७ कार्तिक २०७८ आइतबार
समाज

आवाजको दुनियाँसँग बेखबरहरूको कथा

उनीहरूले हामीले बोलेको सुन्न सक्दैनन्। आमाबुवाले माया गरी बोलाएको, रिसाएर बोलाएको, गाडी गुडेको, साथीभाइ हाँसेको कुनै आवाज सुन्न सक्दैनन्। आवाजको दुनियाँसँग उनीहरू बिल्कुलै बेखबर छन्। आवाज सुरिलो, कर्कश, रुखो होस्, उनीहरूका लागि मौनताबराबर हो। आवाज कस्तो हुन्छ भन्ने अनुभूति नै नभएपछि उनीहरूले आवाजलाई व्यक्त गर्ने कुरै भएन। उनीहरू बोल्न सक्दैनन्।  

यो दृश्य सिरहाको बहिरा आधारभूत विद्यालयको हो, जहाँ ८५ बालबालिका पढ्छन्। चोहर्वा–सिरहा–माडर सहायक सडकको पूर्व छेवैमा बहिरा विद्यालय छ। त्यहाँ श्रवणशक्ति गुमाएका र बोल्न नसक्ने विद्यार्थी सांकेतिक भाषामै पढाइ गर्छन्। उनीहरू राष्ट्रगान पनि सांकेतिक भाषामै गाउँछन्। कोही पढाइमा अब्बल छन्, कोही अतिरिक्त क्रियाकलापमा। ७५ जना छात्रावासमा बस्छन्। बाँकी दैनिक आउनेजाने गर्छन्।

सञ्जय दास यही विद्यालयबाट पढेका विद्यार्थी हुन्। अहिले उनी यही विद्यालयमा पढाउने शिक्षक छन्। बिहानदेखि बेलुकासम्म बालबालिकासँग समय बिताउनु उनको दैनिकी हो। बालबालिकालाई पठनपाठनमा बाधा नपुगोस् भनेर विद्यालयहरू प्रायः शान्त ठाउँमा राखिन्छ। तर, बहिरा विद्यालय भने सडकछेउमै छ। चोहर्वा–सिरहा खण्डका हजारौं सवारी चर्को आवाजमा कुद्छन्। तर, कक्षा चलाउन कुनै समस्या छैन। विद्यार्थी ‘डिस्टर्ब’ मान्दैनन्। अन्य स्कुलमा जस्तो केटाकेटी होहल्ला गरेको, साथीलाई बोलाएको सुनिँदैन। यहाँ कान नसुन्ने बालबालिका मात्रै अध्ययन गर्छन्।

२०५४ सालमा स्थापित सो विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ। ७८ छात्र र १७ छात्रा छन्। उनीहरू सबैजना मनले सुन्छन् र संकेतले संवाद गर्छन्। अरू विद्यालयजस्तै यहाँ पनि परेड, व्यायाम र राष्ट्रगानबाट दिनको सुरुवात हुन्छ। विद्यार्थी सांकेतिक भाषामै राष्ट्रिय गान गाउँछन्। प्रधानाध्यापक भोलाप्रसाद यादवका अनुसार २०५२ सालमा चार बालबालिका जुटाएर सिरहा बजारको भाडाको घरमा सुरु भएको पठनपाठन दुई वर्षपछि विद्यालयमा रूपान्तरण भयो। १४ बालबालिकालाई राखेर पूर्वप्राथमिक कक्षा (१ देखि ३) सञ्चालन गरियो। त्यसका लागि सांकेतिक भाषाको तालिम लिएका दुई शिक्षक नियुक्ति गरिए।  

ती बालबालिकालाई पढाउन लाग्ने सम्पूर्ण खर्च सिरहा बहिरा संघले बेहोथ्र्याे। उमेर पुगेका विद्यार्थीलाई साक्षर बनाउन सांकेतिक भाषा सिकाएर विभिन्न तालिम दिइन्थ्यो। २०६३ सालमा जिल्ला शिक्षा कार्यालयले प्रावि शिक्षकसमेतको राहत कोटाको दरबन्दी उपलब्ध गराई बहिरा विद्यालयको स्वीकृति दियो।‘कोही धेरै चकचक गर्छन्, कोही शान्त बस्छन्। कोही हँसीमजाक गर्छन्। कोही सुन्दर चित्र बनाउँछन्,’ प्रधानाध्यापक यादवले भने, ‘कोही गणितमा अब्बल छन्, कोही नेपालीका कथा, कविता रुचाउँछन्।’ कक्षा ५ मा अध्ययनरत राजु सधैं चित्र कोर्छन्। कक्षा ८ का काजल मण्डल, नितुकुमारी साह पढाइमा बढी रुचि राख्छन्। यहीँ पढेर अहिले शिक्षक बनेका सञ्जयकुमार दास विद्यार्थीहरू तेजिलो मस्तिष्कका रहेको बताउँछन्।

 विद्यालयमै आया पदमा कार्यरत दोभासे लक्ष्मी विकमार्फत कुरा गरेका उनले बालबालिकाले धेरै सपना बोकेकाले ध्यान दिएर पढाउने गरेको सुनाए। यहाँ सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुलीसम्मका बालबालिका छन्। विद्यालयको सुरुवात भने बहिरा संघले गरेको हो। श्रवणशक्ति गुमाएकाहरूलाई भेला गरी सिरहा, माडरका गंगाराम यादवले २०५१ सालमा संघ गठन गरे। २०५२ सालताका राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघले सांकेतिक भाषाको विकास एवं कार्यक्रम सञ्चालनका लागि बहिरा संघ सिरहालाई १० महिने काम दियो। त्यसक्रममा काठमाडौंबाटै आएका प्रशिक्षक कुमार रेग्मीले श्रवणशक्ति गुमाएका, अभिभावक तथा सुन्न सक्ने ३० सहित ५० जनाका लागि सांकेतिक भाषा कार्यक्रम सञ्चालन गरे। तालिम लिएकाबाट शिक्षक तयार गरियो।

२०६० सालतिर बहिरा संघ, सरकारी निकाय, दातृ संस्था, व्यक्तिको सहयोगले ३ बिघा १५ कट्ठा जग्गामा विद्यालय भवन, छात्रावास, भान्सा कक्ष निर्माण भएको छ। यहाँ कक्षागत रूपमा पठनपाठन चलाइएको छ। विद्यालयमा नियमित पठनपाठनका साथै सीपमूलक तालिम दिइन्छ। संघका सचिवसमेत रहेका दोभोसे विपीनकुमार यादवमार्फत उनले बाहिरी जिल्लाबाट पनि विद्यार्थी आउने भएकाले सबैलाई पर्याप्त आवासीय व्यवस्था मिलाउनु मुख्य चुनौती रहेको बताए। ‘कक्षा ८ उत्तीर्ण गरेपछि बाहिर पठाउनुपरेको छ,’ उनले भने, ‘माविसम्म सञ्चालन गर्ने योजना छ, त्यसका लागि प्रदेश २ सरकारसँग समन्वय गरेका छौं।’ शिक्षक पनि पर्याप्त नरहेको उनको भनाइ छ। अहिले पाँच शिक्षक, तीन आया र एक कार्यालय सहयोगी छन्।

जसले बहिरा सशक्तीकरणको जग बसाले

वैवाहिक बन्धनमा बाँधिएको एक वर्ष नबित्दै कान नसुन्ने समस्या भयो। एकातिर भर्खर पाएको सामान्य जागिर अनि अर्कोतिर, वैवाहिक जीवन अघि बढाउनुपर्ने जिम्मेवारी। अचानक कान नसुन्ने समस्या हुनेका लागि सम्हालिन कम्ता गाह्रो हुँदैन। तर, उनले हिम्मत हारेनन्।

सामाजिक अवहेलनाको बाबजुद पनि सिरहा नगरपालिका–१६ का गंगाराम यादव ५५, जीवनका चुनौती सामना गर्दै अगाडि बढिरहे। अदम्य साहस र हिम्मत भएका उनी आफू मात्र अगाडि बढेनन्, आफूजस्तै अरूलाई पनि आत्मनिर्भर बनाउन जुटिरहेका छन्। २५ वर्षअघि श्रवणशक्ति गुमाएका गंगारामको अगुवाइमा सुरु गरिएको बहिरा संघ सफलता चुम्दै अगाडि बढेको छ। उनले कान नसुन्ने र बोल्न नसक्नेहरूको सशक्तीकरण, शिक्षा र उपचारको कामलाई निरन्तर अघि बढाउँदैछन्। 

२०५१ माघ १० गते बहिरा संघ दर्ता गराएर बहिराहरूलाई एकत्रित गरेर सशक्तीकरण गर्न गंगारामले अभियान नै चलाए। मधेसको गाउँमा बहिरा जागरण तथा सशक्तीकरणको काम गर्न त्यति सजिलो कहाँ थियो र ? सामाजिक परिवेशले उनको यो बाटोमा प्रशस्त काँडा ओछ्याइदियो। बहिरा सशक्तीकरण अभियान रोक्न समाजका केही मानिस खुलेरै लागे। तर, उनको दृढ अठोट र इच्छाशक्तिका अगाडि सबै अवरोध पन्छिँदै गए। गंगाराम भन्छन्, ‘निष्ठापूर्वक गरेको कामले अवश्य फल दिँदोरहेछ।’  

प्रकाशित: १५ श्रावण २०७८ ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App