१९ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

कृषि ट्र्याक्टरको व्यापक दुरुपयोग

लहान-कृषि प्रयोजनका लागि छुटमा ल्याइएका ट्र्याक्टरले नियम मिचिरहँदा पनि सम्बन्धित निकाय कारबाहीमा उदासीन देखिएका छन्। यी ट्रयाक्टर कृषिजन्य उत्पादनको साटो ढुंगागिट्टी बोकेर राजमार्गमा बेपरबाह हुइँकिरहँदा पनि कसैले वास्ता गरेको छैन।कृषिजन्य सामान मात्र ढुवानी गर्न पाउने, रुट परमिटबाहिर हुइँकिन नपाउने, अनुमतिबिना ट्रली जोड्न नपाइने नियम सगरमाथा र जनकपुर अञ्चलमा दर्ता भएका कृषि प्रयोजनका ट्र्याक्टरले उल्लंघन गरेका हुन्। अन्य नियम मिच्नेमा पनि यी ट्र्याक्टर अगाडि छन्। यस क्षेत्रमा गुड्ने अधिकतम ट्र्याक्टर चालकसित चालक अनुमतिपत्र नै हुने नगरेको ट्राफिक प्रहरी जानकारी गराउँछन्। 
कृषिजन्य ट्र्याक्टरले अन्य ढुवानी गर्न नपाउने सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयका नायब सुब्बा मोहन भण्डारी बताउँछन्। भन्छन्, ‘यहाँ दर्ता भएका सम्पूर्ण ट्र्याक्टर कृषिका लागि हुन्, तलमाथि गरे गैरकानुनी ठहर्छ प्रयोजनका लागि हो, त्यो भन्दा तलमाथि गर्‍यो भने गैरकानुनी ठहर्छ।’ ट्र्याक्टर किन्ने किसानले, प्रयोगचाहिँ ढुंगागिट्टीको ठेकेदारले गर्दा गैरकानुनी धन्दा फस्टाएको बताउने उनी हदैसम्मको जरिवाना भराए मात्र ट्र्याक्टरको बलमिचाइँ रोक्न सकिने देख्छन्। अन्यत्र प्रयोग गरेको पाए ट्राफिकले एकपटकमा एक हजार र यातायात कार्यालयले ५ हजार जरिवाना गराउन सक्ने उनले बताए। नियम मिच्ने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएपछि यातायात कार्यालयमा बुझाए समस्या घटाउन सकिने यातायात कर्मचारी बताउँछन्। 
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर ठाकुरप्रसाद पोखरेल भने यातायात कार्यालयमा बुझाउने नगरिएको बताउँछन्। भन्छन्, ‘अनुमतिपत्र नबोक्ने चालकलाई एक हजार जरिवाना गराएर छाड्ने गरेका छौं, यातायात कार्यालय पठाइएको छैन।' 
चालकसँग लाइसेन्स नहुँदा मोटरसाइकल नियन्त्रणमा लिने प्रहरी ट्र्याक्टरले आँखैअघि नियम मिच्दा पनि वास्ता गरिरहेको छैन। एसपी पूर्णचन्द्र जोशी ट्र्याक्टरलाई ट्राफिकले नियन्त्रण गर्नुपर्ने बताउँछन्। भन्छन्, ‘सवारीसाधन कारबाहीको अधिकार हामीसँग हुँदैन।' 

चुरे र खोलाबाट ढुंगागिट्टी उत्खनन रोक्न पनि ट्र्याक्टर दुरुपयोग नियन्त्रण गर्नु आवश्यक रहेको वन तथा वातावरणविज्ञ दिनेश यादव बताउँछन्। ‘छुटमा भित्रिएका ट्र्याक्टर ढुंगागिट्टी ढुवानीमा प्रयोग भएको अवस्थाप्रति राज्य गम्भीर हुनुपर्छ,' उनले भने। बढी सामान अटाउन ट्र्याक्टरधनीहरूले इन्जिन क्षमताभन्दा बढी साइजको ट्रली जोडेर पनि नियम उल्लंघ गरिरहेको ट्राफिक प्रहरी बताउँछन्।

प्रकाशित: २३ वैशाख २०७१ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App