१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कार र गर्भपतनले निम्त्याएको जटिलता

गुर्भाकोट नगरपालिकाकी १५ वर्षीया बलात्कृत पीडित बालिकाको कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै । तस्बिर : नगेन्द्र/नागरिक

गुर्भाकोट नगरपालिकाकी १५ वर्षीया बालिका भदौमा मामाघर बाघखोर गएकी थिइन् । गुर्भाकोट–२ दहका बेगम कामी बेलुकातिर पानी माग्दै आँगनमा आइपुगे । घरमा कोही थिएनन् । पानी खाने निहुँमा आएका बेगमले बालिकाको मुख थुनेर नजिकैको बाँसघारीमा पुर्‍याए र बलात्कार गरे । आफूमाथि भएको अन्याय उनले कसैलाई भन्न सकिनन् । पेट बढ्दै गयो । पुस २७ गते उनले आत्महत्याको प्रयास गरिन् । छिमेकी दीपाले देखेपछि उनको ज्यान बच्यो ।  

‘छोरीले आत्महत्या प्रयास गरेपछि मात्रै हामीले घटनाबारे जानकारी पायौं,’ आमा कमला गायनले भनिन्, ‘छोरीको पीडाले अहिलेसम्म राम्रोसँग सुत्न दिएको छैन ।’ घरकाले थाहा पाउँदासम्म बालिकाको पेटमा १४ हप्ताको गर्भ हुर्किरहेको थियो । बालिकाका आफन्तले घटनाबारे बेगमको परिवारसँग सम्पर्क गर्‍यो । दुबै परिवारको सहमतिमा पुस एक गते गर्भपतन गराइयो ।  

कलिलो उमेरमै १४ हप्ताको गर्भपतन गराउँदा बालिकाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । रक्तश्राव रोकिएको छैन । गर्भपतन गराएयता बालिका अस्पतालको बेडमै छिन् । ‘रक्तश्रावका कारण छोरी हिँडडुल गर्न पनि सक्दिँनन्,’ कमलाले भनिन्, ‘पीडकलाई कारबाहीका लागि उजुरी दिँदा पनि अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन ।’

बालिकाका आफन्त सुरुमा कानुनी प्रक्रिया भन्दा उपचारमा लाग्यो । पीडक परिवारले उपचारमा पनि सहयोग नगरेपछि घटनाबारे कमलाले माघ ७ गते इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिइन् । प्रहरीले बेगमकी आमालाई पक्राउ गरेर एक दिन हिरासतमा राख्यो । बलात्कार र गर्भपतनजस्तो जघन्य अपराधमा कारबाहीको सट्टा प्रहरीले घटना मिलापत्रमा टुङ्ग्याइयो । ‘प्रहरीमा जाहेरी दिँदा उल्टै मलाई ज्यान मार्ने धम्की आयो,’ उनले भनिन्, ‘प्रहरीले पनि सहयोग गरेन, मिलापत्रमै टुङ्ग्याइदियो ।’  

आत्महत्या प्रयास गर्नुअघि उनले ‘सुसाइट नोट’ लेखेकी थिइन् । पत्रमा बेगमले बलात्कार गरेको र गर्भ रहेको उल्लेख छ । ‘ममाथि भएको बलात्कार घटनाका बारेमा कसैलाई भन्न सकिँन, पेटमा बच्चा हुर्कँदै गयो,’ उनले लेखेको सुसाइट नोटमा भनिएको छ, ‘बाँचेर घर–परिवारको इज्जत जानुभन्दा मर्नु उचित ठानेर आत्महत्या गर्दैछु ।’ बालिकाकी आमाले छोरीले लेखेको त्यहीँ सुसाइट नोटसहित प्रहरीमा जाहेरी दिएकी थिइन् ।  

‘बलात्कार आरोपीलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले उनकी आमालाई पक्राउ गर्‍यो, छोरीको उपचार गराउने सहमतिमा छोड्यो,’ उनले भनिन्, ‘न्याय माग्दै धेरै ठाउँ धाएँ, कहीँ न्याय पाइन ।’  

कमलाको परिवारको आर्थिक अवस्था कमजोर छ । अहिलेसम्म छोरीको उपचारमा तीन लाख बढी खर्च भइसकेको छ । अझै कति समय छोरीलाई अस्पतालमा राख्नुपर्ने हो र कति खर्च लाग्ने हो थाहा छैन । ‘छोरीमाथि अन्याय गर्नेलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन,’ उनले भनिन्, ‘छोरी अस्पतालको बेडमा छिन्, पीडामाथि पीडा थपिइरहेको छ, अहिलेसम्म कहीँबाट न्याय पाइएको छैन ।’

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधव चौधरीले बलात्कार आरोपी फरार रहेको बताए । ‘जाहेरीका आधारमा आमालाई पक्राउ गरेका थियौं,’ उनले भने, ‘अदालतको आदेशपछि जिम्मा जमानीमा छोडेका छौं ।’ उनले बलात्कार आरोपी पक्राउ परेपछि अनुसन्धान प्रक्रिया अघि बढ्ने बताए । 

प्रकाशित: ७ चैत्र २०७७ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App