नेपालमा कोरोना संक्रमणका कारण युवा उमेरका मानिसहरुको समेत मृत्यु भएकोले करिव २ सय बालाबलिका टुहुरो बनेको नेपाल बाल अधिकार परिषदले औल्याएको छ। सोमबार परिषदले वार्षिक प्रतिवदेन सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएको हो।
दोस्रो कोरोना संक्रमणका कारण युवा उमेरका अभिभावकको मृत्यु भएपछि करिव १२ सय जना बालबालिकाले आमा या बुबामध्ये एक जना अभिभावक गुमाएको र २ सयले आमाबुबा दुवै गुमाएकोे प्रारिम्भक तथ्यांकबाट देखिएको परिषदका कार्यकारी निर्देशक मिलन धरेलले बताए। ‘अध्ययनको प्रारिम्भक चरणमा करिव २ सय बालबालिका दुवै अविभावक गुमाएर टुहुरो बनेको अनुमानित तथ्यांक देखिन्छ’ उनले भने। यकीन तथ्यांकको लागि थप खोज तथा अनुसन्धान कार्य जारी रहेको उनको भनाइ छ। थप १० दिनभित्रमा यस्ता बालबालिकाहरुको यकीन तथ्यांक प्राप्त हुने धरेलले बताए।
कोभिड १९ का कारण टुहुरा बनेका बालबालिकाको आवश्यक संरक्षण गर्न स्थानीय तहमा पत्राचार गरेको धरेलले बताए। कोभिडका कारण टुहुरा बनेका बालबालिकालाई सरकारले परिचय सुरक्षित रहने गरी स्थायी बाल संरक्षण केन्द्रमा राख्ने व्यवस्था गर्ने निर्णय भइसकेको छ। जुन बाल–बालिकाले दुवै अभिभावक गुमाएका छन् र उनीहरुको संरक्षणको लागि नजिकका परिवारका सदस्य छैनन्, उनीहरुको हकमा स्थायी बाल संरक्षण केन्द्रमा स्तरीय व्यवस्थापन गर्ने परिषदले जनाएको छ। ‘यस्ता बालबालिकाकाले संरक्षण तथा शिक्षाको लागि सरकारले खर्च गर्छ’, उनले भने।
पहिलो लहरको तुलनामा दोस्रो लहरमा युवा उमेरकै अभिभावकको मृत्यु भएपछि धेरै बालबालिका टुहुरा हुन पुगेको परिषदले जनाएको छ। यसका साथै कोभिड १९ को कारण हालसम्म ६७ जना बालबालिकाको मृत्यु भएको तथ्यांक छ।
नेपालमा कोभिड १९ को महामारी सुरु भएपछि राष्ट्रिय बाल अधिकार परिषदले कोभिड प्रतिकार्य योजना बनाइ बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। जस अनुसार बालबालिका सुरक्षितमैत्री व्यवहार, कोभिडबाट सुरक्षित राख्ने उपाय, परिषदमा सूचीकृत बाल अस्थायी संरक्षण केन्द्र र हेल्पलाइनलाई स्वास्थ्य सामग्री प्रदान, बालबालिकाको कोभिड परीक्षण, बालमेत्री आइसोलेसन केन्द्र, समुदायमा आधारित वैकल्पिक शिक्षाको व्यवस्था गरेको जनाएको छ।
अभिभावक भएका बालबालिका ७० प्रतिशत
सहाराविहीन बालबालिकाहरुको लागि भनेर खोलिएका बालगृहरुमा नेपालमा भने धेरै जसो अभिभावक नै भएका बालबालिका बस्ने गरेको पाइएको छ। नेपालभरका ४ सय ५७ वटा बालगृहमा रहेका ७० प्रतिशत बालबालिका अभिभावकसहितका रहेको पाइएको बाल अधिकार परिषदले जनाएको छ। बाल संरक्षण केन्द्रका संचालकहरुले बालबालिका संरक्षण केन्द्रलाई व्यवसायको रुपमा अंगाल्दै गएका कारण केन्द्रमा अभिभावक बालबालिकाहरुको संख्या बढ्दै गएको राष्ट्रिय बालअधिकार परिषदले जनाएको छ। ‘बालगृह संचालन पेशा बन्यो यो बालबालिका अधिकार विपरित कार्य हो’, उनले भने।
उपत्यकाको हकमा नजिकका जिल्लाहरुबाट अभिभावकलाई प्रलोभनमा पारेर बालवालिका गृहमा ल्याउने गरेको, दुर्गम जिल्लाबाट सहरमा थोरै पैसामा पढाइ दिने प्रलोभनमा पारी लिने गरेको र कतिपय अभिभावक बिपन्न रहेका कारण बालगृहमा पठाउने गरेको पाइएको परिषदका कार्यकारी निर्देशक मिलन धरेलले बताए। ‘कतिपय बालगृहले अभिभावकबाटै राम्रो स्कुलमा पढाइ दिने भनेर १२/१५ हजार रुपैयाँ लिएको पनि पाइएको छ’, उनले भने।
परिषद्ले व्यवसायको रुपमा खुलेका बालगृहले बालबालिकाको नाममा बाह्य स्रोतहरुसंग पैसा सकंलन गरी नाफा समेत उठाउने गरेको पाइएको जनाएको छ।
यस्ता बालबालिकाहरुको अनुगमन गरी परिवारसंग पुनर्मिलन गराउने गरेको निर्देशक धरेलको दावी छ। हाल नेपालभरका ४ सय ५७ वटा बालगृहमा ११ हजार ३ सय ३२ जना बालबालिका आश्रित छन्। चालु आर्थिक वर्षमा परिषदले नागरिकताविहीन बालबालिकालाई नागरिकता दिलाउन र जन्मदर्ता नभएकाहरुको लागि जन्मदर्ताको व्यवस्था गर्न स्थानीय तहसंग समन्वय गरेको छ। आर्थिक वर्षभित्रमा १ सय २२ जना जोखिममा परेका बालबालिकाको उद्धार गरेको छ।
हालसम्ममा देशका १८ वटा स्थानमा बालहेल्पलाइन सेवा प्रदान गरेको छ। यो वर्ष ८ हजार ७ सय ९३ जना बालबालिकाले यो सेवा लिएको तथ्यांक छ। सडक बालबालिकामुक्त अभियान अन्तर्गत यो वर्षमा ३ सय ३५ जना बालबालिकाको उद्धार गरिएको परिषदले जनाएको छ।
प्रकाशित: १५ असार २०७८ १३:२० मंगलबार