२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पले एकसय घरमा क्षति, सातजना घाईते

लम्जुङको भुलभुलेमा बुधबार बिहान गएको भूकम्पले भत्किएको घर । तस्बिरः नागरिक

बुधबार बिहान सबेरै गएको भूकम्पबाट लम्जुङमा मात्र झन्डै एकसय घरमा क्षति पुगेको छ । कास्कीमा पनि एउटा घरमा क्षति पुगेको छ । भूकम्पले घर भत्किँदा थिचिएर लम्जुङमा ६ र कास्कीमा एक गरि सातजना घाइते भएको प्रहरीले बताएको छ । क्षति भएका घरको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशका प्रहरी प्रवक्ता एसपी बिनोद सिलवालका अनुसार लमजुङको वेसिशहर नगरपालिका–१ मा एकजना वडा नं. ८ मा दुईजना, मस्र्याङदी गाउँपालिका–५ मा एकजना, वडा नं. ६ मा एकजना र दोर्दी गाउँपालिका–७ मा एकजना गरी ६ जना घाइते भएका छन् । त्यस्तै कास्कीको रुपा गाउँपालिका–३ मा पनि एकजना घाईते भएका छन । भूकम्प आएको बेला भाग्ने क्रममा उनलाई चोट लागेको हो ।  

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको थापाले बताए ।

डिएसपी थापाका अनुसार लम्जुङ सदरमुकाम बेशीसहर सहित आसपासका सबैजसो स्थानीय तहका घरमा क्षति पुगेको छ । ‘गाउँगाउँमा घर भत्केका छन् । मानवीय क्षति भने हुन पाएन,’ उनले भने । थापाका अनुसार क्षति पुगेका मध्ये अधिकांश घरको आधाजसो गाह्रो भत्केर बस्नै नहुने भएका छन् । धेरै घरको भित्ता चर्केको छ । ‘वर्षा लागे झै यहीबेला पानी परिरहेको छ । कोरोनाको त्रास पनि उत्तिकै छ,’ थापाले भने, ‘यही बेलामा भूकम्प जाँदा झनै बढी अप्ठेरो पारेको छ ।’  

उनका अनुसार भूकम्पले भत्किएका घरका बासिन्दालाई बसोबासका लागि टेन्ट वितरण गरिएको छ । बुधबार मात्र ३५ घरका बासिन्दाका लागि रेडक्रसमार्फत टेन्ट पनि वितरण गरिसकेको डिएसपी थापाले जानकारी दिए । अपुग घरका बासिन्दाका लागि विहीबार पनि पोखराबाट टेन्ट मगाएर उपलब्ध गराउने उनले बताए ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको पहिलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यही भूकम्पमा परेर केन्द्रबीन्दु् आसपासका केही घरमा क्षति पुगेको लम्जुङ प्रहरीले बताएको छ । बिहान ८ बजेर २६ मिनेटमा भुलभुले नै केन्द्र बनेर ५.३ म्याग्नेच्युडको दोश्रोपटक भूकम्प गएको थियो ।

भूकम्पको धक्का लम्जुङ सहित आसपासका मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो । बिहानैको समयमा भूकम्प गएकोले सर्वसाधारण भागाभाग गरेका थिए । लम्जुङमा भने पहिलो भूकम्पपछि केही परकम्प आएको स्थानीयले बताएका छन् । कोरोना भाइरस त्रासका कारण घरबाहिर पनि निस्कन नपाएका स्थानीयलाई भूकम्पपछि भागदौड मच्चिँदा झनै त्रास भएको थियो ।

प्रकाशित: ५ जेष्ठ २०७८ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App