२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

शीतल निवासबाट हात्तीका दाह्रा चोर्ने ५ जना पक्राउ

राष्ट्रपति कार्यालय शीतल निवासबाट जेनजी आन्दोलनको क्रममा चोरी भएका दुई थान हात्तीका दाह्रा प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखा धार्चे गाउँपालिका–४ का तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल छन्।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनमैजु र आसपासका क्षेत्रमा अपरेशन चलाएर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट हात्तीका दाह्राका चार टुक्रा तथा ट्रामाडोल औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। 

अनुसन्धानका क्रममा बरामद दाह्रा शीतल निवासको भित्तामा सजाएर राखिएका दाह्राहरू नै भएको खुलेको छ। ती दाह्रा गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा भएको तोडफोड र आगजनी हुदाँ चोरी भएको प्रहरीले जनाएको छ।  

पक्राउ परेका व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ। 

प्रकाशित: २० जेष्ठ २०८३ १६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App