८ वैशाख २०८१ शनिबार
समाज

बाँकेमा एकैदिन १ सय ६६ जना संक्रमित फेला

भेरी अस्पताल नेपालगन्जको कोभिड वार्ड । तस्बिर : नागरिक

कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिएको बाँकेमा शनिबार एकैदिन १ सय ६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा कुल २ सय ५५ जनाको स्वाब परीक्षण गर्दा बाँकेका १ सय १८ र जिल्ला बाहिरका ४८ जना नयाँ संक्रमित फेला परेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ। यो सँगै बाँकेमा अहिलेसम्म कुल पोजेटिभ हुनेको संख्या ५ हजार ३ सय १२ पुगेको छ। यसमध्ये ३ हजार ३ सय ५१ पुरुष र १ हजार ९ सय ६१ महिला रहेका छन्।  

केन्द्रका अनुसार बाँकेमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको छ। जिल्ला बाहिरका ब्यक्तिको मृत्यु हुनेको संख्या भने ९४ पुगेको छ। भेरी अस्पतालको आइसोलेसनमा ८७, मेडिकल कलेज कोहलपुरमा ८, होटल ह्वाईट हाउस मनिकापुरमा ३ र होम आइसोलेसनमा ४ सय ८५ जना रहेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असरले यहाँ मानवीय क्षति हुने क्रम बढेको छ। भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापा यस पटकको कोरोना संक्रमण पहिलेको भन्दा धेरै फरक खालको भएको बताउँछन्। ‘पहिले वृद्धवृद्धा र दिर्घरोगीलाई कोरोनाले भेटाएको थियो, यसपटक त वयस्क, निरोगी ब्यक्तिलाई नै कोरोना संक्रमण भइरहेको अवस्था छ,’ उनले नागरिकसँग भने। अहिले कोरोनाको असर निकै खतरनाक रहेको मेसु थापा बताउँछन्।  

कोरोना संक्रमण नियन्त्रणबाहिर भइरहँदा बजार, पार्कमा भीडभाड, सीमानाकामा आवत–जावतका साथै विभिन्न सभा तथा कार्यक्रम भइरहेका छन्। सर्वसाधारणको लापरबाहीका कारण कोरोना संक्रमणको दर बढेको चिकित्सक बताउँछन्। कोरोना संक्रमणको असर यहाँका विद्यालयमा तीव्र रुपले देखा परेको छ। नेपाल–भारत सीमानाका र बजारमा भीडभाड भइरहेको गुनासो बढेपछि स्थानीय प्रहरी, प्रशासनले पछिल्लो समयमा भने चेकजाँचमा कडाई गरेको छ। यद्यपी, सर्वसाधारणले अटेरी भने गरिरहेका छन्।  

भारतबाट फर्केका २५ जनामा कोरोना  

भारतबाट फर्केका २५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार भारतबाट फर्केका मध्ये २ सय १४ जनाको एन्टीजिन परीक्षण गर्दा २५ जनालाई संक्रमण देखिएको हो।  

स्वास्थ्य शाखा प्रमुख चन्दले शुक्रबार १४ र शनिबार ११ जनालाई पोजेटिभ देखिएको बताए। ‘भारतबाट फर्केका मध्ये जसलाई ज्वरो आएको छ, हेल्थडेस्कमा उसको एन्टीजेन परीक्षण गर्छौ,’ उनले भने ‘चेकजाँच गर्दा दुई दिनको फरकमा २५ जना संक्रमित फेला परिसकेका छन्।’ संक्रमण पुष्टि भएका केहीलाई आफ्नै जिल्लामा पठाइएको र केहीलाई होटल ह्वाईट हाउस मनिकापुरको आइसोलेसनमा पठाइएको चन्दले जानकारी दिए। भारतका विभिन्न ठाउँमा पुगेका नेपाली नागरिक विगत एक साता अघिदेखि घर फर्किरहेका छन्।

प्रकाशित: ४ वैशाख २०७८ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App