१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउनमा पूर्वाधारका काम

पालिका

विकास निर्माणको काम गर्ने समयमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गत चैतदेखि लकडाउन भयो । थुप्रै विकासका आयोजना अलपत्र परे । ज्याला मजदुरी गर्नेहरूको गरिखाने भाडो गुम्यो, रोजगारी गुमाए, व्यापार व्यवसाय ठप्प्प भए । कोरोनाले सबै क्षेत्र अस्त व्यस्त भयो । भारतलगायत जिल्ला बाहिर काम गर्न गएकाहरू पैदलै घर फर्कन बाध्य भए । केहीलाई स्थानीय तह आफैले यातयातको व्यवस्था गरेर आफ्नो ठाउँसम्म ल्याए । कोभिडका कारण अस्तव्यस्त बनेको बेला न्युन आय भएका परिवारलाई राहतको प्याकेज पनि वितरण गरियो ।

लामो समयसम्म भएको लकडाउनले आर्थिक गतिविधि ठप्प भएको बेला धादिङको नीलकण्ठ नगरपालिकाले भने विकास निर्माणको कामलाई गति दियो । रोजगारी गुमेका मजदुरलाई आर्थिक उपार्जनको माध्यम पनि बन्ने, नगरको विकास पनि हुने भएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक दूरीमा विकास निर्माणका काम सञ्चालन गरियो । सडक कालोपत्रे गर्ने, स्तरोन्नति गर्नेदेखि खानेपानी आयोजना निर्माणमा नगरपालिकाको ध्यान पुग्यो ।

नगरपालिकाले ३ वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । यस वर्ष कोभिड–१९ को संक्रमणका कारण जीवनरक्षा, जनस्वास्थ्य, शैक्षिक विकास तथा सुधार, सेवा क्षेत्र र उत्पादनमा आधारित अनुदान एवं उद्यमशीलतालाई विशेष प्राथमिकतामा राखेको बताइएको छ ।

विकास निर्माणका कार्य धमाधम संचालन गर्नुपर्ने समयमा लकडाउन हुँदा सुरुका समय घरभित्रै बस्नुपरेको थियो । केही साता काम रोकिए पनि त्यसपछिका दिनमा निरन्तर भौतिक दूरी अपनाएर काम सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले बताए । ‘कोभिडका कारण गरिएको लकडाउनको समयमा भौतिकदूरी अपनाएर विकास निर्माणका काम सञ्चालन गर्‍यौं,’ उपमेयर भण्डारीले भने, ‘धादिङबेसीका सडक कालोपत्रे गर्नेदेखि नगरको १४ वटै वडामा पुग्ने सडकको स्तरोन्नति, खानेपानी आयोजना सञ्चालनलगायत अन्य विकास निर्माणका कामलाई निरन्तर रूपमा सञ्चालन गर्‍यौं ।’  

लकडाउनमा नगरपालिकाका १४ वटै वडासम्म पुग्ने सडक स्तरोन्नति गर्नका लागि कटिङ गर्ने काम निरन्तर सञ्चालन भएको थिए । वडा नम्बर २ को पानधाने–काउले सडकको २ किलोमिटर स्तरोन्नति गरिएको छ । सोही वडाको वलिडाडा–सिम्ले–चिसापानी–जुरेथुम–केराबारी सडकको ५ किलोमिटर पनि ५० लाख लागतमा स्तरोन्नतिको काम सम्पन्न भएको बताइएको छ । वडा नम्बर १ मा ५० लाखको लागतमा आलडाँडा सडकको स्तरोन्नति, वडा नम्बर ४ को वडा कार्यालय जाने धादिङबेसी–पौवा सडकमा ३० लाखको लागतमा ग्राभेल गरिएको छ ।

त्यस्तै वडा नम्बर ५ को वडा कार्यालय आसपासका ३ किलोमिटर क्षेत्रमा सडकको स्तरोन्नति गरिएको छ । वडा नम्बर ६ मा ५० लाखको लागतमा ५ किलोमिटर सडकको स्तरोन्नति गरिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ७ मा ५० लाख लागतमा २ किलोमिटर सडक ग्राभेलको काम गरिएको छ । वडा नम्बर ९ मा ५० लाख लागतमा ज्यामिरे–झगरे सडक स्तरोन्नति, वडा नम्बर १० को कार्यालय जाने सडकमा ५० लाखको लागतमा २ किलोमिटर सडक ग्राभेल गरिएको उपमेयर भण्डारीले बताए ।

नीलकण्ठ नगरपालिकाले सबै वडामा खानेपानी आयोजनाका काम पनि सञ्चालन गरेको छ । वडा नम्बर १४ को धुवाँकोटमा ५० लाखको खानेपानी आयोजना सुरु गरेको बताइएको छ । उक्त आयोजनाबाट ३ सय घरधुरी लाभान्वित हुने उपमेयर भण्डारीले बताए । ‘खानेपानीको अभाव झेल्दै आएका ठाउँमा विभिन्न संघ संस्थाको साझेदारीमा खानेपानी आयोजना सञ्चालन गरिरहेका छौं,’ उपमेयर भण्डारीले भने, ‘नगरपालिकाले धुवाँकोटमा सबैभन्दा ठूलो खानोनी आयोजना सञ्चालन गरेको छ, भने प्रत्येक वडामा स–साना योजना सञ्चालन भइरहेका छन् ।’

संघीय सरकारको बजेटमा यस नगरपालिका वडा नम्बर ३ धादिङबेंसी बजार क्षेत्रको ५ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ । कालोपत्रे गरिएको सडकमा पैदल यात्रुका लागि जेब्राक्रस समेत बनाइएको छ । बजार क्षेत्रमा पर्ने सडकको दायाँ र वायाँ सडकपेटी निर्माण लकडाउनकै समयमा सम्पन्न भयो । विभिन्न टोलसुधार समितिलाई जिम्मा दिई निर्माण कार्यको थालनी गरिएको सडकपेटी लकडाउनका कारण रोकिएको थियो । अहिले निर्माण सम्पन्न भएर त्यसको प्रयोग समेत भइरहेको छ । सडक पेटी निर्माणले बजारको सौन्दर्यता बढाएको छ, भने आवातजावतमा समेत सहज भएको स्थानीयको भनाइ छ ।

बढ्दो सहरीकरणका कारण खुम्चिँदै गएको धादिङबेंसी बजार क्षेत्रमा निर्माण गरिएको सडकपेटीले स्थानीयहरूलाई सहज भएको छ । सडकको दायाँ वायाँ दुवै क्षेत्रमा निर्माण गरिएको सडकपेटीमा विद्यार्थीलाई अझ बढी सहज भएको नगरपालिका–३ का स्थानीय राजकुमार श्रेष्ठले बताए ।

स्थानीयलाई काममा प्रयोग गर्दा उनीहरूले रोजगारी पनि पाउने तथा मजदुरीमा आश्रीत परिवारलाई खाद्यान्न अभाव पनि नहुने भएकाले सबै वडामा स्थानीयको सहभागितामा विकास निर्माणका काम सञ्चालन गरिएको मेयर भीमप्रसाद ढुंगानाले बताए । पर्यटकिय क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि नगरपालिकाले वडा नम्बर २ र ९ मा भ्यु–टावर निर्माण गरिएको छ ।  

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण विकास निर्माणका काम, व्यापार व्यवसाय ठप्प थिए । करिब डेढ महिनापछि मन्त्रिपरिषद्को बैठकले निर्माण क्षेत्रमा सामाजिक दूरी कायम गरेर काम गर्न पाउने व्यवस्था गरेको थियो । त्यसपछि स्थानीय तहमा विकास निर्माणका कार्यहरू सञ्चालन हुन थालेको हो । लकडाउनको समयमा समेत स्वास्थ्य सुरक्षाका सम्पूर्ण विधि प्रयोग गरेर श्रमिकलाई काम लगाइएको बताउँदै मेयर ढुंगानाले विपद्सँग जुध्ने उपयुक्त उपायको खोजीमा सबै लाग्नुपर्ने बताए ।  

नगरपालिकाले तीन वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा राखेको छ । यस वर्ष कोभिड–१९ को संक्रमणका कारण जीवनरक्षा, जनस्वास्थ्य, शैक्षिक विकास तथा सुधार, सेवा क्षेत्र र उत्पादनमा आधारित अनुदान एवं उद्यामशीलतालाई विशेष प्राथमिकतामा राखेको मेयर ढुंगानाले बताए । आगामी आर्थिक वर्षभित्रमा नीलकण्ठ नगर तिर्खामुक्त हुने गरी काम गरिरहेको उनले जनाए ।

नगरपालिकाभित्र बन्ने चक्रपथ निर्माणको कार्य पनि लकडाउनको समयमा धमाधम भइरहेको उनले बताए । चक्रपथ निर्माणका लागि सडक कालोपत्रे गर्ने, चौडा गर्ने, गाभ्रेल गर्ने तथा स्तरोन्नतिको काम निरन्तर सञ्चालन गरिएको छ । लकडाउन पछि खानेपानीको आयोजना र उपभोक्ता समितिद्धारा गर्ने अन्य योजनाका काम निरन्तर भइरहेको बताइएको छ । आगामी दिनमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा काम गर्ने मेयर ढुंगानाले बताए ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App