१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'रानीमहललाई ‘हेरिटेज होटल’ बनाइनु हुँदैन'

तानसेन नगरपालिका–१३, पाल्पामा रहेको ऐतिहासिक दरबार रानीमहल । तस्बिर : मुक्ति/नागरिक

तानसेन नगरपालिका–१३, मा रहेको ऐतिहासिक दरबार रानीमहललाई ‘हेरिटेज’ होटल बनाउन नहुने स्थानीयले बताएका छन्। नेपाल पर्यटन बोर्डले रानीमहललाई हेरिटेज होटल बनाउने प्रस्ताव सरकारलार्ई गरेको थियो। ऐतिहासिक दरबारलाई अहिलेको अवस्थामा राख्न नहुने तर होटल पनि बनाउने नहुने यहाँ भित्रने पर्यटक तथा स्थानीय बताउँदै आएका छन्।  

सोमबार खोटाङ जिल्लाबाट रानीमहल अवलोकनका लागि आएका लोमस निरौलाको नवजोडी दिनभर रानीमहल क्षेत्रमा फोटो खिच्नमा व्यस्त थिए। रानीमहलको नाम सञ्चारमाध्यमबाट धेरै सुनेकै कारण आफूहरुको पहिलो गन्तव्य रानीमहल बनेको बताउँदै थिए। उनी भन्छन्, ‘पुरातात्विक महत्वको राष्ट्रको सम्पत्ति हो। यसलाई होटल बनाउनुभन्दा यसको जगेर्ना गर्ने र पहिलेको जस्तो संरचना थियो त्यस्तै संरचना राखेर हामी पछाडीका ५० औं पुस्ताले रानीमहल अवलोकन गरि प्रेम साटासाट गर्ने अवसर प्राप्त गरुन्।’ रानीमहललाई होटल होइन, रानीमहलकै रुपमा रहनुपर्छ, निरौलाले भने।  

वामिटक्साल गुल्मीबाट रानीमहलमा वनभोज खान पुगेकी शिला खराल भन्छिन्, ‘यति धेरै महत्व बोकेको, यति धेरै पुरानो, पुरातात्विक सम्पदालाई होटल बनाउनु यसको गलत प्रयोग गर्नु हो।’ यसको प्रवद्र्धन गर्नुपर्छ यसको संरक्षण गर्नुपर्छ यसलाई पर्यटकीय स्थल बनाउनुपर्छ, उनले भनिन्। नेपालकै ऐतिहासिक ठाउँ देश तथा विदेशमा नेपालको ताजमहल भनेर चिनिन्छ, यसको उचित संरक्षर, संवद्र्धन र प्रवद्र्धन हुन नसकेको कारण अझै पनि कताकता ओझेलमा परेको हो की भन्ने लाग्थ्यो, पर्वतका रामप्रसाद ढकालले भने। ‘पछिल्लो केही वर्षयता देशीविदेशी पर्यटकहरु आउने क्रम बढेको छ, शिक्षक समेत रहेका ढकालले भने, युवापुस्ताहरुलाई यसले आकर्षित गरेको छ। यसलाई तिनै तहको सरकारले विशेष पहल गरेर विशेष विकास गरिनुपर्छ न की होटलको रुपमा।’  

तिलोत्तमा नगरपालिका रुपन्देहीका बिष्णु प्रसाद ज्ञवालीले हजारौं पुर्खाहरुको त्याग र परिश्रमबाट रानीमहलले स्वरुप प्राप्त गरेको भन्दै होटल बनाउने कुराबाट आफू आश्चर्यमा परेको बताए। बुटवल रुपन्देहीका रामप्रसाद पंगेनीले रानीमहललाई नै होटल होइन यसको आसपासमा राम्रो होटलहरुको व्यवस्थापन गर्नुपर्ने बताए।  

नेपाल पर्यटन बोर्डले सात प्रदेशका सात वटा महत्वपूर्ण पर्यटकीय प्रोडक्टको पहिचान गरी पर्यटकीय गन्तव्य बनाउने विषयमा रानीमहललाई पनि अगाडी सारेपछि रानीमहल चर्चामा आएको हो। रानीमहलको उपयोग, संरक्षण र पर्यटन बिस्तारका लागि पर्यटन बोर्डले हेरिटेज होटल, म्यूजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने धारणा बोर्डले अगाडी सारेको छ। रानीमहललाई खण्डहरबाट जोगाउन व्यावसायिक उपयोगमा लैजानुपर्ने पर्यटन बोर्डले बताएको छ।  

इतिहासविद् निर्मल श्रेष्ठले रानीमहलको पहिचान नभइकन प्रस्ताव गर्ने योजनाले कुनै अर्थ नलाग्ने बताए। सम्पदाको महत्व र ऐतिहासिकतालाई आधार बनाएर मात्र रानीमहलको उपयोग, संरक्षण र विकासको योजना बनाउनुपर्ने श्रेष्ठको सुझाव छ। ‘रानीमहलमा म्यूजियम बनाउन सकिन्छ तर होटल बनाउन सकिन्न।’ जिल्लाका सरोकारवालाहरुले रानीमहललाई होटल बनाउन नहुने भन्दै ामाजिक सञ्जालमार्फत् विरोध गरेका छन्। कालीगण्डकीको उत्तरबाहिनी मोडमा गण्डकी तटमा अवस्थित रानीमहललाई नेपालमा प्रेमको प्रतिक रुपमा लिने गरिएको छ ।सरकारले होटलको प्रस्ताव अगाडी सारेर रानीमहलप्रति चिन्ता व्यक्त गरेकोमा पाल्पाका कृष्ण थापाले धन्यवाद व्यक्त गरे। तर रानीमहलमा होटलको नभै संरक्षणको आवश्यकता रहेको उनको तर्क छ। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरी सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालन गर्ने भनेर तानसेन नगरपालिकाले निर्णय गरिसकेको बताए।  

के हो रानीमहल ?  

१९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सम्झनामा रानिमहल निर्माण गरेका थिए। रानीमहल १९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालिनदिको चट्टान माथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाईएको थियो।  

प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ। तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ। प्रणय दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतिक्षा गर्नेहरुको भीड लाग्ने गर्दछ। धार्मिक र प्रर्यटकीय रुपले महत्वपूर्ण रानीमहलमा जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ।  

तानसेन नगरपालिका– १३ स्थित ऐतिहासिक रानीमहल (रानीघाट दरबार) संघीय सरकारले स्थानीय सरकार मातहत रहने गरी हस्तान्तरण गरेको थियो। साउन १० गते मन्त्रालयमा आयोजित समारोहबीच तत्कालिन पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री स्व. रबीन्द्र अधिकारीको उपस्थितिमा पूरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीलाई रानीमहल हस्तान्तरणको सहमति पत्र प्रदान गरेको थियो।

प्रकाशित: ११ फाल्गुन २०७७ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App