२३ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

फेवाताललाई सिल्टेसन पोखरीको राहत

फेवातालमा एकवर्षमा १ लाख २२ हजार घनमिटर सिल्ट जम्मा हुन्छ

फेवातालमा मिसिन हर्पन खोलामा बनाईएको सिल्टेसन पोखरीबाट एक्साभेटरको सहयोगमा सिल्ट झिकेर टिपरमा लोड गरिदैं । तस्बिर नागरिक

एकसाता यता पोखरामा दिनहुँजो भिषण पानी परिरहेको छ । वर्षाले खोला खोल्सामा बाढी निम्त्याएको छ । बाढीसँगै त्यही खोलाखोल्सी सिधै फेवातालमा मिसिएका छन् । फेवातातालमा मिसिँदा पानी मात्र नभई बगेर आएको ढुंगा, गिट्टी, बालुवा पनि तालमै पुग्दै आएको थियो । तर यो वर्ष भने ताल पुरिनेक्रममा तोरै भएपनि छेकवार लागेको छ । पानीको स्रोतको रुपमा रहेका खोला तालमा मिसिनु अगावै बनाइएको सिल्टेसन पोखरीले यो पटक सिधै बाढी पस्न भने दिएन् । बाढीले बगाएर ल्याएको सिल्ट सबै पोखरीमा जम्मा हुदाँ पुरिने अवस्था भने कम भएको छ ।  

पोखराकै फेवाताल संरक्षण गर्न समेत महानगरपालिका र गण्डकी प्रदेश सरकारको सहकार्यमा झण्डै २८ करोड रुपैयाँ खर्चिएर तालको सिरान क्षेत्रका खोलामा चारवटा सिल्टेसन पोखरी निर्माण गरिएको छ । फेवामा मिसिने हर्पन, लौरुक, बेत्यानी र अँधेरी खोलामा सिल्टेसन पोखरी बनाइएको छ । ती पोखरीले केही दिन यता परेको अविरल वर्षासँगै खोलमा आएको बाढीलाई सिधै तालमा मिसिनबाट जोगाएका छन् । महानगरपालिकाले ती पोखरी गतवर्ष मात्रै निर्माण गरेको हो । निर्माण गरिएको पोखरीबाट असार मध्यसम्म ३० हजार घनमिटर सिल्ट निकालि सकिएको पोखरा महानगरपालिका शहरी योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए ।  

‘पोखरी नबनाएको भए खोलाले बगाएको सिल्ट सिधै तालमा मिसिन्थ्यो’ उनले भने, ‘पोखरी बनेपछि त्यही थिग्रियो ।’ उनका अनुुसार वर्षातको समयमा प्रत्येक दुईदिनमा पोखरीबाट सिल्ट निकाल्दै आइएको छ । ‘खोलामा आउने बाढीले दुईदिनमै पोखरी भरिन्छ’ उनले भने, ‘दुईदिनमै पोखरीबाट सिल्ट निकाल्नुपर्छ ।’ सबैभन्दा बढी पामेस्थित खहरे खोलामा बाढी आउँछ । त्यसले बढी सिल्ट ल्याउँछ । त्यसपछि हर्पन खोलामा बाढी आउँछ । बनाइएको पोखरीमा दुईवटा १ सयमिटर लम्बाई र ५० मिटर चौडाईका छन् । दुईवटा भने केही साना छन् । महानगरपालिकाको तथ्यांक अनुसार फेवातालमा एकवर्षमा १ लाख २२ हजार घनमिटर सिल्ट जम्मा हुने गरेको छ ।  

फेवासँगै कास्कीको तेस्रो ठुलो ताल रुपाको श्रोतको खोलामा समेत सिल्टेसन पोखरी निर्माण गरिएको छ । निर्माण गरिएको पोखरीमा वर्षायाममा भने सिल्ट जम्मा हुँदा तालको सहत पुरिनबाट जोगिएको छ । ‘भिषण पानी परेसँगै खोलामा आएको बाढी सिधै तालमा मिसिएको भए आधा ताल पुरिन्थ्यो,’ रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले भने, ‘पोखरी भएकै कारण सिल्ट तालसम्म पुग्न पाएन् ।’ बाढीले तालको पानीको रुपरंगै फेरिदिएको छ । ताल हिमाम्मे जस्तो बनाईदिएको छ । बाढी पहिरो आएपनि सिल्टेसन पोखरमै माटो र गेग्रान सबै थिग्रिएको उनको भनाई थियो ।  

उनका अनुसार रुपाताल एकिकृत संरक्षण तथा विकास परियोजना शुरु भएको छ । परियोजनाले रुपा तालमा बाँध बाध्ने काम शुरु गरेको छ । ताल संरक्षणकै लागि बाँध बाँध्नु अत्याश्वयक थियो । बाँधसँगै तालमा मिसिने खोलाले वर्षायाममा बगाएर ल्याउने सिल्ट जम्मा गर्न पोखरी समेत निर्माण गरिएको छ । रुपातालको पानीको स्रोत तालबेशी खोला हो । तालवेशी खोलामा दोभन खोला समेत मिसिएर आउँछ । तालकै सिरानमा दुईवटा सिल्टेसन पोखरी निर्माण गरिएको छ । एउटा पोखरी आगामी वर्ष निर्माण पुरा हुने अध्यक्ष ढकालले सुनाए ।  

‘दुईवटा पोखरी बनिसकेका छन् । ती पोखरीले खोलाले ल्याएको सिल्ट तालमा जानबाट रोकेका छन्,’ उनले भने, ‘दुईवटा पोखरीमा जम्मा भएपछि पानी तालमा मिसिन्छ ।’ उनका अनुसार तेस्रो पोखरी समेत निर्माण गरेपछि धेरै हदसम्म ताल पुरिने क्रम रोकिन्छ । दुई वटा पोखरी एकसय मिटर लम्बाई र ५० मिटर चौडाईका छन् । खोलाको पानीको सतहबाट पोखरीको उचाई ४ मिटर अग्लो छ । ‘सिल्टेसन पोखरीले ताललाई यो वर्ष जोगाएको प्रष्ट छ,’ उनले भने, ‘अब वर्षेनी सफा गर्दै तालको आयु बचाउनुपर्नेमा ध्यान दिनुपर्छ ।’ तल सिरान तर्फ बाटो चक्ल्याउने कामले वर्षायाममा खोलाले बगाएर ल्याउने सिल्ट पोखरीमा जम्मा भएको छ । ‘तालको सतह पुरिनबाट जोगिएको छ । तर ताल संरक्षण गर्न चक्ल्याउन शुरु गरिएको बाटोलाई छिटो व्यवस्थापन गर्नुपर्छ’ होटल तथा रेष्टुरेण्ट एशोसियन लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले सुनाए । 

प्रकाशित: २१ असार २०७८ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App