१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डाँडैभरि डढेलो !

डोटीमा ५० प्रतिशत जंगल डढेलोले सखाप

साँझपख डाँडैभरि देखिएको डढेलोको दृश्य । तस्बिरः पुष्पराज/नागरिक

खुला आकाशले कोशौ टाढा देखिने डाँडा अहिले धुवाँले ढाकिएका छन् । नजिकैका डाँडा प्रष्ट देखिँदैनन् । कारण हो डाँडैभरि डढेलो सल्कँदा आएको धुवाँले यस्तो देखिएको हो ।

उपत्यका रहेको दिपायल–पिपल्लाबाट बेलुकी पख वरपरका डाँडामा जता हेर्‍यो उतै डढेलो देखिने गरेको छ । ‘तिखाको जंगल, घेल्तडा माथिको डाँडालगायत वरपरका डाँडैडाँडामा डढेलोले वन सखाप पारेको छ,’ स्थानीय खडकविक्रम शाहीले भने,‘त्यही डढेलोबाट निस्केको धुवाँले अहिले डोटीको मौसम खराब छ ।’ घर बाहिर निस्कँदा आँखा पोल्ने तथा चिलाउने रोग समेत देखिएको छ । पछिल्ला दिनमा वरपरका डाँडामा आगलागी हुँदा निस्केको धुवाँले दिपायलको मौसम खराब देखिएको बताउँदै उनले भने,‘यसपालि डोटीको जंगलमा अत्याधिक डढेलो लागेको छ ।’  

जंगलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण स्थानीयले नै जानी जानी डढेलो लगाउने गरेको बताउँदै अर्का स्थानीय डबल साउँदले भने,‘जंगलमा आगो लगाउँदा पालुवा पलाउँछ र घाँस काट्न सजिलो हुन्छ भनेरै यहाँका किसानले डढेलो लगाउने गरेका छन् ।’ जनचेतनाको कमीका कारण बर्सेनि यहाँको जंगल डढेलोले सखाप भइरहेको उनले बताए । उनले भने,‘सम्बन्धित निकायले जनचेतना जगाउने कार्यक्रम ल्याउनुका साथै प्रत्येक सामुदायिक वनलाई डढेलो लाग्दा पाउने सहुलियतमा कटौती गर्ने हो भने त्यसले केही हदसम्म नियन्त्रण हुन्थ्यो ।’  

जम्मा क्षेत्रफलको ६८ प्रतिशत भूभाग डोटीमा जंगलै जंगल छ । त्यो जंगलको ५० प्रतिशत भूभाग अहिले डढेलोले सखाप भइसकेको डोटीका डिभिजन वन प्रमुख शम्भूप्रसाद तिवारी बताउँछन् । ‘अहिले डोटीको सबैतिरको जंगलमा डढेलो सल्केको छ,’ उनले भने,‘डढेलोकै कारण अहिले यहाँको जम्मा क्षेत्रफलको ५० प्रतिशत भूभाग सखाप भइसकेको छ ।’ डोटीमा डढेलो लाग्नुको प्राकृतिक कारण नभई भौतिक कारण रहेको उनी बताउँछन् । ‘यहाँ चट्याङले डढेलो सल्केको नभई आम उपभोक्ताले नै जानी जानी डढेलो सल्काएका छन्,’ उनले भने,‘आम उपभोक्ता जंगलमा आगो लगाउँदा त्यसले नयाँ पालुवा पलाउने र घाँस काट्न सजिलो हुने भन्ने गलत मानसिकताका कारण त्यसो गर्दै आएका छन् ।’ सल्लाघारीमा सल्लो पीरले मानिस हिँड्दा भिरमा लड्ने, गाई गोरु लड्ने भएकाले त्यस्तो ठाउँमा आगजनी गर्ने गरेको पनि उनी बताउँछन् । ‘सल्ली पीरमा चिप्लेर मानिसको मृत्यु हुने भयले पनि यहाँका आम उपभोक्ता वन जंगलमा डढेलो लगाउने गरेका छन्,’ उनले भने,‘त्यसलाई रोक्न हामीले जनचेतनामूलक सामग्री यहाँका एफएम रेडियोमार्फत् सार्वजनिक गरेका छौँ, तर पनि केही भएको छैन ।’      

जंगलमा सल्केको डढेलो निभाउन हर प्रयास गरे पनि डाँडा तथा भीरमा निभाउन नसकेको स्वीकार्दै डिभिजन वन प्रमुख तिवारीले भने,‘हामीसँग पर्याप्त दक्ष जनशक्ति छैन, डढेलो निभाउनका लागि पनि प्रहरीकै भर पर्नुपर्ने हुन्छ ।’ सदरमुकाम आसपासका जंगलमा आगजनी हुँदा निभाउन केही प्रयास गरे पनि दुर्गम गाउँ बस्ती र डाँडाकाँडामा सल्केको आगो नियन्त्रणमा आउन नसकेको उनले बताए । ‘अहिले पनि दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ७ र ८ को जंगलमा डढेलो सल्केको छ,’ उनले भने,‘त्यसलाई नियन्त्रणमा ल्याउन सकिएको छैन ।’ पहाडको डाँडामा आगजनी हुँदा त्यसलाई नियन्त्रणमा ल्याउन कठिनाइ पर्ने गरेको बताउँदै उनले भने,‘यहाँका डाँडामा लागेको आगजनी निभाउनका लागि दमकलको प्रयोग गर्न समेत बाटोघाटो छैन, हिँडेर जान त्यहाँ समस्या छ ।’ यसपालि अग्नि नियन्त्रणका लागि केही सामग्रीहरु ल्याएर प्रहरी चौकीमा बुझाइएको बताउँदै उनले भने,‘जंगलमा डढेलो लाग्दा प्रहरीकै सहयोगमा निभाउनु पर्छ, त्यसका लागि उनीहरुलाई अग्नि नियन्त्रक सामग्रीहरु ल्याएका हौँ ।’  

अहिलेको मौसम परिवर्तन पनि डढेलो लाग्दा निस्केको धुवाँले भएको बताउँदै उनले भने,‘यसका साथै गाउँ गाउँमा बनेका धुलौटे सडकबाट निस्केको धुलो र डढेलोको धुवाँले प्रदूषण पनि बढेको छ ।’

सामुदायिक वनले पनि चासो नदिँदा डढेलो नियन्त्रणमा समस्या आइपरेको बताउँदै उनले भने,‘सामुदायिक वन सुरुमा दर्ता गर्दा सबैले नियन्त्रणका प्रयास गरेका थिए, तर अहिले भने जनसहभागिता न्यून हुँदा पनि समस्या परेको छ ।’    

डढेलो लाग्न नदिन र लागिसकेपछि नियन्त्रण गर्न चाहिने पर्याप्त आवश्यक सुरक्षा सामग्री तथा तालिमप्राप्त दक्ष जनशक्तिको अभावले बर्सेनि डोटीका वन क्षेत्र मासिँदै गइरहेको प्रति उनले चिन्ता व्यक्त गरे । ‘डोटीमा जुन दरमा वन अतिक्रमण बढ्दो छ त्यही दरमा डढेलोले नव पालुवा मासिने क्रम पनि बढ्दै गइरहेको छ,’उनले भने,‘डढेलो नियन्त्रण हुन नसक्नु र चेतनास्तरमा कमीका कारण वन क्षेत्र बर्सेनि मासिँदै गएको हो ।’ आफूहरुसँग छुट्टै अग्नि नियन्त्रण दक्ष जनशक्ति नभएको बताउँदै उनले भने,‘डढेलो नियन्त्रणका लागि हामीसँग छुट्टै दक्ष जनशक्ति छैन, वनरक्षक, सामुदायिक वनका पदाधिकारी र सेना प्रहरीकै सहयोगमा हामीले डढेलो नियन्त्रणमा लिने प्रयास गर्दै आएका छौँ ।’ डढेलोका कारण बर्सेनि पुनरुत्पादन सखाप हुने गरेको बताउँदै उनले भने,‘जनचेतनामूलक कार्यक्रमसँगै समयमै डढेलो नियन्त्रण गर्न सके त्यसले पुनरुत्पादन जोगिन सक्थे ।’ 

बर्सेनि भइरहने डढेलो नियन्त्रणका लागि एक छुट्टै मोबाइल टोली बनाउन सके त्यसले डढेलोले सखापहुने जंगललाई जोगाउन सकिने उनको धारणा छ । ‘डढेलो नियन्त्रणका लागि चाहिने आवश्यक सामग्रीहरु पर्याप्त हुनु र डढेलोका लागि मात्रै छुट्टै मोबाइल टोली बनाउन सकिए जंगल जोगिन्थ्यो ।’ गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापढा काठले पनि डढेलो लाग्ने गरेको बताउँदै उनी भन्छन्,‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पार्दैछ ।’

प्रकाशित: २५ चैत्र २०७७ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App