल्ने हो ।’ सबैभन्दा बढी क्षति पुगेको १२ किलोमिटर सडकमा ट्र्याक खुलाउनका लागि एकसाता समय दिएर टेण्डर आह्वान गरिएको छ।  

दुई करोड रुपैयाँको उक्त ठेक्का रसुवाको उत्तरगया कन्स्ट्रक्सनले पाएको छ। तीनदिनभित्र सम्झौता गर्न आउनु भनेर सोमबार मात्र ठेकेदार चयन गरिएको महर्जनले बताए। ‘ठेकेदारको भरमा मात्र काम गर्दा छिटो नहुन सक्छ। सडक डिभिजन नै यसमा सक्रियताका साथ लाग्छ,’ उनले भने, ‘नत्र दसैंअगाडि ट्र्याक खुलाउन सकिन्न ।’ निकै नै अप्ठेरो हुनेगरी कटान गरेकोले पनि सडक सञ्चालन गर्न चूनौतीपूर्ण रहेको उनले बताए।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने पनि सडक खुलाउन सहज नभएको बताउँछन्। ‘अब दुई महिना पनि समय छैन, त्यो अवधिमा सकेको पहल गरेर ट्र्याक खुलाउने हो,’ लामिछानेले भने, ‘सबैभन्दा बढी जोखिमपूर्ण ठाउँ नै खुलाउन बाँकी छ। अन्यत्र त करिब सडक खुलिसकेको छ ।’ चामेबाट दानाक्युसम्मको करिब १० किलोमिटर सडक पनि खुलिसकेको उनले बताए। ‘दसैंसम्म गाडी उकाल्न सकियो भने यो नै सबैभन्दा उत्तम हुनेछ,’ उनले भने। 

प्रकाशित: २ भाद्र २०७८ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App