१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विष्णुमती नदी सरसफाइ अभियान

नयाँ वर्ष २०७८ को सुरुआतसँगै विष्णुमती नदी सरसफाइ अभियान सुरु गरिएको छ। संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म शोभा भगवती मन्दिरपरिसरबाट विष्णुमति नदी सरसफाइ गरी सो अभियान सुरु गरिएको हो।

विष्णुमतिवरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरिएको सांसद श्रेष्ठले बताए। हरेक महिनाको अन्तिम शनिबार बिहान ७ देखि ९ बजेसम्म सरसफाइ गरिने पनि उनले जानकारी दिए। खोला प्रदूषित हुँदा स्थानीय वातावरण प्रदूषित भई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमती सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए। ‘यो अभियान जीवनराम श्रेष्ठको मात्र नभई विष्णुमती सभ्यतासँग जोडिएका हरेक नागरिकको अभियान हो,’ उनले भने, ‘विष्णुमती खोला प्रदूषित भई धार्मिक एवं सांस्कृतिक कार्यमा असर पर्न गएको छ।’

अभियानमा सहभागी प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले स्थानीय, युवा समूह, नदी सरसफाइ अभियानकर्ता तथा नेपाली सेना, नेपाल प्रहरी सबैलाई समेटेर नदी सरसफाइ अभियान थाल्नु आफैंमा प्रशंसनीय काम भएको बताइन्। ‘सरसफाइ सबैका लागि अति आवश्यक हो, समाजलाई सफा राख्नुपर्छ,’ उनले भनिन्।  

विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक एवं पौराणिक विशेषता रहेको पाइन्छ।अभियानमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष एवं काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, कामपा–१५ वडासदस्य मैयाँलक्ष्मी महर्जन, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय संघसंस्था, वाग्मती नदी सरसफाइका अभियन्ता लीलामणी पोख्रेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रकाशित: २ वैशाख २०७८ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App