११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

बाँकेमा फेरि बढ्यो कोरोना महामारी

बाँकेमा कोरोना भाइरस(कोभिड–१९) महामारी फेरि बढेको छ। यहाँका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टले महामारी बढेको देखाएको हो। महामारी बढे पनि बजारमा भिडभाड र चहलपहल यथावत रहेको छ। 

सार्वजनिक यातायात निर्वाध सञ्चालन भइरहेका छन् भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, रेष्टुरेन्ट, कटेजलगायतमा चाप अत्यधिक छ। एक हप्तामै अस्पतालका बेड भरिँदै गएका छन्। यहाँका तीनवटा प्रयोगशालाले शनिबार सार्वजनिक गरेको रिपोर्टअनुसार २१ जना नयाँ संक्रमित फेला परेका छन्। भेरी अस्पतालमा ६० वटा नमुना परीक्षण गर्दा ११ जनालाई संक्रमण पुष्टि भयो।

नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा ५६ जनाको परीक्षण गर्दा छ जनामा र बागेश्वरी ल्याबमा २३ जनाको परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। यसमध्ये ११ जना बाँकेका र १० जना बाहिरी जिल्लाका रहेको बताइएको छ। केन्द्रका अनुसार शनिबार पुष्टि भएको संक्रमण दर १५ र बाँकेको संक्रमण ५२ प्रतिशत हो।  

यसअघि शुक्रबार मात्रै यहाँका तीनवटा प्रयोगशाला दुई सय सात जनाको स्वाब परीक्षण गर्दा ४८ जना संक्रमित फेला परेका थिए। भेरी अस्पतालमा एक सय नौ जनाको स्वाब परीक्षण गर्दा ३२, नेपालगन्ज मेडिकल कलेजमा ४९ जनाको परिक्षण गर्दा १० जना र बागेश्वरी ल्याबमा ४९ जनाको परिक्षण गर्दा छ जनामा संक्रमण देखिएको थियो। यो संक्रमण दर ३३ र बाँकेको २७ प्रतिशत रहेको थियो। कोरोना संक्रमण दर हेर्दा दैनिक रूपमा उकालो लागिरहेको देखिन्छ। महामारी बिस्तारै बढ्दै जान थालेपछि पुनः कोरोनाको त्रास सुरु भएको छ।  

केन्द्रका अनुसार हाल बाँके जिल्लाको मात्र सक्रिय संक्रमितको संख्या एक सय ३२ पुगेको छ। यस्तै बाहिरी जिल्लाका २५ जना संक्रमितले अहिले बाँकेमा उपचार गराइरहेका छन्। केन्द्रका अनुसार यहाँका अस्पताल र आइसोलेसन सेन्टरमा ४० जना र होमआइसोलेसनमा एक सय १७ जना संक्रमित रहेका छन्।  

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले एक हप्तामै कोरोना संक्रमितको संख्या अस्पतालमा दोब्बर पुगेको बताए। ‘एक हप्ताअघि सम्म १० देखि २० जना जति बिरामी भर्ना थिए, अहिले ठ्याक्कै दोब्बर पुगेका छन्,’ उनले भने ‘तेस्रो वेब अझै क्लियर भएको छैन, दोस्रो वेब नै पूर्ण रूपले नियन्त्रणमा नआएको अवस्था छ, ठ्याक्कै किटानी गर्न सक्ने स्थिति छैन।’

अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालले अस्पतालमा अहिले संक्रमितको संख्या पुनः बढेको सुनाइन्। उक्त अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अहिले हल ‘ए’ र हल ‘बी’ गरी दुईवटा वार्ड सञ्चालन गरिरहेको छ। 

कोभिड वार्डमा कोरोना संक्रमित भर्ना हुने र डिस्चार्ज हुने क्रम चलिरहेको नर्सिङ अधिकृत अर्यालले सुनाइन्। ‘शुक्रबार धेरैजनालाई डिस्चार्ज त गर्‍यौं, तर संक्रमितहरू फेरि थपिए,’ उनले भनिन्, ‘बिरामी भर्ना हुने दर एकदमै बढिरहेको अवस्था छ।’ कोभिड फोकल पर्सन नरेश श्रेष्ठले पनि अस्पतालमा संक्रमितको संख्या केही बढेको बताए। ‘संक्रमितको संख्या अस्पतालमा केही मात्रामा बढेको छ, एकदमै आत्तिने अवस्था चाहिँ छैन, तर लापरबाही पनि गर्नु हुँदैन, बच्चाहरू अहिलेसम्म भर्ना भएको अवस्था छैन,’ उनले भने।

भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट शनिबार एकैदिन दुईजनाको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार दुवैको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: २४ श्रावण २०७८ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App