coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

व्यवसायीले दिए आइसाेलेसनका लागि दुईवटा भवन निःशुल्क

जिल्लाका अन्य स्थानीय तहहरुले आइसाेलेसन निर्माण गरेपनि घोराही उपमहानगरपालिकाले भने आइसाेलेसन निर्माण गरेन । कोरोना महामारीका बेला समेत स्थानीय सरकार सुतेको भन्दै उपमहानगरको तीव्र आलोचना भयो । घोराहीमा आइसाेलेसन अति आवश्यक महशुस स्थानीयले गरे । फलतः एक ब्यवसायीले आइसाेलेसन निर्माणका लाग आफ्नो घर निःशुल्क रुपमा प्रयोग गर्न दिएका छन् । घोराहीका भोजराज अधिकारीले तीनवटा हल कोठासहित २३ कोठाका दुईवटा भवन आइसाेलेसका रुपमा निःशुल्क प्रयोग गर्न दिएका हुन् । 

‘मान्छे उपचार नपाएर मर्नु पर्ने अवस्था आउन थाल्यो, यो बेला हामी सबैमा मानवता जाग्नु पर्छ,’ अधिकारीले भने ‘यो बेलामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउनका लागि घर उपलब्ध गराएको हुँ ।’ उनका अनुसार १३ कोठा रहेको एउटा भवन र १० कोठा रहेको अर्को भवन प्रयोग गर्न दिईएको हो ।

यि दुई भवनमा दुईवटा कार्यक्रम हलहरु समेत छन् । ६ कठ्ठा जग्गा समेत रहेको यि घरको कम्पाउण्डमा थप कोठा आवश्यक परे स्थायी संरचना समेत गर्न सकिने छ । ‘तीनवटा हलसहित २३ कोठा भएका दुईवटा भवनमा बिरामीहरु राख्न पुग्छ,’ अधिकारीले भने ‘तैपनि ठाउँ अभाव भयो भने अस्थायी संरचना निर्माण गर्न सकिने ठाउँ पनि प्रशस्तै छ ।’ अधिकारीले कोरोना संक्रमण नरोकिँदा सम्म ति दुई भवन आइसाेलेसनका रुपमा निःशुल्क प्रयोग गर्न दिने बताएका छन् ।

अधिकारीले निःशुल्क उपलब्ध गराएको घरमा आइसाेलेसन सञ्चालनका लागि काम भैरहेको छ । आइसाेलेसन सञ्चालनको नेतृत्व घोराही उपमहानगरपालिकाले गर्ने भएको छ । उपमहानगरले यो आइसाेलेसनमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्ने भएको छ ।  

यसैगरि आइसाेलेसन सञ्चालनका लागि अन्य सामाजिक संघसंस्थाहरुले समेत सहयोग गर्ने भएका छन् । ‘घोराही उपमहानगरपालिकाले आइसाेलेसनको जिम्मा लिएको छ भने यसमा अन्य विभिन्न संघसंस्थाहरुको पनि सहयोग रहने छ,’घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले भने, ‘अधिकारी ज्यूले निःशुलक उपलब्ध गराएका दुईवटा भवनमा आइसाेलेसन सञ्चालनका लागि काम सुरु भैसकेको छ ।’ उनका अनुसार काठमााडौँबाट अक्सिजन ल्याउनका लागि पहल भैरहेको र अक्सिजन आपूर्ति हुनासाथ आइसाेलेसन सञ्चालन हुने वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।

प्रकाशित: १ जेष्ठ २०७८ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App