सोलुखुम्बु— सोलुखुम्बु जिल्लाको देउसा गाबिसमा अखिल क्रान्तिकारी कार्यकर्ता रश्मी राई मृत अवस्थामा फेला परेकी छिन्। देउसा ७ स्थायी घर भएकी २१ वर्षिय राई मृत अवस्थामा आज बर्खु खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रनाउ बद्री बिक्रम थापाका अनुसार मृतकको टाउकोमा गम्भीर चोट छ। उनी रणमान राईकी छोरी रहेको बुझिएको छ। यता एमाओबादीले भने आफ्ना कार्यकता रहेकी राईलाई कांग्रेस कार्यकर्ताले राति आक्रमण गरी हत्या गरेको आरोप लगाएको छ। एमाओबादीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गएराति माओवादी समर्थित डिल्लिसेर राईको घरमा सुतिरहेकी अखिल क्रान्तिकारीको सदस्य समेत रहेकी राईलाई घर घेरा हाली आक्रमण गर्नुका साथै लखेटेर हत्या गरेको आरोप लगाएको हो।
नेपाली कांग्रेसले भने आरोपमा कुनै सत्यता नभएको बताएको छ। कांग्रेस जिल्ला सभापति आङगेलु शेर्पाले उक्त आरोपमा कुनै सत्यता नभएको बताए।
कांग्रेस नेतामाथि आक्रमण
नेपाली कांग्रेस सोलुखुम्बु देउसा गाबिसका नेत तथा पूव गाविस अध्यक्ष सोम्बारिन्जी राई सहित उनको परिवारलाई एक अज्ञात समुहले आक्रमण गरी घाइते बनाएको छ। हिजो साँझ करिब साँढे ६ बजे देउसा ८ स्थीत आफ्नै घरमा पारिवारिक छलफलमा रहेका बेला राई सहित उनको छोरा कपिल कुमार राई, भाई बुद्धिमान राई, भुपाल ध्वज राई, बहिनी अमृता राई लगायतलाई ६ जना नकाबधारी समुहले आक्रमण गरेको हो। कांग्रेसले घटनामा एमाओबादीको संलग्नता रहेको आरोप लगाएको छ।
प्रकाशित: २८ कार्तिक २०७० ०७:१७ बिहीबार