विश्वको सर्वोच्च शिखर सगरमाथा मानव साहस, संकल्प र सम्भावनाको प्रतीक हो। सन् १९५३ मे २९ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक यसको सफल आरोहण गरेपछि सगरमाथा विश्वका हजारौं मानिसको सपनाको गन्तव्य बनेको छ।
सात दशकभन्दा बढीको यात्रामा नौ हजारभन्दा बढी आरोही शिखरमा पुगेका छन्। आज सगरमाथा केवल कीर्तिमान र गौरवको कथा मात्र होइन, गम्भीर संकटको संकेत पनि बनेको छ। बढ्दो भिड, थुप्रिँदै गएको फोहोर र जलवायु परिवर्तनका कारण तीव्र गतिमा बदलिँदो हिमाली वातावरणले सगरमाथाको भविष्यलाई नै चुनौती दिइरहेको छ।
पछिल्ला वर्षहरूमा सगरमाथाको चर्चा शिखर विजयभन्दा बढी भिडभाड, ट्राफिक जाम, फोहोर व्यवस्थापन र जलवायु परिवर्तनका असरका कारण हुन थालेको छ। यस वर्ष मात्र नेपाल सरकारले झन्डै पाँच सय आरोहीलाई अनुमति दियो। अनुकूल मौसमको छोटो समयका कारण सयौं आरोही एकै दिन शिखरतर्फ अघि बढ्दा जोखिम पनि बढेको छ। मे २७ मा मात्र २७४ जना शिखरमा पुगेको तथ्यांकले सगरमाथामा बढ्दो चाप स्पष्ट देखाउँछ। विश्वकै सर्वोच्च शिखर भएकाले आकर्षण हुनु स्वाभाविक हो तर व्यवस्थापन कमजोर हुँदा त्यो आकर्षण चुनौतीमा परिणत भएको छ।
सगरमाथाको अर्को गम्भीर समस्या फोहोर हो। दशकौंदेखि आरोहीहरूले छाडेका अक्सिजन सिलिन्डर, पाल, प्लास्टिकजन्य सामग्री र अन्य फोहोर हिमालका विभिन्न शिविरमा थुप्रिएका छन्। वर्षौंदेखि बरफमुनि पुरिएका सामग्री अहिले हिउँ पग्लिएसँगै फेरि सतहमा देखिन थालेका छन्। कीर्तिमानी आरोही कामिरिता शेर्पाले दुई वर्षसम्म आरोहण रोक्नुपरे पनि विगत सात दशकमा जम्मा भएको फोहोर सफा गर्नुपर्ने धारणा व्यक्त गर्नुको कारण यही हो। सगरमाथा केवल पर्यटन र राजस्वको स्रोत मात्र होइन, नेपालको प्राकृतिक सम्पदा र विश्व सम्पदा पनि हो। यसको संरक्षणलाई आर्थिक लाभभन्दा माथि राख्न आवश्यक छ।
सगरमाथामाथि मडारिएको सबैभन्दा ठुलो संकट जलवायु परिवर्तन हो। यसका प्रभावहरू अब अध्ययनका प्रतिवेदनमा मात्र सीमित छैनन्, ती हिमालमै स्पष्ट देखिन थालेका छन्। खुम्बु आइसफल नजिकै हिउँ पग्लेर बनेका खोल्सा र खोलाहरू तर्नै नसकिने भएका भिडियो सार्वजनिक भएका छन्। हुन पनि, केही दशकअघिसम्म आधार शिविरमा हिउँ फोडेर पानी निकाल्नुपर्ने अवस्था थियो भने अहिले त्यही स्थानमा पानीका पोखरी बन्न थालेका छन्। जहाँ कहिल्यै हिउँ नपग्लिने मानिन्थ्यो, त्यहीं अब पानी बगिरहेको छ।
वैज्ञानिकहरूले लामो समयदेखि हिमालय विश्वको औसतभन्दा तीव्र गतिमा तातिरहेको चेतावनी दिँदै आएका छन्। हिन्दुकुश–हिमालय क्षेत्रका हिमनदीहरू अभूतपूर्व दरमा पग्लिरहेका छन्। तापक्रम वृद्धिलाई नियन्त्रण गर्न नसकिए यो शताब्दीको अन्त्यसम्म हिमालयका हिमनदीहरूको एकतिहाइ वा त्योभन्दा बढी भाग हराउन सक्ने अनुमान गरिएको छ। सगरमाथामा देखिएका नयाँ पानीका धाराहरू, अस्थिर बन्दै गएका सेराक, बढ्दो हिमपहिरोको जोखिम र पुराना शवहरू सतहमा देखिनु यही संकटका संकेत हुन्।
जलवायु परिवर्तनले सगरमाथा आरोहणलाई पनि थप अनिश्चित बनाएको छ। मौसमको चक्र बदलिएको छ। हावाहुरी, हिमपात र वर्षाको समय अनुमान गर्न कठिन बन्दै गएको छ। शिखर चुम्न उपयुक्त मानिने ‘वेदर विन्डो’ साँघुरिँदै गएको अनुभव आरोहीहरूले गरिरहेका छन्। यसले आरोहीको सुरक्षा मात्र होइन, सम्पूर्ण हिमाली पर्यटन उद्योगलाई असर पार्ने खतरा छ।
सगरमाथाको संरक्षणका लागि आरोहण बन्द गर्नु समाधान होइन। हुन पनि, सगरमाथा स्वयंमा समस्या होइन, समस्या हामीले निम्त्याएका व्यवस्थापकीय कमजोरी हुन्। त्यसैले समाधान पनि व्यवस्थापनमै खोज्नुपर्छ। आरोहण अनुमति संख्यामा पुनर्विचार, अनुभव र प्रशिक्षणलाई अनिवार्य बनाउने व्यवस्था, फोहोर व्यवस्थापनमा कडाइ, उद्धार र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन तथा जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी पहल अपरिहार्य छन्।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित ‘सगरमाथा समिटर्स समिट–२०२६’ मा राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रिय गौरव, प्रतिष्ठा र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरेका थिए। राष्ट्रपति पौडेलको यो भनाइले सगरमाथाको संरक्षण केवल नेपालको मात्र होइन, विश्व समुदायको साझा दायित्व भएको तथ्यलाई पुन: स्मरण गराउँछ। वास्तवमा सगरमाथाको वर्तमान संकट केवल नेपालका लागि होइन, सम्पूर्ण मानवजातिका लागि हो। विज्ञान र आरोहीले प्रस्ट भनेका छन्– संसारको छानो पग्लिरहेको छ।
यो सन्दर्भमा जलवायु परिवर्तनका कारण पग्लिरहेका हिमनदी, खुम्बु आइसफलमा देखिन थालेका पानीका नयाँ धाराहरू र बढ्दो मानवीय चापले दिएको चेतावनीलाई सम्बोधन गर्ने र यो सम्पदाको संरक्षणमा बेवास्ता गर्ने छुट अब हामीलाई छैन।
प्रकाशित: १९ जेष्ठ २०८३ ०६:०९ मंगलबार

