गत बुधबार बिहान टिमुरेकी ५ वर्षीय बालिका मनीषा उच्चाइमगर स्कुल जाने बेला हुन लागेको थियो। मनीषाको बुवा लोक बहादुर बारीमा धनियाँ टिप्न गएका थिए। आमा गीता प्रभु बैंकमा जागिरमा गइसकेकी थिइन।
छिनमै बाढी आएको देख्ने बित्तिकै लोकबहादुर छोरीलाई लिन आउँदै थिए। हेर्दा–हेर्दै बाढीले छोरी र घर बगायो। उनी भागेर बाँचे।
बैंकमै काम गर्दा–गर्दै आमा पनि भागेर बाँच्न सफल भइन्। आफ्नै आँखा अघि छोरी, घर र बजार सबै बगाएको देखेका लोकबहादुरलाई छोरी जीवित होलिन् भन्ने आशा भएन।
कतै बाढीले छोरीको शव किनारमा छोडेको छ कि भन्ने अपेक्षाले दुई दिनसम्म यताउता खोजे, उद्धार गरेको ठाउँमा हेर्न धुन्चे स्थिति उद्धार केन्द्रमा पुगे। दुई दिनसम्म यसरी नै खोजिरहे।
कतै नभेटेपछि मगर दम्पती सशस्त्र प्रहरीले संकलन गर्ने शवहरूमा आफ्नो छोरी खोज्न पुगे। त्यहाँका प्रहरीले यहाँ बच्चाको शव छैन भनेपछि छोरीको शरीर पनि नभेटिने आशा मारेर शुक्रबार तीन बजे काठमाडौंतिर हिँडे । त्यो साँझ उसै बित्यो।
शुक्रबार नै सशस्त्र प्रहरी बलले टिमुरे बगरमा बच्चा रोएको जस्तो आवाज सुनेपछि खोज्न गए। आवाज आएतिर खोज्दै जाँदा उनी माटोभित्र पुरिएकी थिइन्।
फलामको डन्डीजस्तो ठाउँमा उनको टाउको अड्केको थियो। उद्धार टोलीले बिस्तारै निकाले। निकाल्दा मनीषा रोइन्। तर थप कुरा गरिनन्। शनिबार बिहानै धुन्चे स्थिति बैंकमै काम गर्ने एक कर्मचारीले गीतालाई फोन गरिन्।
एउटा बच्चा उद्धार गरेर लिएको छ तिम्रो छोरी हो कि भनेर फोन गरे। यकिन गर्नको लागि फोटो मागिन। ती कर्मचारीले फोटो लिएर हेर्दा उद्धार भएकी बालिका मनीषा भएको यकिन गरिन्।
घटनापछि मनीषामाथि गम्भीर आघात परेको प्रहरीले बताए। थप उपचारको लागि काठमाडौं पठाउने निधो भएपछि मनीषालाई भेट्न टिचिङ जानु पर्ने जानकारी दिइन।
शनिबार उनलाई टिचिङ ल्याए। टिचिङमा मगर दम्पती पुगे। मनीषाले आमा–बुवालाई देखेर चिनिन्। तर सामान्य कुरा गर्न अहिले पनि सकेकी छैनन्।
उपचारमा संलग्न चिकित्सकले मनीषामा मानिसक आघात परेको र निमोनियाँ भएको जानकारी दिएको आमा गीताले नागरिकसँग भनिन्।
अहिले बुवा–आमा चिनेको तर खास कुरा कानी गर्न खोज्दिनन्। ‘भोक लाग्यो भन्छिन्, मलाई चिनिन’अरू भनेकी छैनन्’ उनले भनिन्।
मानसिक रूपमा आघात परेको हुनाले घटनाको बारेमा उनीसँग कुरा नगर्न चिकित्सकले सुझाएका छन्। बाढीले बगाउनु अघि छोरी स्वस्थ भएको र पाँच वर्षसम्म कुनै रोगले आक्रमण नगरेको हुनाले छोरी निको हुने कुरामा ढुक्क छिन। ‘पहिला छोरीलाई ज्वरो पनि आएको थिएन,’उनले भनिन्।
आँखै अघि बगेकी छोरी चार दिनपछि भेटिँदाको मगर दम्पतीमा खुसीको सीमा छैन। आमा गीता भन्छिन्, ‘ यतिखेर संसारै जिते जस्तो लागिरहेको छ’।
आफूले माया मारेको छोरी खोजेर उद्धार गर्ने सशस्त्र प्रहरीलाई धन्यवाद दिएकी छिन्। ‘ शवै–शव भएको नदी किनार, लेदो माटोभित्र मेरी छोरी खोज्नु सजिलो छैन, ज्यानको बाजी थापेर उद्धार गर्ने प्रहरी सरहरूलाई धन्यवाद’,उनले भनिन्।
प्रकाशित: १५ भाद्र २०८३ १४:०५ सोमबार





