२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

देशकै पहिलो ज्येष्ठ नागरिक मिलन चौतारी चाँगुनारायणमा

भक्तपुरको चाँगुनारायण नगरपालिकाले जेष्ठ नागरिकको हितमा नयाँ कार्यक्रम ल्याएको छ। नगरपालिकाले जेष्ठ नागरिक मिलन चौतारी नामाकरण गरी वडा समितिहरू गठन गर्न सुरु गरेको छ। नगरपालिकाले प्रत्येक वडा समितिहरूलाई १/१ लाख दिन आर्थिक वर्ष २०७८/७९ को बजेटमै ९ लाख रुपैयाँ बिनियोजन गरेको छ।

नगरपालिकाले वडा नम्बर १ न्यौपाने गाउँमा वडा समिति समेत गठन गरेको छ। सो क्रममा बरिष्ठ साहित्यकार कृष्ण मुरारी गौतम (चट्याङ मास्टर)ले जेष्ठ नागरिक भएको घरमा बालबालिकालाई कुपोषण नहुने, विद्यालयका कक्षाबाट नभाग्ने र आपराधिक क्रियाकलापमा संलग्न नहुने अध्ययनले देखाएको चर्चा गर्दै जेष्ठ नागरिकको सेवामा लाग्न आग्रह गरेका थिए।

उनले जेष्ठ नागरिकहरूले भजन किर्तन मात्र नलागी युवाहरूलाई पथपर्दशकको काम गर्न र व्यावसायिक क्रियाकलापमा लाग्न समेत अनुरोध गरे। उनले १ नम्बर वडा समितिलाई अक्षय कोषको लागि १ लाख दिने घोषणा समेत गरेका थिए।

कार्यक्रममा  नगरप्रमुख सोम प्रसाद मिश्रले जेष्ठ नागरिकको हित हुनेगरी बजेटमै समावेश गरेर नयाँ कार्यक्रम ल्याएको बताए। उनले नगरपालिकाले ज्येष्ठ नागरिकको क्षेत्रमा नगरपालिकाले नयाँ अभ्यास गर्न खोजेको बताए। ‘यो काममा सम्भवत देशकै पहिलो नगरपालिका हाम्रो नगरपालिका भएको छ।’ उनले दाबी गरे।

उनले नगरपालिकाले लागू गरेको कार्यक्रमको अन्य नगरपालिकाले अनुसरण गर्ने समेत बताए।

उनले प्रत्येक वडा समितिलाई प्रत्येक बर्ष १ लाख रुपैयाँ दिने गरी कार्यबिधि बनाउन लागेको बताउँदै वडा समितिले उक्त बजेट जुनसुकै शीर्षकमा खर्च गर्न सक्नेसमेत जानकारी दिए। कार्यक्रममा उपमेयर बिना बास्तोला, १ नं. वडाका वडाअध्यक्ष राजेश खड्का , ३ नं. वडाका वडा अध्यक्ष श्यामसुन्दर धिमाल लगायतले सहजता पूर्वक जीवनयापन गर्न, समाजमा घुलमिल गर्न र संस्थागत कार्य गर्न कार्यक्रम उपयोगी हुने बताए।

भेलाले स्थानीय सालिकग्राम न्यौपानेको संयोजकत्वमा जेष्ठ नागरिक मिलन चौतारी ९ सदस्यीय समिति गठन गरेको छ। समितिमा सह संयोजक रामबाबु शर्मा, सचिब शोभा खनाल, कोषाध्यक्ष सीता न्यौपाने, सदस्यहरू बच्चुराम न्यौपाने, केदारप्रसाद सापकोटा, जयराम न्यौपाने, अम्बिका न्यौपाने, भवानी न्यौपाने र मछिन्द्रनाथ न्यौपाने रहेका छन्।

सोही अवसरमा नगरपालिकाको तर्फबाट वडा समितिलाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ। जसमा हारमोनियम एक थान, तबला एक सेट, झ्याली एक थान, मुजुरा एक थान, अफिस कुर्सी काठको फ्रेम भएको १५ वटा, पर्दा सेट डण्डी जडान सहित ८ थान,  चकटी भुवा भएको ३० थान, स्ट्याण्ड फ्यान २ थान र फल्ससिलिङ्ग बत्ति जडान लगायत सामान वडा समिति संयोजक सालिकग्राम न्यौपानेलाई हस्तान्तरण गरिएको थियो।

यसअघि नगरपालिकाले वडा नम्बर  ८ सुडाल र वडा नम्बर ५ छलिङमा वडा कार्य समिति गठन गरिसकेको छ।

प्रकाशित: २३ असार २०७८ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App