१६ चैत्र २०८० शुक्रबार
समाज

रौतहटको वृन्दावनमा झडपः प्रहरीद्वारा सात राउन्ड अश्रु ग्याँस प्रहार

रौतहटको वृन्दावन नगरपालिकाको विश्रामपुरमा झडप भएको छ। प्रत्येक वडामा १५ लाख रुपैयाँको दरले महिला र प्रत्येक वडामा १५ लाखको दरले दलितको लागि बजेट विनियोजन गर्नुपर्ने तथा नगरपालिकाका प्रत्येक परिवारलाई एक सेट सिलिन्डरसहित ग्याँस चुलोको सम्पूर्ण सामग्रीको माग राख्दै आन्दोलन गरिरहेको पक्ष र प्रहरीबीच मंगलबार साँझ झडप भएको हो।

महिला अधिकारकर्मी बताउने प्रभा सिंहको नेतृत्वमा महिला तथा दलितहरु गत आइतबारदेखि नै नगरपालिकाका कार्यालय अगाडि महिला र दलितको लागि बजेटको माग राख्दै निःशुल्क ग्याँस सिलिन्डरसमेतको माग राखेर आन्दोलन गरिरहेकोमा नगरपालिकाको काम कारबाही प्रभावित हुँदै आएको थियो।

नगर प्रमुख राम सिनेही यादवले कसैले अनधिकृत रुपमा मानिसलाई उचालेर नगरपालिकाको विरुद्धमा नाराबाजी गर्दै करोडौँ रुपैयाँ माग गर्दैमा रकम दिन नसकिने बरु नपाले विधि र प्रक्रिया पुर्‍याएर सबैको अधिकार र सुविधाको लागि काम गर्ने बताउँदै आएका थिए। नगर प्रमुखले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरे पनि हाकाहाकी माग पूरा हुनुपर्ने आन्दोलनरत पक्षले बताउँदै नगरपालिकाको दैनिक कामकाज पूर्ण रुपमा अवरुद्ध पारेका थिए।

मंगलबार साँझ प्रहरीले आन्दोलनकारीलाई हटाउन खोज्दा झडप भएको हो। झडपको क्रममा आन्दोलनकारीले प्रहरीको ना १ ग ५०१ नम्बरको मिनी ट्रकमा तोडफोड गरेका छन् भने प्रहरी चौकी विश्रामपुरलाई चारैतिरबाट घेरा हाली ढुंगामुढा प्रहार गरेका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ७ राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ।

यसैबीच स्थानीयलाई उचालेर आन्दोलन गर्न लगाउने प्रभा सिंह प्रहरीले नियन्त्रणमा लिएको छ। सिंहलाई नियन्त्रणमा लिएपछि लिएपछि आन्दोलनकारी झन् उग्र बनेको थियो।

प्रकाशित: १५ असार २०७८ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App