१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अक्सिजनको अभावले संक्रमितलाई बचाउन धौधौ

फाइल तस्बिर

दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ भएका छन्। अक्सिजनको सपोर्ट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव सृजना भएको छ। अक्सिजन नपाएर कयौ संक्रमितको ज्यान गएको छ। छट्पटाईरहेका संक्रमितहरुको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका छन्। 

अक्सिजनका सिलिण्डर आएका वेला संक्रमितका आफन्तहरुको लुछाचुडी हुने गरेको छ। भने अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भएपछि अक्सिजनका लागी संक्रमितका आफन्तले सोर्सफोर्स तथा सवैतिर याचना गर्ने गरेका छन्। ‘अक्सिजनको अभाव छ, राती १२, १ बजे पनि अक्सिजन खोजिदिनु पर्यो भनेर फोन आउने गरेका छन्’, जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले अक्सिजनको अभावले उत्पन्न अवस्थाबारे भने,‘अक्सिजनको अभाव हटाएर संक्रमितलाई अक्सिजन सहज बनाउन हामी लागिरहेका छौ।’  

सुदूरपश्चिमको सवैभन्दा ठूलो मानिएको सेती प्रादेशिक अस्पतालमा जडान भएको अक्सिजन प्लान्ट चौविस घण्टामा जम्मा ७५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको छ। बिद्युतको गडवडी लगायतले अहिले ५५ , ६० सिलिण्डर मात्र उत्पादन भैरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन्। सेती प्रादेशिक अस्पतालमा अहिले दिनहुँ डेढ सय जति अक्सिजन सिलिण्डर आवश्यक रहेको उनले बताए। यसैगरि महाकाली प्रादेशिक अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको क्षमता २४ घण्टामा १२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने मात्र रहेको अस्पातलका मेडिकल सुपरिटेण्डेण्ट हरि श्रेष्ठले बताएका छन्। ‘हामीलाई अस्पतालमा कम्तीमा प्रत्येक दिन ४०, ५० सिलिण्डर अक्सिजन चाहिन्छ’ उनले भने,‘संक्रमितको चाप बढेमा अझै बढी खपत हुन्छ।’

यसैगरि डडेल्धुरा अस्पताल, टीकापुर अस्पताल लगायतमा पनि अक्सिजनको कमी छ। सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लामा अहिले सम्म अक्सिजनको सर्पोटमा उपचार गर्न नै शुरु गरिएको छैन।

सुदूरपश्चिम भरिमा एकमात्र निजी ग्यास उद्योग रहेको छ। निजी उद्योगले पनि ७०, ८० मात्र अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराईरहेको छ। नेपालगंजबाट पनि आवश्यकता अनुसार अक्सिजन सिलिण्डर नआएकोले समस्या भएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दुर्गा जोशीले बताएका छन्।‘अक्सिजनको धेरै समस्या भएको छ’, उनले भने,‘अक्सिजन नपाएर बिरामी छट्पटाईरहेका छन्।’ प्रदेश सरकारले तदारुकताका साथ काम नगर्नाले समस्या भैरहेको उनी बताउँछन्। सुदूरपश्चिममा दिनहुँ ५ सय अक्सिजन सिलिण्डर खपत रहेको उनी बताउँछन्। वाँकेमा रहेको उद्योगले पनि अहिले कम अक्सिजन सिलिण्डर आपुर्ती गर्ने र सुदूरपश्चिममा उत्पादन नै कम भएकाले अक्सिजनको ठूलो समस्या भएको उनले बताए।  

खाली सिलिण्डरको नै अभाव  

अक्सिजनका खाली सिलिण्डरको नै अभाव भएको छ। डेढ सय अक्सिजन सिलिण्डर खपत हुने ठाउँमा ३ सय सिलिण्डर आवश्यक पर्छ। सेती प्रादेशिक अस्पतालमा जम्मा १ सय १० पुराना र अहिले नयाँ ३५ किनेको सूचना अधिकारी श्रेष्ठ बताउँछन्। भेरिवाट अक्सिजन सिलिण्डरको संख्या बढाउन पहल भैरहेको प्रजिअ रिजालले बताएका छन्। सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले कोरोना संक्रमणको अहिलको अवस्था असमान्य रहेकोले क्षमता अभाव भएको बताए। ‘अहिलेको असमान्य अवस्था हो, हामी क्षमता विस्तार गर्नमा लागीरहेका छौं’उनले भने। अक्जिन सिलिण्डरको अभाव रहेकाले सिलिण्डर खरिद गर्ने प्रक्रिया थालिएको उनले बताए।  

सेती प्रादेशिक अस्पतालका कोराना उपचार बिभाग प्रमुख डा. शेरबहादुर कमरले निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने, अक्सिजन कम हुने लगायतका लक्षण भएका अस्पतालमै राखेर उपचार गराउनु पर्ने जटिल संक्रमितहरुको संख्या बढी भएकाले संक्रमितको उपचारका लागी अक्सिजन अनिवार्य हुनुपर्ने बताए। पहिलेको भन्दा शक्तीशाली नयाँ भेरियन्टको कोराना भएकाले अस्पताल आएका प्राय सवैजसो संक्रमितलाई अक्सिजनको सपोर्ट चाहिने उनले बताए।

अहिले शुरुवाती अवस्थामै संक्रमितले बेड नपाउने, अक्सिजन नपाउने अवस्था आएकोमा चिन्ता गर्दै उनी संक्रमण बढेपछि कल्पना गरे भन्दा जटिल अवस्था हुने संकेत देखिएको बताउछन्। ‘अहिले शुरुवातमै यस्तो समस्या देखिदैछ, पिगमा पुग्नु वाँकी छ, दुई चार महिना हताहती हुने संख्या धेरै हुन सक्छ’उनले भने,‘अक्सिजन लगायतको श्राधनश्रोत, बेडको समस्या हुन नदिन ध्यान दिइनु पर्छ ’

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुृसार सुदूरपश्चिम प्रदेशमा ४ हजार १ सय ६५ सक्रिय संक्रमित रहेका छन्। सवैभन्दा कैलालीमा १९ सय ३८ सक्रिय संक्रमित छन्। भने कंचनपुरमा ८ सय ९५ सक्रिय संक्रमित रहेका छन्। सुदूरपश्चिममा कोरोना संक्रमणको दोश्रो लहर चलेपछि बैशाख महिनामा मात्र ७५ जनाको ज्यान गएको छ। अहिले सम्म जम्मा १ सय ३२ जनाको मृत्यु भएको छ।

प्रकाशित: २१ वैशाख २०७८ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App