४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसादलाई घुलमिल गर्न गाह्रो

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाको पारिवारिक सामाजिकीकरणमा समस्या भइरहेको छ। लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भइरहेको परिवारजनले बताएका छन् ।  

घरमा सँगै रहेका भतिजा गोपाल शर्मा तिम्सिनाले दुर्गाप्रसादको बोलीचाली र व्यवहार सुरुमा सहज भएपनि अहिले दिनदिनै जटिल बनिरहेको बताए । ‘पहिला–पहिला अधिकांश समय मानसिक रूपमा ठीक अवस्थाको बोली–व्यवहार थियो,’ गोपालले भने, ‘दिन बित्दैगएपछि उहाँको अवस्था झन्झन् असहज देखिँदैछ ।’ घरमा खाना खाने, लुगा लगाउने, सरसफाइ गर्नेलगायत काममा दुर्गाप्रसादलाई केही सातायता मानसिक हिसाबले निकै गाह्रो परिरहेको छ । ‘कुनैबेला मानसिक रूपमा उहाँ एकदम ठीक हुनुहुन्छ जस्तो बोली–व्यवहार छ, कोहीबेला उहाँकै कारण परिवारको भौतिक सुरक्षा नै जोखिममा पर्लाजस्तो खतरा पनि छ,’ गोपालले भने, ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका छन् । तर, अवस्था चाहिँ झन्झन् बिग्रिएकोजस्तो देखिन्छ ।’  

परिवारजनका अनुसार घरमा रहँदा दुर्गाप्रसाद गीत धेरै गाउँछन् । बोल्दाबोल्दै कतिबेला कस्तो शब्द फुत्किन्छ भन्ने सुइँको पाउँदैनन् । उनले घर छाडेर हिँडेपछि परिवार तत्कालीन एकतप्पा गाउँ विकास समितिबाट माई नगरपालिका–१०, लुम्बाकमा बसाइँ सरेको छ । ‘ठूलो बुबा बेला–बेला मेरो घर एकतप्पा हो, एकतप्पा नै जान्छु भन्नुहुन्छ,’ गोपालले सुनाए, ‘बेला–बेला चाहिँ मलाई जेलमै पुर्‍याइदिनू भन्नुहुन्छ ।’ दुर्गाप्रसाद घरमा आमासँग सामान्य बोलचाल गर्छन् । दिउँसो गाउँतिरसमेत डुल्छन् । घरभन्दा डेढ/दुई घन्टाको पैदल दूरीमा समेत पुग्छन् उनी । गाउँलेसँग पनि धेर–थोर बोल्छन् । तर, आफूलाई गाउँमा बस्दा अत्यन्त असहज भएजस्तो गर्छन् । परिवारले उनलाई विगतको असह्य पीडा भुलाएर सामान्य जीवनमा फर्काउन घरको सानोतिनो काम सिकाउने, अल्झाउने प्रयास गरिरहेको छ । तर, दुर्गाप्रसादले सामान्य लय समात्न नसकेको परिवारजन बताउँछन् ।  

दुर्गाप्रसाद घर आएपछि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको छ । ‘चिकित्सकले उहाँको मानसिक अवस्था ठीक छ, बिस्तारै सुधार हुन्छ भनेकाले फेरि उपचारमा लगिएको छैन,’ गोपालले भने, ‘तर, पुनः मनोचिकित्सकसँग परामर्श नगरी नहुने भइसकेको छ ।’  

दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन् । विभिन्न संघ–संस्थाको पहलमा उनलाई गत चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको हो ।  

सन् १९८१ मै जेल परेका उनको मुद्दामा कुनै सुनुवाई भएन । यसरी लामो समय जेलमै कोचिएको थाहा पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेगरी गत चैत ७ मा रिहा गरेको थियो । चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहारमात्र गर्नसक्ने रिपोर्ट दिएका थिए । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए ।  

एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) का दुर्गाप्रसाद मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । त्यसयता बेपत्ता उनी जिउँदै छन् या छैनन् भन्ने नै परिवारजनलाई थाहा थिएन । घरबाट हिँडेपछि उनी दार्जिलिङमा रोजगारी गरिरहेको अपुष्ट खबर आएको थियो । तर, दार्जिलिङमा त्यतिबेला गोर्खाल्यान्ड आन्दोलन चलिरहेकाले त्यहीं उनको मृत्यु भएको अनुमान परिवारलाई थियो ।

१० वर्षअघि दुर्गाप्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्काे मुद्दामा गत जनवरीमा जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाएका थिए । त्यसपछि उनले भारतकै वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गरेका थिए । यस्तो खबर आएपछि रेडियोले नेपालका विभिन्न संयन्त्रसँग उनको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो । जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो ।

जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको छ । १ नम्बर प्रदेश सरकारले उनको उपचार निःशुल्क गरिदिएको छ । उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको छ ।

प्रकाशित: ६ असार २०७८ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App