१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

दार्चुला तुइन प्रकरण: नेपालतर्फ आएन छानविन टोली

एसएसवीले तुइन फुकालेपछि महाकाली नदीमा बगेका दार्चुला ब्याँस गाउँपालिका–२, का ३३ वर्षीय जयसिंह धामीको घटना छानबिन गर्न पुगेको टोली नेपालतर्फको घटनास्थलमा नपुगेरै फर्केको छ। पीडित धामीका आफन्त तथा स्थानीयले छानविन समिति आउने पर्खाइमा बसेका थिए। तर, समिति तुइन फुकालिएको भारततर्फको भूमिमा मात्रै पुगेर फर्केपछि स्थानीयले विरोध जनाएका छन्। छानबिन समिति पीडित पक्षको गाउँ र घटनास्थलमा नपुगी तुइन फुकालेर धामीको हत्या गर्ने पक्षकै भूमिमा गएको भन्दै स्थानीयले बिहीबार दिउँसो प्रदर्शन गरेका छन्।  

तुइन फुकालेर हत्या गरेको पीडा

हामीले छानबिन समितिसमक्ष राखौंला भनेर पर्खिरहेका थियौं, छानबिन समितिले हाम्रा सबै पीडा सुनिदेला सोचेका थियौं,’ जयसिंहका भाइ नरेन्द्रसिंह धामीले भने,‘तर, छानबिन समिति हामीतर्फ नआई भारततर्फको भूमिबाटै फर्केर गयो।’ तुइन फुकालेर दाजुलाई महाकाली नदीमा हेल्ने पीडक पक्षकै भूमिमा गएर छानबिन समिति फर्कंदा आफूहरू निरास भएको उनले बताए। ‘यसले हाम्रो घाउमा मह्लम लगाउनुको साटो झन् चहर्‍याएको छ।’ ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले छानबिन समितिले गाउँमा गएर पीडितका कुरा सुनिदिनुपर्ने बताए। ‘हाम्रा धेरै समस्या र पीडा छन्,’ उनले भने, ‘छानबिन समितिले गाउँमा पुग्दा यथार्थ कुरा बुझ्न पाउँथे, तर उनीहरू अहिलेसम्म गाउँमा गएका छैनन्।’ टोली भारतीय भूमिमा पुगेर फर्केको बताउँदै उनले भने, ‘छानबिन समितिलाई हामीले नेपाली भूमि रहेको मालघाट क्षेत्रमा पुगिदिन पनि आग्रह गरेका छौँ।’  

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेको छानबिन समिति मंगलबार दार्चुला पुगेर घटनाको अध्ययन गरिरहेको छ। बिहीबार छानविन समिति भारतीय भूमि धार्चुलाको बाटो हुँदै भारततर्फ रहेको घटनास्थलको अनुगमन गरेर फर्केको छानबिन समितिका सदस्य तथा निमित्त जिल्ला अधिकारी ज्योत्सना भट्टले बताइन्। ‘हामी भारतर्फको घटनास्थलमा स्थलगत अध्ययन गरेर फर्केका छौँ,’ उनले भनिन्। 

नेपालतर्फ जान बाटो अप्ठ्यारो भएको बताउँदै उनले भनिन्, ‘हिँडेर जान सकिने अवस्था छैन, मौसम र बाटो प्रतिकूल छ।’ हेलिकोप्टरको व्यवस्था भएमा नेपाली भूमिमा पनि पुग्ने उनले बताइन्। सदरमुकाम खलंगाबाट ब्याँस गाउँपालिका जान सडक मार्ग छैन। पैदल हिँडेर डेढ दिनमा ब्याँस गाउँपालिका पुग्न समय लाग्छ। हिँडेर सदरमुकाम आउजाउ गर्न नसकिने भएका कारण ब्याँस गाउँपालिकाका स्थानीय आफ्नै जिल्लाको सदरमुकाम खलंगा पुग्न महाकाली नदीमा तुइन तरेर भारतीय मार्गको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। आफूहरूले राजनीतिक दल, जनप्रतिनिधि र प्रत्यक्षदर्शीसँग सदरमुकाममै छलफल गरेको उनले बताइन्।  

छानबिन टोलीविरुद्ध नाराबाजी

बिहीबार छानबिन टोली भारतीय भूमिबाटै फिर्ता भएपछि घटनास्थलको नेपालतर्फको भूमिमा स्थानीयले राष्ट्रिय झण्डा बोकेर नाराबाजीसहित प्रर्दशन गरेका थिए। स्थानीयले ‘एसएसबीको ज्यादती बन्द गर, तुइन फुकाल्नेलाई कारबाही गर, छानबिन समिति नेपाली भूमिमा आऊ’ लगायतका नाराबाजी गरेका थिए। आफ्नो भूमिमा नआएर भारतीय भूमिबाटै अनुगमन गरेर फर्केका टोलीविरुद्ध आफूहरूले नेपाली भूमिबाटै नाराबाजीसहित प्रदर्शन गरेको जयसिंहका भाइ नरेन्द्रले बताए।  

साउन १५ गते ब्याँस गाउँपालिका–२, का ३३ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीका बारेमा जानकारी लिन काठमाडौं जान भनेर महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीका जवानले रूखमा बाँधिएको तुइन फुकालिदिँदा उनी महाकालीमा बगेका थिए। उर्लंदो महाकाली नदीमा बगेका धामी नभेटिएपछि उनका परिवारले मालघाटमै कुशको शव बनाएर धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिसकेका छन्।  

छानबिन समितिसँग तीनजना प्रत्यक्षदर्शी कल्याणसिंह धामी, विक्रम रंगोली र अमिता धामीले तुइन तरेर जयसिंह धामी पारिपट्टी पुग्नै लाग्दा एसएसबीले तुइन फुकालेकाले उनी बगेको बयान दिएको वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बताए। ‘जयसिंह तुइन तरेर पारि पुग्न १ मिटर मात्रै बाँकी थियो, एसएसबीको जवानले रुखमा बाँधेको तुइनको डोरी फुकाल्न थाले, हामीले यताबाट चिच्याउँदै नखोल्न आग्रह ग¥यौं, एसएसबीले नसुनेर तुइनको डोरी फुकालिदिएर धामी बगे भनेर छानबिन समितिसमक्ष बयान दिएको तीनजना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बुढाथोकीले बताए।  

प्रकाशित: २२ श्रावण २०७८ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App