१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

मेडिकल कलेजमा संक्रमितको चाप बढ्यो, अक्सिजनसहितको बेड अभाव

कोरोना संक्रमितलाई बचाउन शिक्षण अस्पताल कोहलपुरको बाहिरबाट अक्सिजन सिलिण्डर लैजादै ।तस्बिर :नागरिक

कोरोना संक्रमितको उपचार गरिरहेको नेपालगन्ज मेडिकल कलेजले कोभिड वार्डलाई विस्तार गरेर चाडै ३ सय बेडमा पुर्याउन लागेको कुरा सार्वजनिक गर्यो । कलेजले आफ्नो योजना सार्वजनिक गर्दै भन्यो, ‘मेडिकल कलेजमा आउने कुनैपनि कोभिडका बिरामी भर्ना हुन नपाएर अब फिर्ता जानुपर्ने छैन ।’

मेडिकल कलेजले अक्सिजन सहितको वार्ड विस्तार गर्न लागेको सुखद खबरले कोरोना संक्रमणबाट छट्पटाई रहेका धेरैले राहत महसुस गरे । त्यसपछि बाँकेसहित दाङ, बर्दिया, कैलाली, सुर्खेत लगायत जिल्लाबाट संक्रमितहरु मेडिकल कलेजमा पुग्न थाले । जिल्ला बाहिरका अस्पतालले पनि गम्भिर खालका संक्रमितलाई थप उपचारका लागि धमाधम मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमै रेफर गरे ।  

मेडिकल कलेजमा कोरोना संक्रमितको चाप यसरी बढ्यो कि अहिले शिक्षण अस्पतालले थेग्नै सकेको छैन । मेडिकल कलेज प्रशासनका अनुसार शुक्रबारसम्म शिक्षण अस्पताल कोहलपुरमा १ सय ४ जना संक्रमित भर्ना भएका  छन् । तर, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको रेर्कड अनुसार उक्त अस्पतालको कोभिड वार्डमा हाल ४७ पुरुष र २७ महिला गरी ७४ जना मात्र भर्ना भएको देखिन्छ । यसमध्ये ३१ जना सिकिस्त छन् । अन्य संक्रमित अस्पतालको इमेरजेन्सी लगायत विभिन्न वार्डमा समेत भर्ना भएका छन् । मेडिकल कलेजमा हाल भेन्टिलेटर, आईसियु र अक्सिजन सुबिधासहितको १ सय बेडको कोभिड वार्ड सञ्चालनमा छ ।  

तर अस्पतालमा पुगेका थुप्रै कोरोना संक्रमित र आफन्तले भर्ना हुन नपाएको गुनासो गरिरहेका छन् । संक्रमितहरु अस्पताल बाहिर मृत्युसँग लडिरहेका छन् । अस्पताल बाहिर संक्रमितको विजोग नै भएको छ । ‘अस्पताल बाहिर संक्रमितहरु छट्पटाएर मर्ने अवस्था आईसकेको छ, हामीले उनीहरुलाई केही गर्न सक्ने अवस्था छैन,’ अस्पतालमा कार्यरत एक चिकित्सकले भने  ।  

स्रोतका अनुसार मेडिकल कलेजले ३ सय बेड क्षमताको कोभिड वार्ड बिस्तार कार्य अगाडी बढेपनि त्यहाँ कोरोना संक्रमितलाई अत्यावश्यक पर्ने अक्सिजनको सुविधा छैन । जसले गर्दा अवस्था निकै भयावह बनेको हो । ‘मेडिकल कलेजले तीन सय बेडको कोभिड वार्ड बनाउन खोज्यो, तर यहाँको अक्सिजन प्लान्टले एक सयभन्दा बढी बेडलाई धान्न सकेन,’ ति चिकित्सकले भने ।  

मेडिकल कलेजका उप–निर्देशक डा. नितेशकुमार कनोडियाले ३ सय बेड क्षमताको कोभिड वार्ड अझै तयार नभएको बताएका छन् । उनले ३ सय बेड क्षमताको वार्ड तयार नहुँदै बाहिरबाट संक्रमितको चाप बढ्दा समस्या उत्पन्न भएको जनाए । ‘तीन सय बेडको कोभिड वार्ड अझै सुरु भएको छैन, बिस्तार गर्ने तयारी भइरहेको छ,’ उनले भने । अस्पतालमा आइपुगेका संक्रमितको सहज रुपमा उपचार ब्यवस्थापन गर्ने बारे छलफल चलिरहेको कनोडियाले बताए ।  

प्रकाशित: १८ वैशाख २०७८ ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App