६ वैशाख २०८१ बिहीबार
समाज

कोरोना महामारीः बाँकेमा ६ घण्टाको फरकमा तीन संक्रमितको मृत्यु

बाँकेमा ६ घण्टाको फरकमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचारका लागि आएका सुर्खेत, दाङ र रोल्पाका संक्रमितको आइतबार बिहान मृत्यु भएको हो। 

भेरीगंगा नगरपालिका वडा नम्बर १० सुर्खेतकी ३९ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ८ बजेर ४५ मिनेटमा मृत्यु भएको हो। उक्त अस्पतालमा यही साउन ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएकी थिईन्।  

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ दाङका ४५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा मृत्यु भएको छ। उनको उपचारका क्रममा बिहान ८ बजेर ३० मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा यही साउन २१ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि भोलिपल्ट भर्ना भएका थिए।  

यसैगरी रोल्पा, लुंग्री गाउँपालिका वडा नम्बर ६ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान २ बजे मृत्यु भएको हो। भेरी अस्पतालमा गत असार २८ गते भर्ना भएका उनलाई भोलिपल्ट पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।  

यो सँगै कोरोना संक्रमणबाट बाहिरी जिल्लाका ३ सय ८६ र बाँकेका ३ सय २२ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए। बाँकेमा कोरोना भाइरस(कोभिड–१९) महामारी फेरि बढेको छ। यहाँका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टले महामारी बढेको देखाएको हो। महामारी बढेपनि बजारमा भिडभाड र चहलपहल यथावत रहेको छ। सार्वजनिक यातायात निर्वाध सञ्चालन भइरहेका छन् भने सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, रेष्टुरेन्ट, कटेज लगायतमा चाप अत्यधिक छ।

एक हप्तामै अस्पतालका बेडहरु भरिँदै गएका छन्। केन्द्रका अनुसार हाल बाँके जिल्लाको मात्र सक्रिय संक्रमितको संख्या १ सय ३२ पुगेको छ। यस्तै बाहिरी जिल्लाका २५ जना संक्रमितले अहिले बाँकेमा उपचार गराइरहेका छन्। केन्द्रका अनुसार यहाँका अस्पताल र आइसोलेसन सेन्टरमा ४० जना र होमआइसोलेसनमा १ सय १७ जना संक्रमित रहेका छन्।

प्रकाशित: २४ श्रावण २०७८ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App