१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकलाई विद्युत्का पोल तगारो

मुख्य बजार क्षेत्रदेखि प्रदेशसभा भवन जाने कालोपत्रे सडकबीचमै विद्युत्का पोल छन्। विद्युत् प्राधिकरणले समयमै पोल नहटाउँदा निर्माण कम्पनीले बीचैमा पोल राखेर सडक कालोपत्रे गर्‍यो। ठेक्काको म्याद गुज्रिन लाग्दा पनि प्राधिकरणले पोल नहटाएकाले पोलहरूकै बीचमा कालोपत्रे गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ।  

‘सडक कालोपत्रेको म्याद गुज्रिन लाग्यो, विद्युत् प्राधिकरणले पोल हटाएन,’ श्याम एन्ड शंकर कन्स्ट्रक्सनका सञ्चालक पदम खड्काले भने, ‘सडकबीचमै पोल राखेर कालोपत्रे गर्नुपर्ने बाध्यता आइलाग्यो।’ सडकबीचमा विद्युत्का पोल हुँदा दुर्घटनाको जोखिम बढेको छ।  

रत्नराजमार्ग हुँदै इन्जिनियरिङ कलेजसम्म जोड्ने ६ किलोमिटर सडक अघिल्लो आवको अन्त्यतिर कालोपत्रे भइसक्नुपर्ने थियो। २०७४ असार २८ गते काठमाडौंको महालक्ष्मी–किरातेश्वर–केएसके जेभीले सडक कालोपत्रेको ठेक्का लिए पनि अहिलेसम्म सम्पन्न गरेको छैन। अधिकतर पूर्वाधार निर्माणमा कामचोर ठेकेदारको लापरबाही देखिन्छ। तर, यो सडक भने विद्युत् कार्यालयका कारण कालोपत्रे सम्पन्न हुन सकेको छैन।  

रत्नराजमार्गदेखि इन्जिनियरिङ क्याम्पस जोड्ने यो सडकको चौडाइ ६ मिटर थियो। विस्तारका क्रममा १० मिटर पुर्‍याइएको छ। सडकबीच विद्युत्का पोल छन्। ‘समयमै विद्युत् प्राधिकरणले पोल नहटाउँदा थपिएको म्याद (२०७७ पुस) भित्र पनि कालोपत्रे गर्न सकिएन,’ सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्रप्रसाद भट्टले भने, ‘अरू ठाउँमा निर्माण कम्पनीका कारण ढिलाइ हुन्छ, यो सडककोे हकमा विद्युत् कार्यालयका कारण ढिलाइ भइरहेको छ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३६ वटा सडक फराकिलो र कालोपत्रे गर्ने काम भइरहेको छ। संघीय, प्रदेश र स्थानीय सरकारमार्फत ४० करोड आठ लाख रूपैयाँमा निर्माण भइरहेका यी सडकमा पर्ने विद्युत्का पोल नहटाइँदा समस्या उत्पन्न भएको छ।  

पूर्वाधार विकास कार्यालयका अनुसार अहिले फराकिलो र कालोपत्रेको काम भइरहेका सडकमा विद्युत्का डेढ सय बढी पोल सार्नुपर्ने छ। ‘पोलहरू सार्नका लागि एक करोड बढी रूपैयाँ विद्युत् कार्यालयको खातामा जम्मा गरिसकेका छौं,’ पूर्वाधार विकास कार्यालय सुर्खेतका निर्देशक वासुदेव पौड्यालले भने, ‘विद्युत् कार्यालयको गतिविधिले गर्दा सम्पन्न भइसक्नुपर्ने सडकहरू पनि अधुरै छन्।’

निर्माण कम्पनीले सडकभित्र पर्ने पोल हटाइदिन पटक–पटक कार्यालयलाई पत्र लेखेका छन्। ‘निर्माण कम्पनीले विद्युत्का पोल हटाइदिन आग्रह गर्दै पटक–पटक पत्र लेखेका छन्, हामीले पनि सम्बन्धित कार्यालयलाई पोल हटाउन दिनुपर्ने भुक्तानी पनि गरिसकेका छौं,’ उनले भने, ‘प्राधिकरणले ढिलो गर्दा त्यसको असर सडक निर्माणमा परिरहेको छ।’

वीरेन्द्रनगर–४ को पिपलचौतारादेखि पार्क जोड्ने सडक कालोपत्रेको काम सुरु भएको ३ वर्ष भयो। निर्माण कम्पनीले कालोपत्रेका लागि आवश्यक सामग्री पनि थुपारेको छ। सडकबीच पर्ने ५० वटा पोल नहटाइँदा कालोपत्रेको काम अघि बढेको छैन। स्थानीयले पटक–पटक विद्युत् प्राधिकरण कार्यालय पुगेर धर्ना दिएका छन्। ‘पोल नहटाइँदा अहिले आवत–जावतमा पनि समस्या उत्पन्न भएको छ,’ स्थानीय दीर्घप्रसाद चालिसेले भने, ‘एक साताभित्र पोल नसारिए आन्दोलन गर्ने निर्णय गरेका छौं।’

प्राधिकरणका सुर्खेतस्थित कार्यालयका प्रमुख टंकराज गिरीले जनशक्ति अभावमा समयमै पोल सार्ने काम गर्न नसकिएको बताए। ‘जनशक्ति थोरै छ, कार्यालयकै नियमित काम गर्न समस्या भइरहेका बेला थप कामको जिम्मेवारी आइलाग्यो,’ उनले भने, ‘प्राथमिकताका आधारमा पोलहरू सार्ने काम गरिरहेका छौं।’

प्रकाशित: ३१ चैत्र २०७७ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App