उनीहरूले यसो भन्नुका पछाडिको कारण हो, जमिन कमजोर भएका ठाउँमा बढेको बस्ती। अर्मलामा धान काटेर खाली भएका खेतका गरा भासिरहँदा पोखरामा कमजोर धरातल भएका क्षेत्रमा धमाधम पक्की भवन बनिरहेका छन्। जहाँजहाँ जोखिमपूर्ण छ, त्यहीँ बाक्लो बस्ती बढ्दो छ।
खानी तथा भूगर्भ विभागले सन् १९९८ मा जर्मन संस्थासँग मिलेर गरेको अध्ययनले पोखरा र आसपासका धेरै क्षेत्रलाई भौगोलिक दृष्टिले जोखिमपूर्ण किटान गरेको थियो। जोखिमपूर्ण भनिएका ती क्षेत्रमा अग्ला भवन बनाउनै नहुने विभागले उतिबेलै सुझाएको थियो।
पोखरा उपमहानगरपालिकामा गएका ५/७ वर्षदेखि सबैभन्दा बढी घर निर्माण भएको वडा हो, १७। यो वडा त्यही हो, जहाँको भूगर्भ कमजोर रहेको १५ वर्षअघि विभागका अनुसन्धानकर्ताले पत्ता लगाएका थिए। विभागले पोखरा नजिकैका मिर्सा, घाचोक, लाहाचोक, हेम्जा, पुरन्चौर, लामाचौर, भलामखोला, कालिखोला, अर्मला जोखिमपूर्ण क्षेत्र किटान गरेको थियो। पोखराका सबैभन्दा चल्तीका व्यापारिक केन्द्र चिप्लेढुंगा, महेन्द्रपुल र न्युरोडलाई पनि विभागले खतरापूर्ण भनेको थियो। यी ठाउँमा यति बाक्लो बस्ती छ, नयाँ बनाउनलाई कताकति मात्रै ठाउँ बाँकी छन्।
जोखिमपूर्ण क्षेत्रका रूपमा पहिल्याइएको पोखरा–१७, को छोरेपाटन, बिरौटा क्षेत्रमा मात्र अहिलेसम्म ४ हजार १ सय ८६ घर बनेका छन्। यी सबै घर २०४४ पछि बनेका हुन्। यो क्षेत्र जोखिमपूर्ण रहेको भन्ने २०५५ मै यकिन भइसकेको थियो। त्यसयता मात्र ३ हजार घर थपिएका छन्। पोखराका १८ वडामध्ये केही वर्षयता सबैभन्दा बढी घर यही क्षेत्रमा थपिएको पोखरा उपमहानगरपालिकाको तथ्यांक छ।
आफैंमा कमजोर धरातल भएको छोरेपाटनमा त गुफामाथि नै घर बनेका छन्। डेभिजफल छेवैको गुप्तेश्वर गुफाबाहिरको सतह घरैघरले भरिएको छ। त्यही गुफाको आम्दानीले चलाउने भनेर स्थानीयले केही वर्षअघि मात्रै क्याम्पस सुरु गरेका छन्।
२०६९/७० मा पोखराका १८ वडाभरि २ हजार ८ सय ५४ घर बनेकामा पोखरा–१७ मा सर्वाधिक ४ सय ९० घर ठडिए। अन्त भने त्यसको आधा पनि बनेका छैनन्। त्यसअघिको वर्षमा २ हजार ६ सय ४२ घर निर्माण सम्पन्न हुँदा पोखरा–१७ मा मात्रै सबैभन्दा बढी ४ सय ८२ घर बनेका थिए। त्यो वर्ष पनि अरू वडामा भने त्यसको आधा पनि निर्माण भएका छैनन्। त्यस्तै वडा नम्बर १७ पछि सबैभन्दा धेरै घर वडा नम्बर ८ मा २ सय ८ बनेका छन्। वडा नम्बर ५ मा १ सय ८७ घर बने। यी दुवै कमजोर धरातल भएका ठाउँ हुन्।
विभागका भूगर्भविद् लीलानाथ रिमाल खतराजन्य किटान भएका क्षेत्रमा विकास निर्माण गर्दा र अग्ला घर बनाउँदा सचेत हुनुपर्ने बताउँछन्।
'खतराजन्य ठाउँमा घर, कुलो, बाटो बनाउँदासमेत विशेष ध्यान दिनुपर्छ। विस्तृत अध्ययन नगरी पूर्वाधार बनाउनु उचित छैन,' डेढ दशकअघि पोखराको जोखिम नक्सा निर्माण टोलीका सदस्यसमेत रहेका भूगर्भविद् रिमालले नागरिकसँग भने, 'व्यापारको लोभमा जोखिमपूर्ण क्षेत्रमा पनि अग्ला घर बनेका छन्। यो सुरक्षित छैन। ठूलो पिलर ठड्याउँदैमा घर बलियो हुने होइन।'
पर्यटक आकर्षित गर्न छोरेपाटनको डेभिजफल्स लगायत क्षेत्रमा पूर्वाधार बनाइए पनि त्यो क्षेत्र सुरक्षित नरहेको उनले बताए। 'डेभिजफल्सको दायाँबायाँ २५–२५ मिटरभित्र यस्ता पूर्वाधार बनाउनै हुँदैन। भौगर्भिक दृष्टिले यो क्षेत्र निकै जोखिमपूर्ण छ। जमिनको भित्रैसम्म खोक्रो परेकाले पूर्वाधार बनाउनु खतरा छ,' रिमालले भने, 'बनाउनै परे पनि विस्तृत अध्ययन गरेर धेरै गहिरैदेखि संरचना बनाएरमात्र पूर्वाधार थप्न सकिन्छ।' जोखिमपूर्ण क्षेत्रमा अहिले झनै धेरै घर बनिरहेको उनले बताए।
रिमालका अनुसार फेवातालबाट भित्रभित्रै छिरेको पानीको निकास निकै तल रहेकाले पनि यो क्षेत्र बढी जोखिमपूर्ण देखिन्छ। कमजोर धरातल भएका ठाउँमा त घर तथा भवन बनाउनै प्रतिबन्ध लगाउनुपर्ने भूगोलविद् कृष्ण केसी बताउँछन्।
पृथ्वीनारायण क्याम्पस, भूगोल विभागका पूर्व प्रमुख केसी भूगर्भ विभाग र जर्मन संस्थाको अध्ययन टोलीका सदस्य थिए। केसीले भने, 'पोखराको वडा नम्बर १७ का छोरेपाटन र बिरौटा जोखिमपूर्ण ठाउँमा छन्। त्यहाँ जसरी संरचना बनाउनुपर्थ्यो, त्यसरी बनाइएको छैन।'
त्यसो त अनुसन्धानपछि भूगर्भ विभागले सेती नदीका दुवै किनारामा २५–२५ मिटर छाडेरमात्र संचरना बनाउन सकिने सुझाएको थियो। पोखरा उपत्यका नगर विकास समितिले विभागको २५ मिटरको प्रावधान बेवास्ता गर्दै घर बनाउँदा दायाँबायाँ ५–५ मिटरमात्र छाड्नुपर्ने प्रावधान बनायो। स्थानीयले त्यही ५ मिटरको प्रावधान पनि पालना गरेका छैनन् ।
अहिले भासिएको अर्मला खेतीका लागिमात्र उपयुक्त रहेको विभागको अध्ययनले देखाएको थियो। 'अर्मला सुख्खा खेतीका लागि मात्र उपयुक्त ठाउँ हो,' रिमालले भने, 'अर्मलामा अहिल्यै यस्तो होला भन्ने सोचेका थिएनांै। सोच्दै नसोचेको भयो।'
पोखरा उपमहानगरपालिकाका इन्जिनियर शारदामोहन काफ्ले समथर जमिनको खेतीयोग्य फाँट परेकाले पनि पोखरा–१७ मा बढी घर बनेको बताउँछन्। ...सबै क्षेत्र जोखिम होइन। जोखिम किटान भएको क्षेत्रसँगैको फाँटमा धेरै घर थपिएका हुन्,' काफ्लेले भने, ...खेतमा बस्ती बढेको बढ्यै छ।'
स्थानीय निकायको निर्वाचन नभएकाले पनि नगरपालिकाले सोचेजस्तो काम गर्न नसक्दा व्यक्तिगत हेलचेक्र्याइँ बढेको काफ्लेले बताए। 'नगरपालिकाको पनि केही कमजोरी होला। घर बनाउने बेला खतरा मोल्ने कि नमोल्ने भन्नेमा आफैंले सोच्ने हो,' उनले भने। उनले कमजोर धरातल भएकै मानेर १७ र ६ नम्बर वडामा अन्तको भन्दा होचा घर बनाउनमात्रै नगरपालिकाले स्वीकृति दिने गरेको बताए।
उनका अनुसार ती वडामा बढीमा २५ फिट र अन्त ३५ फिट अग्ला घर बनाउन पाइन्छ। पोखरा उपत्यका नगर विकास समितिले मापदण्ड तोक्ने र नगरपालिकाले लागु गराउने चलन छ। तर, पटकपटक भ्वाङ पर्ने गरेको न्युरोड क्षेत्रमा भने मापदण्डभन्दा अग्ला भवन तथा घर बनिरहेका छन्। भूगर्भ कमजोर भएको जान्दाजान्दै फराकिलो सडकको लोभमा निजी क्षेत्रले न्युरोडलाई ठूला कर्पाेरेट र कम्लेक्स भवनको केन्द्र बनाउँदै लगेको छ। स्थानीय निकायमा जनप्रतिनिधि नभएको मौका छोपेर मापदण्डभन्दा अग्ला भवन बनाउने त छन् नै, गुप्तेश्वर गुफामाथि घर बनाउने कतिपयले नगरपालिकाबाट नक्सा पास गराएकै छैनन्। गुफामाथि भए पनि निजी जग्गा भएकाले घर बनाउन रोक्न नसकेको काफ्ले बताउँछन्।
जोखिमपूर्ण किटान भएको क्षेत्रका बासिन्दा नगरपालिकाको बेवास्ताले जथाभावी संरचना खडा भइरहेको बताउँछन्। अग्ला घर बनाइए पनि नगरपालिकाबाट सम्पन्नताको प्रमाणपत्र नलिएको उनीहरूको भनाइ छ।
'नगरपालिकाले बनाउन नदिने भनेपछि सुरुमा एकतलाको घरमात्र बनाएको थिएँ। पछि आडैमा चारतलाको भवन बन्यो। अनि मैले पनि दोस्रो तला थपेँ,' जोखिमपूर्ण क्षेत्र भनिएको डेभिजफल्स अगाडिका श्याम श्रेष्ठले भने, 'सुरुमै कडाइ गर्नुपर्ने हो। नगरपालिकाले नै हेलचेक्र्याइँ गरेकाले सबैको मनोबल बढेको छ।'
आफ्नो घर जोखिमपूर्ण क्षेत्रमा रहेको भन्ने जानकारी हुँदाहुँदै बनाएको उनले बताए। 'यहाँ खतरा छ भन्ने थाहा छ। वर्षाद्का बेला पानीको सतह बढ्यो भने डर लाग्छ,' उनले भने।
प्रकाशित: २२ मंसिर २०७० २१:२६ शनिबार





