२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैलालीमा अक्सिजनको कालोबजारी

फाइल तस्बिर

सुदूरपश्चिममा अक्सिजनको चरम अभाव भएपछि प्रहरीले विभिन्न उद्योगहरुमा छापा मारेको छ।  नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै अत्यावश्यक अक्सिजनको कृत्रिम अभाव भएको गुनासो आएपछि प्रहरीले दुई उद्योगमा छापा मारेको हो। प्रहरीले धनगढीस्थित अमित ड्रग्स हाउस र मालिका उद्योगमा छापा मारेको जनाएको छ।

बुधवार बिहान सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा वाणिज्य कार्यालय, प्रहरी सहितको अनुगमन टोलीले ती दुई उद्योगमा छापा मारेको हो । टोलीले ५० वटा भरिएका सिलिण्डर र १० खाली सिलिण्डर फेला पारेको प्रहरीले जनाएको छ।

कैलालीका प्रहरी उपरिक्षक अनुप शमशेर जवराले सुदूरपश्चिमको एकमात्र अक्सिजन उत्पादन गर्ने मालिका उद्योगले सेती प्रादेशिक अस्पतालसँग सम्झौता गरेअनुसारको अक्जिन आपूर्ति गर्न नसकेको देखिएको बताए । ‘एक दिनमा १ सय ८० अक्सिजन सिलिण्डर क्षमता छ भन्दै आवश्यक अक्सिजन सिलिण्डर ४ सयका दरले उपलब्ध गराउने गरी मालिका उद्योगका संचालकले सम्झौता गरेको हो’ सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.हेमराज पाण्डेयले भने । पहिले उद्योगले भनेजति नियमित पठाउने गरे पनि हाल कोरोना संक्रमणको दोश्रो लहर फैलिएपछि बैशाख महिनामा दिनको १ सय अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउने भनेकोमा अहिले फाटफुट मात्र उपलब्ध गराइरहेको उनले बताए।

सोही कारण पनि प्रहरीले अनुगमन गरेको बताउँदै प्रहरी उपरीक्षक जवराले हाल ६०, ७० सिलिण्डर मात्र उत्पादन भएको बताए । ‘उद्योगमा कति सिलिण्डर अक्सिजन उत्पादन हुन्छ ? अक्सिजन सिलिण्डर कहाँकहाँ जान्छ भनेर बुझ्न २४ घण्टा प्रहरीलाई त्यहाँ खटाएको छ ।’ उनले भने।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अस्पतालको सिफारिसबिना व्यक्तिलाई अक्सिजन सिलिण्डर नदिन, कोभिड बेड संख्याको आधारमा प्राथमिकताका आधारमा अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन उद्योग संचालकलाई निर्देश गरेको बताए।

नेपाल उद्योग वाणिज्य सँघ कैलालीका उपाध्यक्ष पुष्कर ओझा भएजतिका सबै खाली सिलिण्डर नै बजारमा नभेट्टिएको बताए । ‘पहिले भएका जति खाली सिलिण्डर भेटिएका छैनन् । मार्केटमा खाली सिलिण्डरको नै अभाव भएकाले कालोबजारीको आशंका देखिएको छ’ उनले भने, ‘घर घरमा राखिएको र खुला सिमानाका कारण भारततिर समेत अक्सिजन सिलिण्डर गएको हुनसक्छ ।’  

अक्सिजन नपाएर ज्यान गैरहेको संकटका वेला अक्सिजन सिलिण्डरको कालोबजारी गर्नु अपराध भएको नागरिक समाजका अगुवा प्रमोद पाठक बताउँछन् । ‘छानबिन गरेर कालोबजारी गर्नेलाई कडा कारवाही गरिनुपर्छ’उनले भने।

प्रकाशित: २२ वैशाख २०७८ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App