१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

आइसोलेशन निर्माणको तयारीमा जुट्दै जनप्रतिनिधि

धादिङका स्थानीय तहमा निर्माण गरिएको अक्सिजनसहितको आइसोेलेसन ।

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसंगै धादिङका स्थानीय तहले आइसोलेशन निर्माणमा जुटेका छन् । देशका विभिन्न स्थानका अस्पतालमा वेड र अक्सिजन सुविधा नपाउँदा दिनहुँ कोरोना संक्रमित बिरामीको मृत्यु हुन थालेपछि अक्सिजनसहितको आइसोलेशन तयार गरेका हुन् । हालसम्म १३ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तहले आफ्नो सेवा क्षेत्रभित्र आइसोलेशन निर्माण गरिरहेका छन् । आइसोलेशनसँगै कोरोना संक्रमित बिरामी बोक्न छुट्टै एम्बुलेन्स समेत व्यवस्थापन गरेका छन् ।  

धादिङ अस्पतालले सदरमुकाम धादिङबेसीमा अस्थायी कोभिड अस्पताल स्थापना गरी ५० वेडको अक्सिजन सहित आइसोलेसन संचालन गरिरहेको छ । बेनिघाट रोराङ गाउँपालिकाले मलेखुमा अक्सिजनसहित २० बेड, महादेवस्थान स्वास्थ्य चौकीमा दुई, चरौदी आधारभुत स्वास्थ्य केन्द्रमा २, वेनिघाट स्वास्थ्य चौकीमा दुई र जोगिमारा स्थास्थ्य चौकीमा दुई गरी २८ बेडको अक्सिजन सहितको आइसोलेसन तयार पारेको वेनिघाट राराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरमणि दुवाडीले बताए ।

कोरोना संक्रमणले पालिकाभित्र भयावह स्थिति आइपरे आफैले प्रयोग गरेको गाडीलाई समेत एम्बसलेन्सको रुपमा प्रयोग गर्न तयार रहेको गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी ‘हरी’ले बताए । ‘कोरोना संक्रमण बढ्दो छ, त्यसैले अक्सिजन सहितको आइसोलेसन तयारी अवस्थामा राखेका छौँ,’ अध्यक्ष डल्लाकोटीले भने, ‘कोरोना संक्रमित बिरामी बोक्नका लागि एक ओटा एम्बुलेन्स समेत तयारी अवस्थामा राखेका छौँ ।’

गजुरी गाउँपालिकाले गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा १०, मलेखु टिचिङ अस्पतालमा पाँच र आइसोलेसन केन्द्र आदमघाटमा अक्सिजन सहित पाँच वेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । गजुरी–४ चिउरीखर्कमा पनि पाँच वेडको आइसोलेसन स्थापना गरी तयारी अस्वस्थामा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरी रेग्मीले जानकारी दिए । गजुरीले तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको र गलौदीस्थित कभर्ड हलमा १० वेडको आइसोलेसन निर्माण गरिएको रेग्मीले बताए ।  

त्यसैगरी गल्छी गाउँपालिकाले नमूना बागेश्वरी क्याम्पसमा २०, अस्थायी कोभिड अस्पताल गल्छीमा पाँच र बुढिगण्डकी जनरल अस्पतालमा १५ वेडको आइसोलेसन निर्माण गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य सह संयोजक शिव पौडेलले जानकारी दिए । थाक्रे गाउँपालिकाले महाकाली क्याम्पस सिम्लेमा दुई वटा एम्बुलेन्स सहित पाँच वेडको आइसोलेसन निर्माण गरेको छ ।  

धादिङको उत्तरी भेगमा पर्ने खनियाबास गाउँपालिकाले दार्खामा पाँच वेड र नेत्रावती डबजोङ गाउँपालिकाले पाँच वेडको अस्थायी कोभिड अस्पताल स्थापना गरेको छ । त्यसैगरी गंगाजमुना गाउँपालिकाले ग्रामीण अस्पताल फुलखर्कमा पाँच वेडको आइसोलेसन सेन्टर स्थापना गरी तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिए । त्रिपुरासुन्दरी गाउँपालिकाले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहित १५ वेडको आइसोलेसन निर्माण गरेको छ । कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको गाउँपालिकाले जनाएको छ ।  

ज्वालामुखी गाउँपालिकाले अमराइमा अस्थाई कोभिड अस्पताल निर्माण गरी अक्सिजन सहित ५ वेडको आइसोलेसन वेड तयार पारेको छ । त्यस्तै सिद्धलेक गाउँपालिकाले फिसटारमा अक्सिजन सहित १५ वेडको आइसोलेसन वेड तयार गरेको छ ।  धुनिवेसी नगरपालिकामा २० वेडको आइसोलेसन सेन्टर निर्माण कार्य भइरहेको छ । विकटमा पर्ने रुवीभ्याली गाउँपालिकामा भने सम्पर्क हुन सकेन ।  

हालसम्म जिल्लाभित्र सक्रिय संक्रमितको संख्या ४ सय ४० जना पुगेको छ । जिल्ला बाहिर १ सय ७९ जना गरी जम्मा छ सय १९ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय धादिङका केश इन्भेस्टिकेशन एण्ड कन्ट्रयाकट्रेसिङ सहजकर्ता उन्नती महर्जनले जानकारी दिइन् । शनिबार साँझसम्म जिल्ला भित्र र बाहिर गरी सक्रिय संक्रमितको संख्या ६ सय १९ पुगेको छ । सदरमुकाममा रहेको अस्थायी कोभिड अस्पतालमा ३३ जना, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना र मलेखु टिचिङ अस्पतालको आइसोलेसनमा ३ जनाको उपचार भइरहेको छ भने बाँकी संक्रमितहरु होम आइसोलेसनमै छन् ।  

प्रकाशित: २६ वैशाख २०७८ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App