८ वैशाख २०८१ शनिबार
समाज

रुपन्देहीमा आइतबार थपिए २०४ संक्रमित

स्कुल र हाट बजार बन्द, यातायातमा जोर-बिजोर लागु

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार थपिएका संक्रमित मध्ये  १२२ जना पुरुष र ८२ जना महिला छन्। ती मध्ये ९६ जना बुटवल उपमहानगरपालिकाका छन् ।  

तिलोत्तमा नगरपालिकाका ५०, सिद्धार्थनगर नगरपालिकाका ३०, सैनामैना नगरपालिकाका १०, ओमसतिया गाउँपालिकाका ५, गैडहवाका ४, मायादेवि र सम्मरीमाइ गाउँपालिकाका २/२ जना छन् । लुम्बिनी र देवदह नगरपालिका र रोहिणीका १/१ जना संक्रमित छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार २४६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

स्कुल र हाट बजार बन्द, यातायातमा जोर-बिजोर लागु

कोराेना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीमा विद्यालयहरु बन्द गरिएका छन् । यातायातमा जोरबिजोर प्रणाली लागु गरीने भएको छ । हाट बजारहरु पनि केही समयका लागि बन्द गरिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखहरु बीच आइतबार बसेको बैठकले कोरोनाको जोखिम बढेकाले जिल्लाका सबै स्थानीय तहमा स्कुल कलेजहरु बैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बैशाख महिना भर १६ वटै स्थानीय तहका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । केही विद्यालयहरुमा संचालन गरिएका परीक्षा समेत स्थगित गरीएको छ ।

बैठकले सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय पनि गरेको छ । बैशाख १४ गतेबाट लागु हुने गरी जोर गतेमा जोर नम्बरका र बिजोर गतेमा बिजोर नम्बरका सवारी साधन चलाउन पाइने छ । बैठकले सबै स्थानीय तहहरुले कोरोना संक्रमितको उपचारमा सहजता थप्न कम्तीमा एउटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन गर्नु पर्ने, हरेक पालिकाले कम्युनिटि आइसाेलेसनको क्षमता विस्तार गर्ने, होम आइोसाेलेसनका लागि पनि पहल र निगरानी गर्नु पर्ने लगायतका निर्णय गरेको छ ।

प्रकाशित: १२ वैशाख २०७८ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App