४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

न्यायाधीशहरुद्वारा सरसफाइ

कपिलवस्तुमा न्यायाधीशहरुको अगुवाइमा सरसफाई अभियान चलाइएको छ। तौलिहवास्थित अदालत टोलमा विभिन्न मुद्दाहरुको सुनुवाईमा व्यस्त रहने जिल्ला अदालतका ५ न्यायाधीशहरुको अगुवाइमा अदालत परिसर र अदालत टोलमा बृहत् सरसफाइ अभियान चलाइएको हो।

न्यायाधीशहरु तजेन्द्रप्रसाद शर्मा, जवाहरप्रसाद सिंह, खिमानन्द भुसाल, बसन्तजंग शाह र कृष्ण नेपालले अभियानको अगुवाई गरेका थिए।

कालो कोटमा मुद्दाको सुनुवाई र अध्ययनमा व्यस्त रहने न्यायमुर्तिहरु, अदालतका कर्मचारीहरु, बारका प्रतिनिधिहरु, कानून व्यवसायी र स्थानीयबासी  हातमा कुचो लिएर अभियानमा सरिक भएका थिए।

टोलीले सुरुमा अदालत परिसरमा सरसफाइ अभियान चलाएको थियो। सो लगत्तै २ समूहको टोली बाँडिएर अदालत टोलका बाटाको सरसफाइ गरिएको थियो। न्यायाधिश शर्माले सरसफाइप्रति सचेतना बढाउन अभियान चलाइएको बताए। ‘सरसफाइप्रति स्थानीयबासीलाई जागरुक गराउन अभियान चलाएका हौं’ उनले भने।

स्थानीयबासीले कम्तीमा आफनो घर अघिको बाटो सफा राख्ने र फोहोरलाई व्यवस्थित गर्न सकेमात्र टोल स्वच्छ रहने उनको भनाइ छ। सरसफाइ अभियानलाई सफल बनाउन कपिलवस्तु नगरपालिकाले ६ वटा डस्टबिनसमेत प्रदान गरेको थियो। त्यसमध्ये ३ वटा अदालत परिसरमा र बाँकी ३ वटा अदालत टोलमा राखिएको थियो।

सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक प्रकाश गैरेले न्यायमुर्तिहरुकै अगुवाइमा गरिएको यो अभियान नमूना रहेको बताए। उनले यसले टोल र नगरमा राम्रो सन्देश गएको बताए।

बारका जिल्ला अध्यक्ष हुमबहादुर कुँवरले टोललाई स्वच्छ र हराभरा बनाउन स्थानीयबासी आफैं सचेत हुनुपर्ने बताए।

प्रकाशित: १६ श्रावण २०७८ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App