१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सर्वसाधारणले माघदेखि मात्र धरहरा प्रवेश गर्न पाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको शनिबार बिहान ११ बजे उद्घाटन गरेका छन्। २०७२ सालको भूकम्पले भत्किएको धरहरानजिकै बाहिरी आवरण उस्तै देखिनेगरी नयाँ धरहरा बनेपछि ब्युटिफिकेसनको काम पूरा नहुँदै उद्घाटन गरिएको हो।  

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहराको निर्माण कार्य सकिनु खुसीको विषय भएको बताए। ‘धरहराले इतिहास झल्काएको मात्रै छैन, आधुनिकता पनि टल्किएको छ,’ उनले भने, ‘सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा मलाई आइफल टावर चढेजस्तै अनुभव भयो, यो काठमाडौं र नेपालको परिचयका रूपमा विश्वमा चिनिनेछ।’

ओलीले २०७२ फागुन ४ गते ‘म बनाउँछु, मेरो धरहरा’ अभियान आफैंले सुरु गरेको बताउँदै त्यसअनुरूप नै धरहरा निर्माण कार्य सकिँदा खुसी लागेको बताए। सो अभियानअन्तर्गत २४ करोड रूपैयाँ जम्मा भएको थियो। यसबाहेक सरकारले बजेटको व्यवस्था गरी ३ अर्ब ४८ करोड लागतमा धरहरा तयार भएको हो। कार्यक्रममा बोल्दै ओलीले धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक/एकजना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रूपमा रोजगारी दिने घोषणा पनि गरेका छन्।  

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धरहरा बनेपछि उपत्यकाको रूप नै सफा स्वच्छ देखिएको बताए। उनले भने, ‘पहिलो चरणमा रानीपोखरी बनिसकेको, अब धरहरा पनि बन्यो, अब केही समयमा उपत्यकाको अर्को ऐतिहासिक धरोहर काष्ठमण्डपको पनि पुनर्निर्माण सकिन्छ।’ धरहरामा आधुनिक सामग्री प्रयोग गरेर नभत्किनेगरी बनाइएको छ। पुनर्निर्माण कार्यमा संलग्न इन्जिनियरहरूका अनुसार नयाँ धरहराले १० रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्नेछ।

प्राधिकरणका सचिव मणिराम गेलालले धरहराको नजिकै मुद्रा संग्र्रहालय, आकाशे पुल, पार्किङ, बगैंचालगायत संरचना निर्माणका लागि ५ अर्ब ७६ करोड रूपैयाँ लागत अनुमान गरिएकोमा ३ अर्ब ४८ करोडको लागतमा धरहराको काम भइसकेको र अन्य कार्य जारी रहने जानकारी दिए। उनका अनुसार बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने अनुमान गरिएको छ। त्यसपछि मात्रै सर्वसाधारणका लागि धरहरा खुला गरिनेछ। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण कार्य सुरु भएको थियो। प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्रबाट भने २२ तलाको छ। नयाँ धरहरा उपत्यकामा आउने पर्यटकका लागि यो नयाँ गन्तव्य हुनेछ। 

प्रकाशित: १२ वैशाख २०७८ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App