८ वैशाख २०८१ शनिबार
समाज

'चेन ब्रेक' गर्न सिन्धुलीमा दश दिन निषेधाज्ञा थपियो

कोरोना भाइरसको संक्रमण दर जिल्लामा बढ्दै गएको भन्दै सिन्धुलीमा १० दिन निषेधाज्ञा गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैठकले जेठ १८ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।

जिल्लामा निषेधाज्ञाको मिति २०७८ जेठ ८ गते राति १२ बजे समाप्त हुने भएकाले कोरोनाको थप संक्रमण बढ्न नदिन चेन ब्रेक गर्नुपर्ने भएकाले दश दिन निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भिम बस्नेतले जानकारी दिए। कोरोना संक्रमणको दर उच्च हुँदै गइरहेको र मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले चेन ब्रेक गर्न निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ। बैठकले कोरोना संक्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले गर्नुपर्ने भएकाले नेपाली सेनालाई आवतजावत गर्न सवारी साधनको अभाव भएकाले सबै कार्यालयले सवारी उपलब्ध गराउन निर्देशन समेत दिएको छ। 

नेपाली सेनाले शव व्यवस्थापनमा जाँदा सवारी साधनको प्रयोग गर्नुपर्ने भए पनि सेनासँग अतिरिक्त सवारी नहुँदा समस्या भएको र जिल्लामा रहेका सरकारी कार्यालय संस्थान र आयोजनाको सवारी साधन आलोपालो प्रयोग गर्न दिनुपर्ने निर्णय भएको प्रशासकीय अधिकृत बस्नेतले बताए। उनका अनुसार त्यसरी कार्यालयले पठाएका सवारी साधन डिसीसीएमसीमा राख्ने र आवश्यक परेको बेला प्रयोग गर्नुपर्ने भएकाले पालोपालो सवारी सबै कार्यालयले उपलब्ध गराउनुपर्नेछ।

कोरोना नियन्त्रणको नाममा आफूखुसी पैसा संकलन गर्ने कार्य बढेको भन्दै बैठकले गृह मन्त्रालयको पत्र अनुसार कसैले स्वेच्छिक रूपमा रकम जम्मा गरी सहयोग गर्न चाहेमा राष्ट्रिय वाणिज्य बैक सिंहदरबार शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न सबै सरोकारवालाहरूलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए।               

प्रकाशित: ८ जेष्ठ २०७८ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App