coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लाप्राकमा एकीकृत बस्तीका ५७३ घर हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको धार्चे गाउँपालिका–४ लाप्राकको एकीकृत बस्ती बिहीबार हस्तान्तरण गरिएको छ। २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको लाप्राकका स्थानीयका लागि एनआरएनएले ५ सय ७३ वटा घर निर्माण गरिदिएको हो।

त्यहाँ शौचालयसहित चारचार कोठा भएका दुईदुईतले घर निर्माण गरिएका छन्। बिहीबार स्थानीय डम्बरसिंह गुरुङलाई लालपुर्जा दिएर घर हस्तान्तरण सुरु गरिएको थियो। ‘अब हामीले घर पायौं, निकै खुसी छु,’ स्थानीय दामिनी गुरुङले भनिन्। उनी भूकम्पपछि पुरानै काठपातले बनाएको अस्थायी टहरामा गुजारा गर्दै आएकी थिइन्। लामो प्रतीक्षापछि भूकम्पप्रतिरोधी घर पाएपछि उनी निकै खुसी देखिन्थिन्। उनी भन्दै थिइन्, ‘अब छिट्टै नयाँ घरमा सर्छु।’

खेतीपातीका लागि बेंसी झर्नुपर्ने हुँदा उनको टहरा अहिलेको नयाँ बस्तीभन्दा टाढा छ। खेती लगाउँन जाँदा बेंसी र बस्न एकीकृत बस्तीको नयाँ घर उपयुक्त हुने उनले बताइन्। उनको जस्तै अधिकांश लाप्राकीका अब दुईवटा घर हुनेछन्। भूकम्पलगत्तै पुरानै बस्तीमा सबैले घरटहरा बनाएका छन्। नयाँ बस्ती बसाइएको गुप्सीपाखाबाट बेंसी आउजाउ गर्न दुई घन्टाजति लाग्छ।  

भूकम्पको केन्द्रबिन्दु बारपाकनजिकै रहेको लाप्राकका घर भूकम्पका कारण ध्वस्त भए। एकनासे ढुंगाले छाएको एकैखाले बस्ती लाप्राकका घर भत्किएपछि एनआरएनएले पुनर्निर्माण गर्ने जिम्मा लियो। २०७३ वैशाख १२ गते एनआरएनए, पुनर्निर्माण प्राधिकरण र स्थानीयबीच सम्झौता भए पनि कात्तिकदेखि सुरु भएको बस्ती निर्माण गर्न चार वर्षभन्दा बढी समय लाग्यो। एउटा घर निर्माणमा १० लाखभन्दा बढी खर्च लागेको एनआरएनएले जनाएको छ। एनआरएनएका अनुसार बस्ती निर्माणमा ७५ करोड ६६ लाख रूपैयाँ खर्च भइसकेको छ।  

स्थानीयले काठ आफैंले जोहो गरेर श्रमदानमा पनि एनआरएनलाई सघाएको वडाध्यक्ष राज गुरुङले बताए। एकीकृत बस्तीका २० भन्दा बढी घरमा स्थानीय सरिसकेका छन्। बाँकी घरमा पनि अब सर्ने तरखर भइरहेको वडाध्यक्ष गुरुङले बताए। ‘आवाससहित अन्य पूर्वाधार हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ,’ एनआरएनएका अध्यक्ष कुमार पन्तले भने। अहिले बनेका घर भूकम्पप्रतिरोधी रहेको उनले बताए। बढीमा दुई वर्षभित्र निर्माण सक्ने योजनासहित सुरु भएको एकीकृत बस्तीको पुनर्निर्माणमा दुर्गम ठाउँ, वर्षातमा काम बन्द, निर्माण सामग्री अभाव, कोरोना प्रभावका कारण ढिलाइ भएको अध्यक्ष पन्तले स्पष्ट पारे।  

ढिलै भए पनि भूकम्पप्रतिरोधी घर पाएको स्थानीय खुसी रहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। उनले भने, ‘त्यहाँ अझै धेरै पूर्वाधारको काम गर्न बाँकी छ, घरघरमा बिजुली, बस्तीभित्रको सडक, ढल निकास राम्रो भयो भने सबै नयाँ घरमा सर्छन्।’ घरधनीहरूको लालपुर्जा मालपोत कार्यालय गोरखामा बन्दै गरेकाले सबैले पुर्जा पाउन बाँकी रहेको उनको भनाइ थियो। १ सय ५० वटा मात्रै पुर्जा बनेको र अन्य बन्ने क्रममा रहेको उनले बताए। हरेक घरधुरीले तीन आना दुई पैसा जग्गा पाएका छन्।  

बस्ती निर्माणका क्रममा नेपाली सेना र स्वयंसेवकले पनि सघाएका थिए। बस्ती क्षेत्रमा ढल निकासको व्यवस्था, शौचालयको प्रबन्ध गर्ने काम बाँकी नै रहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। उनले पूर्वाधार बाँकी काम पूर्णताका लागि एनआरएनए र पुनर्निर्माण प्राधिकरणलाई अनुरोध गरे। बस्ती हस्तान्तरणका क्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुननिर्माण प्राधिकरणमार्फत बाँकी काममा सहयोग हुने र त्यसका लागि योजना बनिरहेको बताए।  

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, सांसद हरिराज अधिकारी र एनआरएनका अध्यक्ष पन्तलगायतको टोली बस्ती हस्तान्तरण कार्यक्रममा सहभागी हुन हेलिकोप्टरबाट लाप्राक पुगेका थिए। गाउँपालिका अध्यक्ष गुरुङलाई बस्तीको फोटो, घरको प्रतीकात्मक साँचो हस्तान्तरण गरिएको थियो। बस्तीमा बनेको घर साँघुरो भएको, गाउँको परिवेशमा कम उपयोगी रहेको, ढिला गरी निर्माण गरेको गुनासो एनआरएनसँग स्थानीयले गर्दै आएका छन्।

प्रकाशित: १० वैशाख २०७८ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App