१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बढैयातालको अपुताली जग्गा मिलेमतोमा बेचबिखन

बढैयाताल गाउँपालिकामा गैरनागरिकका नाममा रहेको जग्गा आफन्तका नाममा पास गरी जग्गा बिक्री गरिएको तथ्य सार्वजनिक भएको छ।

गैरनागरिक चिनकु तेलीका नाममा रहेको जग्गा तिनकी भान्जीका छोरा सैजाद तेलीका नाममा ल्याएर जग्गा बिक्री गरेको खुलासा भएको हो। अपुतालीको जग्गा स्वतः नेपाल सरकारका नाममा दाखिला हुनुपर्नेमा बिचौलियाले लामो प्रयासपछि व्यक्तिका नाममा ल्याएर बिक्री गर्न सफल भएको स्रोतको दाबी छ।

२०४३ सालअघि २ बिघा ६ कट्ठा जग्गा चिनकु तेलीका नाममा स्रेस्ता कायम थियो। २०४३ सालमा उनको मृत्यु भयो। उनका हकवाला थिएनन्। तर बिचौलियाले सरकारका नाममा दर्ता हुन दिएन। हकवाला कायम गरेर बिचौलियाले चलखेल गरेपछि रोक्का भएको जग्गा बिक्री भएको तथ्य भेटिएको हो। बढैयातालका केशबहादुर कामीले उक्त जग्गाको हकवाला नभएको भनी जिल्ला प्रशासनमा उजुरी दिएपछि रोक्का भएको जग्गा बिक्री भएको तथ्य बाहिर आएको हो।

सरोकारवाला निकायमा पैसाको चलखेल भएपछि सरकारी नाममा स्रेस्ता कायम हुने जग्गा व्यक्तिका नाममा पास गराएर १४ कट्ठा बिचौलियाका आफन्तले समेत उक्त जग्गा व्यक्तिबाट लिएको स्रोतको आरोप छ। जग्गा पास भएर बिक्री हुनुअघि बढैयातालका अध्यक्ष लालबहादुर श्रेष्ठले अपुतालीको जग्गामा गाउँपालिकाको भवन बन्ने भनेर सार्वजनिक अभिव्यक्तिसमेत दिने गरेको स्थानीयको भनाइ छ। ‘गाउँपालिका अध्यक्षसमेत उक्त जग्गामा गाउँपालिकाको कार्यालय बनाउने भन्नुभएको थियो,’ नाम नखोल्ने सर्तमा एक स्थानीयले भने, ‘अपुताली प्रमाणित भएको जग्गा एकाएक कसरी व्यक्तिका नाममा पास भएर बिक्री भयो ?’ जग्गाबारे सोध्दा अध्यक्ष श्रेष्ठले अनभिज्ञता प्रकट गरे।

बढैयातालका केशबहादुर कामीले उक्त जग्गाको हकवाला नभएको भनी जिल्ला प्रशासनमा उजुरी दिएपछि रोक्का भएको जग्गा बिक्री भएको तथ्य बाहिर आएको हो।

उक्त जग्गाको सत्यतथ्य छानबिन हुनुपर्ने स्थानीयको माग छ। जिल्ला प्रशासनको रेकर्डमा निवेदनपछि उक्त जग्गा २०६८ पुस २५ गते फैसला गरी हकवालाकी बहिनी सकिना तेली, छोरी जैनव तेली र सकिना तेलीको छोरा सैजाद तेली हकवाला खुलाएर मुद्दा फर्छ्याैट गरेको देखिन्छ। लगत्तै पुनः जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि रोक्का रहेको २ बिघा ६ कट्ठा जग्गामध्ये १४ कट्टा जग्गा बिचौलिया दबाबमा सैजादलाई पास गरेको समेत स्थानीयले दाबी गरेका छन्। लामो समयसम्म अपुताली कायम भएको र उजुरी परेको जग्गा व्यक्तिका नाममा पास गर्न विभागबाट अनुमति ल्याएर पास गरेको पाइएको छ।  

उक्त जग्गाका लागि पटकपटक विभिन्न प्रलोभनमा पार्न गिरोह सक्रिय रहेको समेत कार्यालयका एक कर्मचारीले खुलाए। ‘प्रमुख जिल्ला अधिकारी फेरिँदा यो जग्गाको मुद्दाका लागि कार्यालय गिरोह आउने गथ्र्यो,’ नाम नखोल्ने सर्तमा उनले भने, ‘दुईपटकसम्म उजुरी परेको जग्गा कसको पाला फस्र्योट भएर बिक्री भएछ, थाहा भएन।’ सयौं बिघा जमिनको हकवाला नहुँदा आफन्त र व्यक्तिका नाममा जग्गा स्रेस्ता कायम नभएको मालापोतको रेकर्डले पुष्टि गर्छ। 

अपुताली जग्गा बिक्री भएको सम्बन्धमा जानकारी लिन खोज्दा मालपोत कार्यालयका प्रमुख भीम केसीले यसबारे बेखबर रहेको बताए। ‘कार्यालयमा दैनिक जग्गा बेचबिखन हुन्छ,’ केसीले भने, ‘गैरकानुनी तवरले पक्कै पास भएको छैन, यदि रहेछ भने पनि बदर हुन्छ।’

प्रकाशित: ३० श्रावण २०७८ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App