८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पैसाको प्रलोभनामा जुवाडेलाई भगाएको घटनाः वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वको टोलीले छानबिन गर्ने

जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह(आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। नेपाल प्रहरी केन्द्रीय बिभागको निर्देशनमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख नेपाल प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले उच्चस्तरीय छानबिन समिति गठन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले बताएका छन्। 

वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा प्रहरी उपरीक्षक दिलिप देउवा र प्रहरी निरीक्षक हिक्मत वोहरा सदस्य रहेको छानबिन समिति गठन गरिएको उनले बताए। ‘वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वको छानबिन समितिले घटनाको छानबिन गरेर एक सातामा प्रतिबेदन बुझाउने छ’, उनले भने। घटनाको छानबिन सुरु गरिसकेको छानबिन समितिमा रहेका एक प्रहरी अधिकारीले बताएका छन्।

प्रहरीले ठूलो जुवा भैरहेको सूचना पाएपछि छापा मारेर पैसाको प्रलोभनमा परि जुगाडे भगाएर गुपचुप राखेको घटनाको दुई दिनपछि नागरिकले समाचार प्रकाशन गरेको थियो। समाचार माध्यमबाट घटना सार्वजनिक भएपछि स्थानीयको चर्को विरोध र प्रहरीको केन्द्रीय बिभागमा चासोका कारण भगाईएका ४ जना जुवाडे र होटल संचालकलाई प्रहरीले पक्राउ गरेको थियो। 

सूचना पाएर छापा मार्न गएको प्रहरी टोलीले एक जनालाई पनि पक्राउ नगर्नुमा प्रहरीको टोलीको त्रुटी रहेको एक प्रहरीका उच्च अधिकारीले बताएका छन्। ‘जुवाडे भगाउनमा छापा मार्न गएको टोलीको मात्र त्रुटी हो वा प्रहरी टोली पठाउने प्रहरी अधिकारीको पनि संलग्नता छ कि भनेर छानबिन टोलीले छानबिन गर्ने छ’, उनले भने।

घटना यस्तो थियोः
धनगढी उपमहानगरपालिका वडा नं ३ बडहरा स्थित एएफसी रेस्टुरेन्टमा सोमबार दिउँसो जुवा भैरहेको सूचना पाएर सिभिल पोशाकमा गएको जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को संयुक्त टोलीले छापा मार्यो। यो रेस्टुरेन्ट जिल्ला प्रहरी कार्यालयबाट करिव ३ किलोमिटर मात्र दूरीमा रहेको छ। 

प्रहरी नायव निरीक्षक केशव जोशीको नेतृत्वमा आरआईटीका तीन जना र जिल्ला प्रहरीका दुई गरि जम्मा ५ जनाको टोली सिभिल पोशाकमा छापा मार्न गएको थियो। प्रहरीले छापा मार्दा हजारौको जुवा भैरहेको थियो। हेर्नेसहित गरि करिव १२ जना थिए। प्रहरी देखेपछि केही जुवाडेहरू पछाडी तिर भागेर गए। होटललाई घेरा हालेका सिभिल पोशाकमा रहेको प्रहरी टोलीले भागेकालाई समेत धकेल्दै भित्र ल्याए। 

एकछिनपछि नाटकीय रुपमा सबै जुवाडेलाई प्रहरीले भाग्न दियो। ‘भुतपूर्व सैनिकले संचालन गरेको त्यो रेस्टुरेन्टमा संचालकले मलाई दिउँसो खाना खान बोलाएको थियो, तेहा सबै गरेर १२ जना जति थियौं। म त तास खेलिरहेको थिइन। एक्कासी प्रहरी आएपछि म भागेर पछाडी तिर गए। पछाडी प्रहरीले घेरा हालिसकेको रहेछ, दुई जना प्रहरीले धकेल्दै भित्र नै पठाए’, एक जना सहभागीले नागरिकलाई भने,‘पछि प्रहरीले सवैलाई जान दिएपछि म पनि भागेर गए।’  

जुवाडे भगाइएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानबहादुर रोकायको नेतृत्वमा मुचुल्का बनाउन प्रहरी टोली घटनास्थल पुगेको थियो।

रेस्टुरेन्ट संचालक भुतपूर्व सैनिक त्यहि थिए। काउन्टरमा पैसा छ भन्ने सूचना पाएपछि प्रहरीले ती संचालकलाई नै काउण्टर तोड्न लगाए। ८५ हजार नगद मात्र पाइएको र सबै जुवाडे भागेको मुचुल्का बनाएर प्रहरी टोली फर्कियाे।  

जुवाडेसँग भएको पैसा ठूलो परिमाणमा लिए पनि ८५ हजार रूपैयाँ मात्र फेला परेको मुचुल्का बनाएको प्रहरीलाई आरोप छ। ६ लाख पैसा काउन्टरमा छ भनेर सूचना पाएपछि प्रहरी टोलीले काउन्टर समेत तोड्न लगाएको थियो। काउन्टरमा पैसा छ भन्ने सूचना पाएर तोड्न लगाएपनि पैसा नभेट्टाएको प्रहरीको दावी छ।  

जुवाडेलाई भगाएर ५ लाख भन्दा बढी रकम प्रहरीले लिएको भन्ने कुरा जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुका बिचमा सनसनी फैलियो । यसमा संलग्न नरहेका प्रहरी अधिकारी र प्रहरीहरुले समेत असन्तुष्टी व्यक्त गरेपछि यो घटना बाहिर आएको एक प्रहरीले बताएका छन ।

प्रहरीले छापा मार्दा जुवा खेलीरहेका ठूला जुवाडे भएकाले यिनिहरुको साथमा लाखौ रकम हुने गरेको र ८५ हजार मात्र हुने भन्ने कुरा गलत भएको जुवाडेको बारेमा जानकार एक युवकले बताएका छन्। सिसिटिभीमा कैद भएको दृष्य देखाएर आफूले जुवाडे नभगाएको र ८५ हजार मात्र पैसा लिएको दावी कैलाली जिल्ला प्रहरीको छ। 

कैलालीमा बाह्रौ महिना जुवा भैरहने गर्छ। महिनावारी बुझेर जुवा खेलाउन दिने गरेको प्रहरी माथि आरोप लाग्दै आएको छ।

प्रकाशित: २४ श्रावण २०७८ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App