२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कालापानी क्षेत्रका युवक आफ्नै सदरमुकाम जाँदा तुईन चुडालिएर नदीमा बिलाए

यसअघिको धेरै निर्वाचनमा सबै राजनीतिक दलका नेताका मुख्य ऐजेण्डा दार्चुला जिल्लामा तुईन बिस्थापित गर्ने हुन्थे। सबैतिर तुईन बिस्थापित गरेर झोलुंगे पुल बनाउने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आकर्षक मुद्दा थियो। नेपालमा राष्ट्रियताको हट केक मुद्दा बनेको दार्चुलाको कालापनी क्षेत्र सधै राजनीतिक चर्चाको केन्द्र मात्र बनेन् यसको साहारामा धेरैले आफ्नो राष्ट्रवादी छवी बनाए। 

कालापानी क्षेत्रका व्यास गाउँपालिका बासिन्दाले आफ्नै जिल्लाको सदरमुकाम ओहोरदोहोर गर्ने बाटो बनाउन कयौ अनुनय र बिनय गरे तर सुनवाई भएन। भारतले कालापानीको भूभाग हुँदै सडक काटेर उद्घाटन गरेको कुराले विवाद भएपछि कालापानी क्षेत्रको विषय राष्ट्रिय सर्वाधिक चासोको विषय बन्यो। त्यतिबेला सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारले विवादित कालापानी क्षेत्रमा बसेका व्यास गाउँपालिकाको बासिन्दालाई आफ्नै देशबाट सदरमुकाम पुगाउने बाटो र सडक निर्माण गर्ने घोषणा गरे र पंचायत कालमा बनाइएको बाटो भत्केपछि व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम पुग्न पनि भारत पक्षको अनुमति लिएर भारतको बाटो हुँदै सदरमुकाम खलंगा जान्थे र घर फर्कन पनि भारतकै बाटो भएर घर जान्थे। अन्य विकल्प थिएन।

एससवीले भनेको नमान्दा धामी नदीमा बिलाए

दार्चुला व्यास गाउँपालिका २ माल गाउँका ३३ वर्षीय जय सिंह धामीलाई आफ्नो जिल्लाको सदरमुकाम खलंगा जानु पर्ने थियो। उनीसँग आफ्नो देशको भूभाग भएर जिल्ला सदरमुकाम पुग्ने अन्य कुनै विकल्प थिएन। महाकाली नदीको तुईन तरेर भारतको बाटो हुँदै दार्चुला सदरमुकाम पुगिन्थ्यो। उनी तुईन चढेर महाकाली नदी तर्न सुरु गरे। नदीको अर्को किनारतिर अर्थात भारत तिर छेउमा भारतीय प्रहरी एसएसवीका जवान थिए। 

भारतीय एसएसवीका प्रहरीले तुईन तरेर नदी पार नगर्न चेतवानी दिएको प्रत्यक्षदर्शी कल्याण सिंह धामीले बताए। ती युवक तुईन चढेर नदी पार गर्न खोज्दा तुईन चुडिएर उनी बर्षातको भेल उर्लिरहेको महाकाली नदीमा बिलाए। भारतीय एसएसवीका जवानले तुईन काटीदिएकाले युवक नदीमा खसेको स्थानीयको आरोप छ। 

दार्चुलामा कार्यरत शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र वमले एसएसवीका जवानले तुईनमा चढेर नआउन चेतावनी दिएको प्रत्यक्षदर्शीबाट बुझिएपनि तुईन आफै चुडिएको वा काटिएको भन्ने थाह हुन नसकेको बताए। उर्लदो भेलको महाकाली नदीमा तुईन काटेर कसैलाई खसाल्ने कुरा कल्पना गर्न नसकिने उनले बताए। सीमा विवाद भएको क्षेत्रका युवकलाई तुईन काटेर हत्या गरेको भन्दै घटनाको गंभीर रुपमा छानबिन हुनुपर्ने स्थानीयको माग छ।

मालघाटमा महाकाली नदी तरेर भारतको बाटो हुँदै दार्चला सदरमुकाम खलंगा जान जय सिहं धामी तुईनको सहारा लिए। झोलुंगो पुल र पक्की पुल नभएको सीमा नदी महाकाली तर्ने एउटा मात्र विकल्प तुईनको सहारा हो। तुईन बिस्थापित गरेर झोलुंगे र पक्की पुल बनाउने घोषणा गरिएपनि दार्चुलावासीको नियति तुईको सहारा मात्र छैन। दुई देशको सीमा विवादको सबैभन्दा बढी तनाव, समस्या र जोखिम व्यास क्षेत्रका बासिन्दाले भोग्दै आएका छन्। 

कालापानी क्षेत्रको मुद्दालाई सत्ता हत्याउने दाउ बनाउने राजनीतिक दलका नेता र सरकार संचालन गर्नेहरुले व्यास क्षेत्रका बासिन्दालाई भारतको निर्भर नपरी आफ्नै भूमिमा बाच्न पाउने आधार बनाउन ध्यान नदिएको उनीहरुको गुनासो छ।

तर बिहीबार महाकाली तरेर भारतको बाटो हुँदै सदरमुकाम जान लागेका धामी तुईन चुडिएर नदीमा बेपत्ता भए।

दार्चुला जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले महाकाली नदी तरेर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जाने क्रममा तुईन चुडिएर नदीमा युवक धामी बेपत्ता भएको बताईन्। बेपत्ता भएका धामी अझै फेला परेका छैनन्।

प्रकाशित: १६ श्रावण २०७८ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App